चुहिने छानोमा कठ्यांग्रिँदो जीवन
उदयराज अधिकारी,
दैलेख : नारायण नगरपालिका–६ गणेशचोकनजिकै बादी समुदायका ६५ घरपरिवार हिउँदे झरीमा कठ्यांग्रिएर बस्न बाध्य छन् । हिउँदे झरी र चुहिने छानोका कारण उनीहरू कठ्यांग्रिँदो जाडोमा परेका हुन् । २०६० सालदेखि यहाँ ६५ विपन्न घरपरिवार बस्दै आएका छन् । उतिबेला तत्कालीन द्वन्द्वको समस्या देखाउँदै नौमूले भैरीकालिका थुम लगायतका विभिन्न स्थानबाट आएका उनीहरू दैलेख बजारमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् । यस बस्तीमा बसोबास गर्दै आएका गोरबहादुर बादी भन्छन्, ‘गरिबलाई हेर्ने को नै छ र ? वर्षा हिलोमा बित्छ हिउँद कठ्यांग्रियर’ उनले थपे, ‘नगरपालिकाले बजारमा दाउरा वितरण गरेको भन्ने जानकारी पाएको छु तर हामी जस्ता गरीबलाई कसैले केही दिँदैन ।’
स्थानीय सरकारले पनि धनी र पहुँचवालालाई मात्र सुविधा दिने गरेको उनको गुनासो छ । झरीले गर्दा काम गर्न समस्या भएकाले बालबच्चालाई खुवाउने कुराको जोहो गर्न समस्या भएको सुनाए । झरी नपर्दा पनि बिहान बेलुकाको छाक गुर्जान अरूकोमा काम नगरी चुलोमा आगो नबस्ने बादी परिवारमा झरीले गर्दा थप समस्या भएको छ । चिसोबाट बच्न नारायण नगरपालिकाले जिल्ला सदरमुकामका चोकचोकमा मंगलवार र बुधवार दाउरा वितरण गरेको छ । बजारमा दाउरा वितरण गरे पनि ६५ घरधुरी रहेको नमुनाबस्तीका मानिस दाउरा नहुँदा भोकै बस्नुपरेको गुनासो गरेका छन् । नमुना बस्तीका बादी समुदाय नगर सरकारले दाउरा वितरण गर्दा आफूहरूलाई विभेद गरेको बताउँछन् । विमला बादीले गुनासो गर्दै भनिन्, ‘हामी जस्ता दुःखी गरीबलाई नगर सरकारले नहेरेर बजारका हुनेखानेलाई मात्र दाउरा वितरण गरेको छ ।’ चुहिने छानोमुनी बास भएकाले रातमा सुत्न पनि निकै समस्या हुने गरेको उनको गुनासो छ ।
यता, नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले टोल टोलका घरैपिच्छे नगरपालिकाले दाउराको व्यवस्था गर्न नसक्ने बताएका छन् । बजारका मुख्यचोकमा मात्र पालिकाले चिसोको समयमा आगो बाल्नलाई दाउराको व्यवस्था गरेको उनको भनाइ छ । भोट लिनेले चिन्दैनन् चुनावताका बस्तीमा आएर बिन्ती गर्दै भोट लिनेहरू अहिले सत्तामा पुगेका छन् । जितेकालाई अहिले नमस्कार गर्दासमेत नचिनेजस्तो गर्ने गरेको बस्तीका गोरबहादुर बादीले बताए । ‘चुनावका बेला जुन पार्टीका मान्छे आए पनि पूर्जा दिलाउने आशा देखाउछन् पूर्जा दिलाउने र घर बनाइदिने आशा देखाएका नेता सरकारमा पुगेपछि बेवास्ता गर्छन्’ उनले भने । बस्तीकै तारा बादी भन्छिन्, ‘चुनावका वेला बस्तीमा आएर बिन्ती गर्नेहरूले अहिले वास्ता गर्न छोडेका छन् ।’ ठूला नेताहरू चुनावका बेला बिन्ती गर्न आएको देखेर आशा पलाएको भए पनि कुनै आशा पूरा नगरेको उनले सुनाइन् ।
प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १०:०९
साझा बिसौनी ।