काठमाडौंमा बसेर कर्णाली विकासको योजना


सुर्खेत : कर्णाली प्रदेश योजना आयोगको बैठक गत बुधवारदेखि काठमाडौंमा बसिरहेको छ । बैठकमा कर्णालीको विकासका लागि बनाउन लागिएको पञ्चवर्षीय योजनामा छलफल हुँदैछ । तर अचम्म त के छ भने कर्णाली विकासको योजना बनाउन कर्णालीकै प्रदेश योजना आयोगका पदाधिकारीदेखि मन्त्रीहरूसम्म कर्णाली छोडेर संघीय राजधानी काठमाडौं गएका छन् । कर्णालीका योजना काठमाडौंमा बसेर बनाउने गरिएको यो पहिलो घटना भने होइन । प्रदेश सरकारले नै गठन गरेको विज्ञ समूहको पहिलो बैठक पनि काठमाडौंमै बसेको थियो । कतिसम्म भने पहिलो बैठकबाटै समूहको सम्पर्क कार्यालय नै काठमाडौंमा स्थापना गर्ने निर्णय गरिएको थियो । सरकारका मन्त्रीहरू मात्र होइन सरकारले गठन गरेको विभिन्न निकायका पदाधिकारी पनि काठमाडौं केन्द्रित भएको दृष्टान्त हुन् यी । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल यसलाई केन्द्रीकृत मानसिकताको उपज मान्छन् ।

ढकालले देश संघीयतामा गए पनि केन्द्रिकृत मानसिकता भने अझै नहटेको बताए । उनले कर्णालीका लागि बनाउन लागिएको योजनाका विषयमा कर्णाली प्रदेशमै छलफल गर्दा राम्रो हुने बताए । ‘छलफल सुर्खेतमा उपयुक्त थिएन भने कर्णालीका अरु जिल्लामा पनि जान सकिन्थ्यो’ ढकालले भने, ‘चाहे विज्ञ समूहको बैठक होस्, चाहे योजना आयोगको पञ्चवर्षीय मस्यौदामाथिको छलफल होस्, कर्णालीमा नै गर्नुपथ्र्यो ।’ कर्णालीमा विज्ञ छैनन् भन्ने मानसिकता सरकारमा बसेकाहरूको रहेको समेत उनले आरोप लगाए । ढकालले विज्ञहरूलाई कर्णाली प्रदेशमा ल्याउन सकेको खण्डमा यहाँको वस्तुस्थितिको विषयमा जानकारी हुने पनि बताए । ‘पाँच वर्षको लागि बन्दै गरेको योजनाको विषयमा कर्णालीका नागरिक सहभागी हुन पाउनुपर्छ’ उनले थपे ‘तर यहाँ त सरकारमा बसेकाहरू नै काठमाडौं केन्द्रित भइरहेका छन् ।’

संघीयताको कार्यान्वयनसँगै प्रदेश सरकार बनेपछि सोही सरकारले प्रदेश योजना आयोग गठन गरेको हो । तर आयोग तथा सरकारका पदाधिकारीहरू भने अहिले पनि काठमाडौंमै केन्द्रित छन् । आयोगका पदाधिकारीहरू काठमाडौंमा बसेर कर्णाली विकासका लागि पञ्चवर्षीय योजना बनाउँदै गर्दा कर्णालीमै रहेका विज्ञ समूहसहित योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीहरू छलफलमा सहभागी हुनै भनेर काठमाडौं पुगेका छन् । विज्ञ समूहको गठन भएदेखि नै काठमाडौं केन्द्रित हुँदै आएकोमा योजना आयोग समेत काठमाडौं केन्द्रित भएको भन्दै आलोचना हुन थालेको छ । यस विषयमा पटक–पटक कर्णालीका नागरिकहरूले असन्तुष्टि समेत जनाउँदै आएका थिए । नागरिकको अपेक्षालाई बेवास्ता गर्दै नेतृत्वमा बसेकाहरू काठमाडौं केन्द्रित भएका हुन् ।

मध्यपश्चिमाञ्चल विश्व–विद्यालयका उप–प्राध्यापक रेशम विष्टले समेत सैद्धान्तिक रूपमा देश संघीयतामा गए पनि नेतृत्वमा हुनेहरूको मानसिकता अझै केन्द्रिकृत रहेको बताए । जहाँ र जसको लागि नीति निर्माण तथा योजना बनाइदंै छ, सोही स्थानमा कार्यक्रम आयोजना गरिनुपर्ने तर्क विष्टले गरे । ‘समस्या एक ठाउँमा छ तर अर्को ठाउँमा त्यसको विषयमा छलफल हुन्छ’ उनले भने ‘संघीयताको मूल मर्म नै विकेन्द्रीकरण हो । तर यहाँ मनोविज्ञानमा केन्द्रिकृत मानसिकता छ ।’ धरातल नबुझिकन वास्तविक रूपमा समस्या समाधान हुन नसक्ने उनले बताए । विष्टका अनुसार केन्द्रिकृत राजनीतिक मानसिकताको उपजका कारण यस्तो अवस्था आएको हो । यसरी संघीयता कागजमा सफल भए पनि जनताको वास्तविक जीवनमा भने परिवर्तन नआउने उनले बताए ।

पञ्चवर्षीय योजनामा पूर्वाधारलाई प्राथमिकता

यसैबीच आयोगले बनाउन लागेको पञ्चवर्षीय योजनामा कर्णालीको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकासमा पनि सडक पहिलो प्राथमिकतामा परेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पूण्यप्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार उर्जा, सिँचाइ, सञ्चार जनताको घरदैलोसम्म पु¥याएमात्रै अन्य विकासका कार्य गर्न सहज हुने भएकोले पहिलो प्राथमिकतामा राखिएको हो । त्यस्तै सामाजिक विकासमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजना निर्माणमा लागेको उनले बताए । कर्णाली प्रदेशको हालको प्रतिव्यक्ति आय ६ सय ६ अमेरिकी डलर रहेकोमा आगमी पाँच वर्षभित्रमा ११ सय ४७ अमेरिकी डलर पु¥याउने लक्ष्य रहेको रेग्मीले जनाए ।

त्यस्तै पानी, खनिज, वन र जडिबुटीजन्य पदार्थहरूको उत्पादन गर्ने, कृषिजन्य उत्पादनलाई बढावा दिने गरी योजना बनाउन लागिएको छ । ‘कर्णालीमा पर्यटनको समेत अथाहा सम्भावना रहेको छ’ उपाध्यक्ष रेग्मीले भने, ‘कृषि, उद्योग र सेवालाई समेत उच्च प्राथमिकतामा राखी योजना बनेको छ ।’ कर्णालीको विकास अब नयाँ मोडलबाट गरिने समेत उनले बताए । गत २३ गतेदेखि काठमाडौंमा कर्णालीका विज्ञ समूहसँग आफूहरू छलफलमा बसेको र आगामी माघ ११ गते विकास परिषद्को बैठकमा पनि उक्त मस्यौदा छलफल गरिने उनले जानकारी दिए । कर्णाली प्रदेशको लागि निर्माण हुन लागेको पञ्चवर्षीय योजनाको विषयमा आज (शनिवार) समेत छलफल गरिदैछ ।