पाँच बेलिब्रिज बन्दै

डोल्पा : जाजरकोट–डोल्पा सडकमा पाँचवटा बेलिब्रिज पुल निर्माण हुने भएका छन् । २०७७ असोज मसान्तभित्र यस सडकखण्ड अन्तर्गत भेरी नदीमाथि पाँचवटा बेलिब्रिज पुल बन्ने भएका हुन् । हाल सडकमा पुल नभएकै कारण जाजरकोटबाट डोल्पा सदरमुकाम दुनै पुग्न दर्जनौं ठाउँमा गाडी फेरबदल गर्नुपर्ने बाध्यता छ ।

पहिलो चरणमा जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने करबगाड खोला, डोल्पाको खदाङस्थित हरियापानी, त्रिपुराकोटको छलगाड, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रूपगाड खोलामाथि बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेको सडक विभागले जनाएको छ । गत मंसिरमा जाजरकोट–डोल्पा सडक खण्डको विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलको प्रारम्भिक सर्वेक्षण सकिएपछि पाँच बेलिब्रिज पुल बन्ने पक्का भएको सडक विभागका इन्जिनियर रोशन केजुवाले बताए । उनका अनुसार बीएनबी कन्सल्टेन्सीले पुलको डिजाइन सम्पन्न गरेको छ । सडक विभागबाट बेलिब्रिज पुलको अन्तिम नक्साङ्कन गर्न डोल्पा पुगेका इन्जिनियर रोशन केजुवाल र बीएनबी कन्सल्टेन्सीका प्रतिनिधि शौरभ शाहसहितको टोलीले बेलिब्रिज पुलको अन्तिम डिजाइन सम्पन्न गरेका हुन् ।

बेलिब्रिज बनाउने कार्य २०७७ असोजभित्रमा सकिने छ । पुल बनेपछि भेरी नदीसहित अन्य खोलामा आउजाउ गर्न हाल ठाउँठाउँमा सवारी फेर्नुपर्ने बाधयता हट्ने अपेक्षा गरिएको छ । जाजरकोटको पासागाडदेखि डोल्पा सदरमुकाम दुनैसम्मको एक सय १८ किलोमिटर लामो सडकको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले २०७५ मंसिर ४ गते सम्पन्न गरेको थियो ।

प्रकाशित मितिः   २५ पुष २०७६, शुक्रबार ०८:४८