छाउपडीविरुद्धको अभियान

कोही गोठ भत्काएर घरमा, कोही त्रिपालको भरमा

सीता वली, 
सुर्खेत : यतिबेला सुर्खेतका स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सुरु भएको छ । प्रहरी–प्रशासन र स्थानीय जनप्रतिनिधिहरू सहभागी रहेको टोली गाउँ–गाउँ पुगेर छाउगोठ भत्काइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा छाउपडीविरुद्ध आक्रामक अभियान सुरु गरिएपछि कतिपय महिलाहरू छाउगोठ भत्काएर घरमा सरेका छन् भने कतिपय चाहिँ त्रिपालको भरमा बसिरहेको पाइएको छ ।

पश्चिम सुर्खेतमा छाउगोठ भत्काउने अभियान चलिरहँदा यसको सकारात्मक र नकारात्मक असर देखिएको हो । कतिपयले छाउप्रथा गलत भएको भन्दै घरमा बस्न थाले पनि कतिपय भने अझै ‘देउता रिसाउने डर’ले घरभित्र बस्न सकेका छैनन् । घरभित्र नबसेर घरनजिकै पाल टाँगेर तथा परालको छाप्रो बनाएर बस्ने गरेका छन् । अभियान चलिरहेको पञ्चपुरी नगरपालिकामै रहेका पत्रकार अमर कार्कीले गाउँमा छाउगोठ भत्काएपछि महिलाहरू पालमुनी र परालको छाप्रो हालेर बसेको बताए । उनले देउताको डरले महिलाहरू अझै पनि ढुक्कले घरभित्र पस्न नसकेको जनाए ।

बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा गत शुक्रवारदेखि छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । तर त्यहाँका नागरिकहरूका अनुसार गोठ भत्काउने अभियान पूर्ण रूपमा प्रभावकारी हुन भने सकेको छैन । प्रहरी–प्रशासनसहितको टोली पुगेर गोठ भत्काएपनि महिलाहरूमा रहेको डर र परिवारले नमान्दा महिनावारी तथा सुत्केरी भएका महिलाहरू अहिले पनि घरबाहिरै बसिरहेका छन् ।अभियानकै क्रममा पश्चिम सुर्खेतमा पुगेका जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले समेत आफूहरूले छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेकै बेलामा महिलाहरू पालमुनी बसेको खबर सुनेको बताए । ‘गाउँघरमा महिलाहरू गोठ भत्किएपछि पालमुनी वा परालको छाप्रोमा बसेको हल्ला सुन्नमा आएको छ’ शर्माले भने ‘हामीहरू अब रातीमा समेत निरीक्षण गर्न हिँड्ने तयारीमा छौं । यदि त्यसो भेटिएमा पुनः सम्झाई–बुझाई गरेर घरमै बस्ने व्यवस्था मिलाउने उनले बताए ।
बस्दै आएको छाउगोठ भत्किएपछि केही महिलाहरू पञ्चपुरी नगरपालिकामा रहेका विद्यालय र गाउँघर क्लिनिकमा बस्नको लागि पुगेका थिए । तर त्यहाँ बस्न नदिएपछि घरमै बस्न थालेको पञ्चपुरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हरिप्रसाद ढकालले बताए ।


‘अब घरमै बस्न थालें’

पञ्चपुरी नगरपालिका–४ बराईचे सुर्खेतकी २५ वर्षीया ईश्वरी वि.क. गत शुक्रवार महिनावारी भइन् । विगतमा महिनावारी हुँदाजस्तै उनी घरभन्दा पर बनाइएको छाउगोठमा बस्न गइन् । उनी छाउगोठमै बसिरहेकी थिइन् एक समूह उनी बसेको छाउगोठमै आइपुग्यो । ईश्वरीलाई बाहिर निकालेर गोठ भत्काइदियो । ‘म त्यही दिन छुई भएकी थिएँ’ उनले भनिन् ‘छोरीलाई चार दिन भएको थियो । हामी गोठमा बसिरहेका थियौं, जनप्रतिनिधिहरू आएर बस्ने ठाँउ भत्काइदिनु भयो ।’

छाउगोठ भत्कियो ईश्वरी घरमा सरिन् । यो उनको जीवनकै पहिलो घटना हो, महिनावारी भएको समयमा घरभित्र बसेको । महिनावारी हुन सुरु भएदेखि नै विक छाउगोठमा बस्दै आएकी थिइन् । हजुरआमा, आमा, दिदी र भाउजुहरूले जसरी महिनावारी हुँदाको समय छाउगोठमै बिताउँथे उनले पनि त्यसै गरिन् । ‘यस्तोबेला घरभित्र बस्नु हुँदैन, देउता रिसाउँछन् भन्थे’ ईश्वरी भन्छिन्, ‘अनिष्ट हुन्छ भन्ने डरले हामी सधैं घरभन्दा पर रहेको छाउगोठमा बस्दै आएका थियौं ।’

महिनावारी हुँदा मात्र होइन सुत्केरी भएको बेलामा पनि छाउगोठमै बस्नुपथ्र्यो । तर अब भने उनी घरभित्रै बस्न थालेकी छिन् । गत शुक्रवार जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्व तथा पञ्चपुरी नगरपालिकाको समन्वयमा गएको टोलीले उनी बस्ने छाउगोठ भत्काइदिएको हो । अहिले घरकै एउटा कोठामा बस्दै आएको ईश्वरीले बताइन् । घरभित्रै बस्न पाउँदा उनी खुशी भएकी छिन् । उनका श्रीमान् गगन वि.क. कामको शिलशिलामा भारतमा छन् । तर उनले पनि फोनबाट घरमै बस्न भनेको उनले जानकारी दिइन् । ‘छाउमा बस्दा आईमाई मान्छे डर त धेरै लाग्थ्यो’ उनले थपिन् ‘तर अब घरमा बस्न थालेकी छु ।’

यसैबीच छाउगोठ छोडेर घरमा बस्न थालेकी ईश्वरीलाई पञ्चपुरी नगरपालिका वडा नं. ४ को कार्यालयले सम्मान समेत गरेको छ । बिहीवार उनलाई कार्यालयले सम्मान गरेको हो । वडा अध्यक्ष प्रेमबहादुर शाहीले ईश्वरी जस्तै वडाका अन्य महिलाहरूलाई समेत छाउगोठ छोडेर घरमा बस्न प्रेरित गर्नका लागि उनलाई सम्मान गरिएको बताए । अहिले नै छाउप्रथा पूर्णरूपमा हट्न नसके पनि घरमा बस्ने वातावरण सिर्जना गर्न सके महिला र बालबालिकाको सुरक्षा बढ्ने उनले बताए ।

 


शिक्षितबाटै सुरुवात गरौं

अहिले जिल्ला प्रशासन कार्यालयको अगुवाईमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ । यो अभियानले केही हदसम्म भए पनि छाउपडी प्रथा निर्मूल गर्न सघाउँछ । तर के यत्ति नै पर्याप्त हुन्छ ? यतातर्फ पनि सोच्नुपर्ने देख्छु । सबैभन्दा पहिला कम्तीमा पनि अभियान किन सञ्चालन हुँदैछ ? राज्यको नीति के हो ? महिनावारीका प्रक्रिया, छाउगोठ बस्दाको जोखिमको विषयमा नागरिकलाई प्रष्टसँग जानकारी दिनु जरुरी छ । जबसम्म नागरिकमा चेतनाको विकास हुँदैन तबसम्म यस्ता कुप्रथाहरू अन्त्य हुन सक्दैन ।

अभियान नै सञ्चालन गर्दा पनि त्यसको प्रभावकारितामा ध्यान पु¥याउनुपर्दछ । जस्तो कि उक्त स्थानका जनप्रतिनिधि, नागरिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, निजामती कर्मचारी लगायत पढेलेखेका शिक्षितहरूकै घरबाट यसको सुरुवात गर्दा अझै राम्रो हुन्छ । त्यसो गर्दा अरुलाई पनि यो प्रथा गलत रहेछ भन्ने सिकाइ हुन्छ ।
मैले सुनेकी छु अहिले छाउगोठ भत्काएपछि सुर्खेतका केही स्थानमा महिलाहरू झरी पर्दा समेत पाल टाँगेर, परालको छाप्रो हालेर वा सार्वजनिक भवनमा बसेका छन् रे । सदियौँदेखि देउताको डर मनमा बोकेर बसेका नागरिकहरूको एकैचोटी कहाँ घरभित्र बस्ने आँट आउँछ ? यहाँ बाहिर अभियानमा सहभागी हुने तर आफ्नो घरमा भने छाउप्रथा अपनाउने प्रवृत्ति रहेको छ । त्यसलाई समेत निगरानीमा राखी अभियान सुरु गर्नुपर्दछ ।

अभियान उग्ररूपमा अगाडि बढाएर मात्रै परिवर्तन आउँदैन । छाउगोठ भत्काउने नाममा बाख्राको खोर भत्काउने जस्ता क्रियाकलाप समेत भएका छन् भन्ने सुन्नमा आएको छ । यो भन्दा पहिले पनि छाउमुक्त गा.वि.स. घोषणा भएका केही स्थानहरूमा पनि अहिले छाउप्रथा अपनाएको देखिन्छ । यसरी हेर्दा अभियानमा त्रासको कारण गोठहरू भत्काउने र फेरि पहिले जस्तै गरी बाहिरै बसेको हामीहरूले देखेकै छौं । यही अवस्था हुने हो भने अहिले जति आक्रामक रूपमा अभियान चलाए पनि त्यसको अर्थ रहँदैन ।

छाउगोठ भत्काउने अभियान सँगसँगै चेतनामूलक कार्यक्रम, सामाजिक सुरक्षा कटौती, कर्मचारीहरूको बढुवामा रोक, पेन्सनमा रोक, स्वास्थ्य, शिक्षा लगायतका सेवाबाट वञ्चित गर्ने गरी नीति बनाइ अगाडि बढ्नु जरुरी छ । समाजमा अनेकखालका कुरिती र संस्कार छन् । जसले समाजमा अशान्ति र असुरक्षा बढाएका छन् । त्यसैले सामाजिक सुरक्षाको लागि संस्कार परिवर्तन गर्नु जरुरी देख्छु । प्रशासनले नै नेतृत्व गरी अगाडि बढेको यो अभियानलाई मैले नराम्रो भन्न खोजेको होइन । तर बुझेर पनि बुझ पचाएका शिक्षित नागरिककै घरदैलोबाट अभियान सुरु गर्दा अभियान प्रभावकारी हुन्छ । जो घरबाट निस्किएकै छैन, शिक्षाबाट वञ्चित छ उसको घरमा गइ संरचना भत्काउनु भन्दा शिक्षित र अगुवाकै घरबाट यसको सुरुवात गर्न जरुरी छ । आज प्रशासनको नेतृत्वमा दुई÷चार दिन उग्र रूपले अभियान सञ्चालन गरी छाउगोठ त भत्किएलान् तर भोलि मानसिक रूपमा नै छाउगोठ भत्किएनन् भने के हुन्छ ? नागरिकले सधैं छाउगोठ निर्माण गर्ने अनि प्रशासनले भत्काउँदै जाने त हुँदैन होला ! अझै स्थानीयलाई नै अभियानको जिम्मा दिनु उत्तम हुन्छ । बरु निगरानीमा प्रशासन बस्दा प्रभावकारी हुन्छ । त्यसैले दिगो रूपमा सोचेर अगाडि बढ्नुपर्ने मैले जरुरी देखेकी छु । गाउँघरको मात्रै के कुरा यहाँ सहरका कोठा कोठामा छाउप्रथा छ । यसलाई कसरी निर्मूल पार्ने ? यो विषयमा पनि गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।

(मध्यपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी र सामाजिकशास्त्र संकायका उप–प्राध्यापक पौडेलसँग हाम्रा सहकर्मी सीता वलीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मितिः   २५ पुष २०७६, शुक्रबार ०९:०४