मासु पसल मापदण्ड विपरित

सुर्खेत : वीरेन्द्रनगरका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनमा बिहीवार खोर्केलाइन, समावेशीचोक जुम्लारोड, गण्डकीलाइन र हटिया क्षेत्रमा सञ्चालित अधिकांश मासु पसल नियम विपरित सञ्चालनमा रहेको पाइएको हो ।

अधिकांश मासु पसल दर्ताविना नै सञ्चालनमा रहेको, दर्ता भएकाहरू पनि नवीकरण नगरेको, फोहोर र दुर्गन्धित रहेको, ढक तराजु व्यवस्थित नगरेको, कुहिएको मासु बिक्रीमा राखेको, मूल्यसूची नराखेको पाइएको वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । उनले अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएकाले केहीलाई तीन भित्र व्यावसायिक प्रमाण–पत्रसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जनाए ।

अनुगमन टोलीमा वीरेन्द्रनगर नगरपालिकाका योजना तथा वातावरण शाखाका वरिष्ठ अधिकृत पौडेलसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख भेषबहादुर थापा, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा यामबहादुर अधिकारी, नगर पशु विकास अधिकृत यज्ञ पाण्डे, नगर निरीक्षक टंक आचार्य, नगर प्रहरी इञ्चार्ज मिनबहादुर विष्ट, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि जनकबहादुर थापा तथा राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २५ पुष २०७६, शुक्रबार ०८:४७