सडकैभरी खाल्डा : माटोले पुरेर झारा टार्ने प्रयास

1बिसौनी संवाददाता सुर्खेत, २० साउन । ६ महिनाअघि वीरेन्द्रनगर–१० खजुरास्थित कर्मचारी सञ्चयकोष नजिक मोटरसाइकल दुर्घटना भयो । उक्त दुर्घटनामा परी मालारानीका २६ वर्षीय पवन खत्री गम्भीर घाइते
भए । उनको हात भाँच्चिनुका साथै टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि लखनऊ पुग्नुप¥यो । पवनको मोटरसाइकल दुर्घटनामा पर्नुको कारण थियो, सडकमा रहेको खाल्डो । बीच सडकमै रहेको खाल्डोमा परेर उनको मोटरसाइकलले नियन्त्रण गुमायो र सडकमा पछारिन पुगे ।
सुर्खेत उपत्यकाभित्रका सडक वर्षौंदेखि यस्तै जीर्ण अवस्थामा रहँदै आएका छन् जसले गर्दा वर्षेनी ठूला–साना दुर्घटना निम्तिने गर्दछन् । अध्ययनका लागि वीरेन्द्रनगरमा बस्दै आएका मालारानीका पवन पनि त्यसैको शिकार बने । ‘विपरित दिशाबाट ठूलो गाडी आइरहेको थियो, त्यसलाई तर्काउन खोजें तर त्यहाँ खाल्डो रहेछ बाइक पल्टिहाल्यो’ उनले ६ महिनाअघिको घटना सम्झिए । सडकमा परेका खाल्डाले मोटरसाइकल र साइकल यात्रुहरूलाई जोखिममा पारेको उनी बताउँछन् । ‘ठूला गाडीहरूले साइड नै छोड्दैनन्, मोटरसाइकल र साइकलले ठूला गाडी तर्काउन खोज्दा खाल्डामा परेर दुर्घटना हुने गरेको छ’ खत्रीले भने, ‘अस्ती मात्रै मेरो एक जना साथी पनि खाल्डोकै कारण बाइक दुर्घटनामा परेर घाइत भयो ।’
एकातर्फ साँघुरो सडक त्यसमाथि सडकैभरीका खाल्डाले दुर्घटनाको जोखिम बढाएको छ । सुर्खेतदेखि कोहलपुर जोड्ने रत्न राजमार्ग होस् या सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग । जहाँ पाँच सय मिटरको दूरीमा मात्र हेर्ने हो भने दर्जनभन्दा बढी खाल्डा भेटिन्छन्, सडक किनाराका सानातिना खाल्डा छोड्ने हो भने पनि । अझ लाजमर्दो कुरा त के छ भने राजमार्गको नगरपालिकाभित्रै पर्ने सडक खण्डको र त्यसमा पनि बजार क्षेत्रभित्रको अवस्था अझ बढी जीर्ण र असुरक्षित छ । सडकको दायाँबायाँ दुवै किनारबाट कालोपत्रे भत्किएको छ भने सडकभरी खाल्डै खाल्डा परेका छन् । वर्षायाम भएकाले हिजोआज सडकमा खाल्डामा पानी भरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाभित्रका अन्य साना सडकको अवस्था राजमार्गको भन्दा पनि कहाली लाग्दो छ । पुराना सडकको समयमै मर्मतसुधार नगर्दा जीर्ण बनेका छन् भने हालै कालोपत्रे गरिएको सडकमा गुणस्तरीय काम नभएको सहजै देख्न सकिन्छ । सडकको मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयहरूको आरोप छ । सडकको जीर्ण अवस्थाले पनि यसै भन्छ । ‘विकासका लागि जिल्लामा विनियोजन गरिएको बजेट वर्षेनी खर्च हुन नसकेको फिर्ता हुने गरेको छ तर जीर्ण अवस्थामा पुगेका सडक मर्मतमा ध्यान दिइएको छैन’ खत्रीले गुनासो पोखे । उनले सडकका खाल्डा पुर्ने र भत्किएको कालोपत्रे मर्मत मात्रै गर्ने हो भने पनि दुर्घटना न्यूनीकरण हुने बताए । ‘सुर्खेत क्याम्पस शिक्षाको पुरानो भवन नजिकै बीच सडकमा परेको खाल्डा पोखरी जस्तै छ’ खत्री भन्छन्, ‘उक्त खाल्डो परेको पनि दुई वर्ष पुगिसक्यो होला तर खाल्डो पुर्नेतर्फ सम्बन्धित निकायको ध्यान भने पुग्ने सकेको छैन ।’
वीरेन्द्रनगरका प्रत्येक सडकमा यस्तै ठूला–साना खाल्डाहरू अनेकौं भेटिन्छन् । तर यस्ता खाल्डा पर्नुेतर्फ न नगरपालिकाको ध्यान पुगेको छ न सडक डिभिजन कार्यालयको नै । सडकभरी खाल्डा–खाल्डा परेर दुर्घटना निम्त्याएको स्थानीयहरूको गुनासो छ । बेलामौकामा सडकमा खाल्डामा माटो
हालेर पुर्ने काम भने नभएको होइन । तर पीच सडकका खाल्डा माटोले पुर्दा केही दिनमै पुरानै अवस्थामा आइसकेको हुन्छ । राजमार्ग अन्तर्गत वीरेन्द्रनगर बजार क्षेत्रमा पर्ने सकडका खाल्डा पनि अहिले यसैगरी पुर्ने प्रयास गरिएको छ । तर वर्षाको समय भएकाले केही दिनमै उक्त खाल्डा जस्ताको त्यस्तै हुने अवस्था छ ।

प्रकाशित मितिः   २१ श्रावण २०७३, शुक्रबार ०६:३७