ओली सरकारको बहिर्गमन र देशको भविष्य

            दिपक गिरी ‘कर्महारा’

वास्तवमा केपी शर्मा ओलीको राजीनामा पश्चात् मुलुकको राजनीतिले नयाँ बाटो समातेको छ । ओलीको बहिर्गमनपछि अब सम्पूर्ण नेपाली नागरिकहरूलाई स्पष्ट थाहा हुने बेला आयो कि जसले नेपालको हित चाहन्छ जो नेपालको सर्वोपरी विकास चाहन्छ, र जो नेपाललाई स्वच्छ नेपाल र सुन्दर नेपालको उपाधि भिराउन चाहन्छ ऊ नै षड्यन्त्रकारीको शिकार हुन्छ र देश अनिर्णयको बन्दी हुन पुग्छ ।
निशन्देह केपी शर्मा ओली सत्ता मुक्त हुनुमा देश र जनताहरूमा निराश छाएको अवस्था पक्कै हो । एकातिर ५ वर्ष साशनकालसम्म कुनै प्रधानमैत्रीले निरन्तरता नपाउनु नै दुभाग्र्य छ भने अर्काेतिर एउटा सक्षम सवल र दूरदर्शी व्यक्ति पनि सत्ताच्यूत हुन पुग्नु अभिषापपूर्ण हो । इतिहास दर्शायअनुसार यो सतिले सरापेको देश हो रे, यहाँ राम्रो काम गर्ने र देशको भलो चाहनेको कहिल्यै भलो हुँदैन भन्ने गरेका किम्बदन्ती पनि सुनिने गरेको थियो । त्यतिबेला मलाई यो कथन अन्धविश्वासमा आधारित झुट आडम्बर मात्र लाग्ने गदथ्यो । किनकी एउटा देश प्रेमी र राष्ट्रवादी व्यक्तिका लागि मातृभूमि भन्दा प्यारो चिज कुनै पनि हुन सक्दैन । यस्ता आरोप प्रत्यारोप त केबल अड्कलबाजी मात्र हुन् भन्ने मलाई लाग्थ्यो । तर, केपी ओलीको राजनीतिमा प्रश्चात् यी कुराहरू साँच्चै नै हुन् कि भन्ने विश्वास लाग्न थालिरहेको छ ।
मेरो मनमा विश्वासको अङ्कुरण जाग्न थालिरहेको भए पनि म विश्वास गर्ने पक्षमा छैन । किनकी धेरै समय पहिलेदेखि नै देशको सुक्ष्म वस्तुस्थिति नियालीरहेको छु । मलाई राम्ररी थाहा छ, नेपालको वर्तमान राजनीति केबल वैदेशिक इसारामा र सत्ता स्वार्थमा केन्द्रित छ जसले गर्दा नै नेपालको सम्पूर्ण राजनीति अर्थतन्त्र धरापमा परेको छ भन्ने कुरा मलाई राम्ररी थाहा छ । तसर्थ केपी ओलीको राजनीति पश्चात् बन्ने सरकार निशन्देह कन्पुतली र निकम्मा बन्ने निश्चित छ ।
वास्तवमै म एमाले भन्दा फरक मत राख्ने भए पनि अथवा राप्रपा नेपाल समर्थक भइ पनि म केपी ओली सरकारप्रति सकारात्मक छु । किनकी म आफूलाई पार्टीगत भागवण्डामा समाहित गर्ने नभएर सम्पूर्ण रूपले नेपाल नेपालीको हित होस् भन्नेमा प्रतिबद्ध छु । साँच्चै भन्ने हो भने कुनै पनि नेपाली नागरिक यदि कोही राष्ट्रवादी छ वा देशप्रेमी छ भने ऊ निश्चय नै पार्टीगत भागवण्डामा आफूलाई समाहित गर्दैन । पार्टीलाई ऊ केबल आस्थाको रूपमा लिन्छ । उसको मूल उद्देश्य भनेको त नेपाल र नेपालीको हित नै हो । तसर्थ, केपी शर्मा ओलीको सरकारले पनि यस्तै खाले विभिन्न राष्ट्रहितका कार्यक्रमहरू ल्याएको भए पनि राज्यभित्र रहेका अराजक तत्व प्रतिक्रियावादी शक्ति तथा अराजक गतिविधितर्फ उन्मुख शक्तिहरूका कारण यी विभिन्न राष्ट्रहितका कार्य योजनाहरू समय नपुग्दै तुहिनु निश्चिय नै हामी सम्पूर्ण देशवासीका अभिषाप बन्नु पुग्नु निकै दुःखद् छ ।
समग्र राष्ट्रको वर्तमान राजनीतिको मुख्य कमजोरी भन्नु नै पार्टीगत भागवण्डामा आफूलाई समाहित गर्नु रहेको छ । परिपक्क प्रक्रियाबाट समाहित गर्नु राष्ट्रलाई हित गर्नु रहेको छ । परिपक्क प्रक्रियाबाट समाहित गर्नु राष्ट्रलाई हित गर्नु हो भने अपरिपक्क प्रक्रियाबाट समाहित गर्नु राष्ट्रलाई नै घात गर्नु हो । परिपक्क अवस्था भन्नाले म पूर्णरूपमा नेपाली हुँ र सम्पूर्ण रूपले नेपाल मेरो हो भन्ने विकसित मानसिकता हो भने अपरिपक्क अवस्था भन्नाले आफू नेपाली भएको र नेपाल आफ्नो भएकोमा हरेक कुराबाट वितृष्ण जाग्नुको अवस्था हो । तसर्थ विभिन्न खाले राष्ट्रहितका कार्यक्रम प्रस्तुत गरेको ओली सरकार ढल्नु अथवा उसलाई ढाल्ने प्रयत्न गर्नु भन्नु नै सम्पूर्ण राष्ट्रलाई नै अहित हुने कार्य गर्नु अथवा राष्ट्रघाती कार्य गर्नु नै अपरिपक्क अवस्था हो । मेरो विचारमा बरु यतिबेला केपी ओलीको सरकारलाई टिकाउन तथा ठूला–ठूला दल मानिने नेपाली कांग्रेस तथा माओवादी पार्टीहरूद्वारा सम्पूर्ण रूपले समर्थन तथा सहयोग गरी देशको हितका कार्यहरूमा होस्टेमा हैंसे गर्दै अगाडि बड्दै गएको भए अन्तर्राष्ट्रिय समुदायका सामु पनि यो वीरहरूको देश भनेर चिनिने देश नेपालको छवि अझ राम्ररी परिचित हुने मौका पाउँथ्यो । तर यस्तै खाले आफूलाई पार्टी गत भागवण्डामा समाहित गरी समग्र देशलाई नै अनिर्णयको बन्दी बनाउन उद्धत राष्ट्रका पहरेदार मानिने शीर्ष नेताहरू नै देशको अस्तित्व तथा सहअस्तित्व माथि नै खेलवाड गरी आफू राजधानी काठमाडौंमा रहे पनि दिल्लीबाट सञ्चालन गरिएको रिमोटद्वारा परिचालित हुनु कतिसम्मको दुःखद् हो सहजै अनुमान लगाउन सकिन्छ ।
अन्तमाः नेपाल सदियौंदेखि वीरहरूको देश भनेर चिनिएको साथै देवभूमि पनि रहँदै आएको सर्वविधित नै छ । नेपाल पशुपतिनाथको देश भएकोले पनि जहाँ शिव त्यहाँ शक्ति भन्ने प्रचलन पनि सदयौंदेखि चल्दै आएको छ । सायद त्यै शिवको शक्तिकै कारणले पनि होला विश्वमै एकमात्र देश नेपाल आजसम्म कसैको पराधिनमा रहन नपरेको पनि, अर्काे कुरा विश्वकै एक मात्र हिन्दु राष्ट्र भनेर चिनिएको र हिन्दु धर्म विश्वकै पुरानो धर्म मानिएको र यसको उत्पति स्वयम् शिवद्वारा नै प्रतिपादित भएकाले पनि यहाँ देवी शक्तिको महत्व उच्च छ । दैवी शक्तिकै कारण ब्रिटिस सेना जस्तो विशाल शक्तिशाली सेनाले पनि गोर्खाली वीरहरूको टुकुडी सेनालाई हराउन सकेन र नेपाल आजसम्म पनि कसैको अधिनमा (गुलाम) रहनु परेन । तसर्थ अब यो सरकार ढले पनि अर्काे नयाँ सरकार बने पनि सबै सरकारको दायित्व र अहम भूमिका भन्नु नै मूल विषयलाई आत्मसाथ गर्दै अब बन्ने नयाँ सरकारले ओली सरकारको पालामा हुन पुगेका अधुरा कार्य योजनालाई पूर्णता दिन आफ्नो ताकतले भ्यायसम्म लागि पर्नेछ भन्ने विश्वासका साथ उसको (नयाँ सरकाको) सफल कार्यकालको शुभकामना ।

प्रकाशित मितिः   २१ श्रावण २०७३, शुक्रबार ०६:३३