अछुतीको पर्दा

gk
              -जि.के पोख्रेल-

गोरखामा राजा पृथ्वीनारायणले शासन गर्न थालेको लगभग एकदशक नाघिसकेको थियो । मकवानपुरका युवराज अर्थात् आफ्नै जेठानसँगको पारिवारिक द्वन्द्व उत्कर्षमा पुगेको थियो । दुस्मनी त झन् चरममा । भेडा र बाघको सम्बन्धजस्तो । एक किसिमको पारिवारिक वैरभाव उत्पन्न भयो ।
अन्ततः उनले आफ्नै ससुरालीमाथि धावा
बोले । सुरुमा पारिवारिक कलहका रूपमा बीज रोपिएको कलङ्कको बीज । अन्ततः दुई राज्यबीचको युद्धको रूपमै परिणत भयो । उनको जीवनमा आएको यो घातक परिवर्तन थियो । जसले गर्दा उनी छिमेकी राज्यका राजा, भाइभारदार तथा अन्य सर्वसाधारणका बीचमा क्रोधी राजाको रूपमा चिनिन थाले ।
–––
‘यसअघिका राजाभन्दा हाम्रा यी राजा फरक छन्,’ बिसेले एक दिन दमाईं टोलमा उद्घोषै ग¥यो ।
‘यी राजाभन्दा पनि सुरा त कालु पाँडे हुन्’ छेऊघरेले भन्यो । नातामा बिसेको काका पर्ने हो
छेऊघरे ।
‘यिनले परसम्म देख्न सक्छन् । अल्लि काँचा छन् । त्यही भएर बेलाबेलाँ ठेस पनि लाग्छ,’ बिसेले मुक्तकण्ठले प्रशंसा ग¥यो । पृथ्वीको दुरदर्शी राजकौशलको सर्वज्ञ आफैँ भएजस्तो गरेर ।
बिसे अलि बाठो थियो, गोरखाका अन्य साधारण मान्छे भन्दा । स्वभाव पनि बेग्लै थियो, शालीन र शान्त ।
‘के गर्छस् त बिसे । डुम भएर जन्मिस् । क्षेत्रीका कूलाँ जन्म्या’भे काजी हुन पाम्थिस् । दोष आफ्नै खप्परलाई दे’ छेऊघरेले प्याच्च अछुती छिरोल्यो ।
बिसेले उसको कुरा ध्यान दिएन । आफ्नै सुरमा सहनाईंको सुर मिलाउन थाल्यो ।
एकाथरी नगर्चीहरू दमाहा, ट्याम्को र नगराका ताना कस्न थाले । अर्काथरी चाहिँ नर्सिंगा, सहनार्इं
र झ्याम्टामा सुर चढाउन । दृश्य सङ्गीतमय हुने तरखरमा थियो ।
अधिकांश नगर्चीहरू पृथ्वीको सन्की, छुल्याहा, छुस्कर, क्रोधी स्वभावदेखि बिच्किएका थिए । पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म, सबैतिरका राजा– रजौटालाई अघोषित शत्रु बनाइसकेका थिए पृथ्वीले । लमजुङ, तनहुँ र पाल्पातिरको आक्रमणबाट बचावटका लागि ठाउँ–ठाउँमा सिभिल सुरक्षाका लागि क्याम्प नै खडा गर्नुपरेको थियो ।
एक किसिमको हैकम थियो पृथ्वीको । साधुसन्त, ग्वारागुभाजु, जैसीवैद्य सबैमा । एकजना दरबारका पण्डित थिए; उनी मात्र महाराज पृथ्वीका कुरा
काट्न सक्थे ।
कुरैकुरामा पण्डितसँग बिसेले भन्यो– ‘बुद्धि भएका काजी हुने भे हाम्रा मा’राजले हिन्दुस्तानसम्म पनि देश पु¥याउन सक्छन् ।’
विष्टका लुगा सिउन र बाली उठाउन घर–घर धाउँदा सुनेका कुरा उग्राएको थियो बिसेले ।
पण्डित एक छिन बोलेनन् । बिसेमा एक किसिमको गर्व थियो । उसमा पृथ्वीका हरेक किसिमका क्रियाकलापको भविष्य– वाणी गर्न सक्छु भन्ने भ्रमको बाली राम्रै फस्टाएको थियो ।
पण्डितले मनमनै विचार गरे– ‘यो मोराले कहाँको हिन्दुस्तान देखेछ ? नूनतेल गर्न ल्हासा जान्छ । हद्दै भए मकवानपुर, कपिलवस्तुसम्म पुगेको होला । काँकाँ न बनारस, आसाम, सुख्खिम पुग्याजस्तो गर्छ,’ तर, बोलीचाहिँ हालेनन् घाँटी खसखसाइमै सीमित भयो ।
समय–समयमा गाउँलेले बिसेको तारिफ गर्थे । अर्जेल पण्डितले सुनेकै थिए । पृथ्वीपछि गाउँले र देशबासीको सबैभन्दा बढी तारिफ खाने पात्र बिसे । घोषणै गरे पनि फरक पर्दैन ।
खजाञ्चीले आएर भन्यो–‘माथि साना मा’राजले बिसेलाई र बाजेलाई बोलाइबक्सेको छ ।’
महाराजको बैठककोठाबाट कसरी बोलाहट आयो बिसेलाई ? अर्जेल पण्डित एक न दुई भए । एकछिन त नाजवाबै ठडिए मूर्तिवत् ।
बिसेले ठुटे जुँगामा ताऊ लाउँदै भन्यो– ‘हुन्छ, हुन्छ दाइ । बाजे न्वाइध्वाइ गरेपछि आउँछन् ।’
बिसेले अर्जेल पण्डितको अप्ठ्यारो फुकाइदियो । तर, आफैँ सकसले बाँधिएको ।
बाहिर घुमफिरमा जानुपर्ला भन्ने सोचेर पण्डिततिर फर्किएर भन्यो– ‘बाजे घरजहानहरू के गर्दैछन् ? हालचाल बुझेर आउँछु । त्यतिबेरसम्ममा नुवाइधुवाइ गर । साँझ बस्तु बाँध्ने बेलाँ जाउँला ।’
बिसे घरतिर लाग्यो ।
घर भन्नु पनि घर थिएन, एकतले छाप्रो । पाटीजस्तो । कुचुक्क परेको ग्वालीजस्तो । तिनतिर गारो र एकातिर प¥याङ– निगालाको चित्राले बारेको । छानो परार साल लगाएको । सिरु, तितेखर र
सालिब्बो मिसाएर । मक्काएर भुक्क–भुक्क झर्नेबेला भइसकेजस्तो ।
बाबुआमा, भाइबैनी र स्वास्नी छोराछोरी गरेर सातजनाको जहान बस्ने ठाउँ ।
बिसे प्रायः दिनभरि नै घुमेर बिताउँथ्यो । बिहेबटुलो, पूजाआजा तथा बेठीमा बोलाइहाल्थे । सहनाई बजाउन जान्थ्यो । नगर्ची खलकको सबैभन्दा हँसिलो, रसिलो र बाठो । दमाईंहरू मात्र होइन विष्टहरूका नजरमा समेत उसले बेग्लै स्थान बनाइसकेको थियो ।
–––
घर पुग्नेबित्तिकै बिसेले भन्यो– ‘आज मा’राजले मलाई र अर्जेल बाजेलाई बैठकमा डाक्या छन् ।’
हातको सियो भित्ताको टाटीमा सिउरिँदै बिसेको बाबुले भन्यो– ‘डाक्छन्, त जाबे जैरेलाई ?’
‘ए बाउ तिमेर्ले बिसेलाई चिनेकै रैन्छौ । दश गाउँका भद्रभलाद्मी मेरो पिछी लाग्छन् । अर्जेल बाजेजस्ता पण्डित तँै चुप । घराँ भने मेरो कुनै माने छैन,’ भनिसिध्याउञ्जेलसम्म पनि उसको अन्तरात्मामा भएको गर्विलोपनाको लेभल डाउन भएको थिएन ।
छानामा लागेको लेऊ र पानीले भिजेर ढाडिएका डाँडाभाटा पनि बिसेको पीडा बुझेझैँ गरी ङिच्च गरिरहेका थिए ।
‘ए आमा, एक लोटा पानी लेऊ न त ।’ आमा उठ्न अल्छी गरिन् ।
स्वास्नीचाहिँ लोटा बोकेर भित्र भान्छातिर लागी । जहाँ बूढाबूढीको सुत्ने माटाको अग्लो डीललाई खाटजस्तै बनाइएको थियो ।
तिर्खा पनि अचाक्लीसँग लागेको । लाग्छ, एक गाग्री पानी खाइसक्दा पनि उसको सुकेको घाँटी रसाउँदैन । उसका आँखामा बल्दो तेज देखिएको छ ।
पानी खाउञ्जेलसम्म कोही बोलेनन् । सबै हेराहेर गर्न लागे ।
‘आज मलाई भात नपर्खिनू, आउन ढिलो होलाजस्तो छ,’ बिसे आफैँमा गमक्क पर्दै । आज उसलाई दरबारको चौरासी ब्यञ्जनै टक्र्याउने कार्यक्रम छ भने जसरी ।
दरबारको बैठककोठामा पहिलोपल्ट बोलाहट आएको थियो । जहाँ अर्जेल पण्डित र काजीहरू मात्रै छिर्न पाउँथे ।
‘जात न भात किन बोलाए त महाराजले ?’ एकपल्ट बिसेलाई आफ्नो अछुतीले चिथो¥यो । अझ भनौँ न रत्तायै हुनेगरी कोत¥यो ।
क्षेत्री भएको भए आजसम्ममा पक्कै चौतारिया भइसक्ने मान्छे । बाहुन भएको भए पण्डित ।
मनमनै विचार ग¥यो– ‘आजसम्म डुम भनेर हेलाँ गर्ने महाराजका मनमा कसरी आफूप्रति यत्रो भरोसा पलाको ?’
एक मनले त शङ्का पनि ग¥यो– ‘कतै कुनै षड्यन्त्र त भइरहेको छैन ?’ यस्तै के–के सोच्दासोच्दै डाँडाको दरबार क्षेत्रमा पुगिसकेको थियो ।
–––
‘किन ढिलो गरिस् ए बिसे ?’ ढोकेले भन्यो ।
भन्यो यसरी कि बिसेले ठूलै अपराध गरेको छ । र, ऊ सरकारबाट सजाय पाउन लायक छ । एकदमै कडा प्रकृतिको ।
ढोकामा चारैतिर दियोमा घिऊ र सलेदोको चहकिलो रश्मि छरिएको छ । उज्यालोको सारथि बनेर दरबारलाई स्वर्गीय आकाश झैँ देदीप्यमान बनाइरहेका । उसले सन्ध्याको सगुनतर्फ हेरिसक्यो । र, मूल ढोकाको नजिकै पुग्यो । मूर्तिवत् उभियो ।
‘आइज बिसे आइज । तँलाई नै पर्खिरहेका छौँ,’ भित्रबाट आएको साना महाराजको गर्विलो आवाज बिसेले प्रस्टै चिन्यो ।
हल्का चालले बढायो पाइला । बैठक कोठाको कुनामा राखेको गुन्द्रीमा बस्यो ।
अरूहरू बेञ्ची, कुर्सीमा बसिरहेका थिए । चीनतिरबाट ल्याएका गद्धावाला ।
गुन्द्रीमा एक डल्लो परेर बस्यो । निषेधित क्षेत्रमा पसेको विदेशी सैनिकझैँ । सङ्कोच र डर दुवै बराबर मानेर ।
महाराजले अस्वाभाविक र आकस्मिक प्रश्न गरे– ‘बिसे तँ नेपाल खाल्डाँ पुग्याछस् ?’
‘छु सरकार…! एकपल्ट… । …पशुपतिको दर्शन गर्न ?’
‘दर्शन मिल्यो त ?’
‘टाढैबाट वर मागेँ … । हामी अछुत… । मन्दिरभित्र पसेर ईश्वरलाई बिटुलो… पा¥यो भने त सारा संसारमा… अनिष्ट भइहाल्छ नि महाराज,’ सकसपूर्ण भनिसक्यो । र थिग्रिएको लोटाको टुटीझैँ रित्तियो ।
भुइँतिर हे¥यो । पुनः सामुन्ने बसेका महाराजलाई । आधाउँधि आवाज मात्र निकालेर प्रश्न ग¥यो– ‘महाराज आज किन मलाई बोलाहट भइबक्सेको ?’
हाँसोको फोहरा छुट्यो एकचोटि । उसले दरबारीया भाषा बोलेको सुनेर । महाराज मात्रै होइन । सभाकक्षमा उपस्थित भएका सबै सदस्य पेट मिचीमिची हाँस्न थाले ।
‘अँ बिसे ! महाराजले तँसँग सल्लाह माग्न बोलाइबक्सेको हो । तेरो भनाइ के छ भनेर ?’
अर्जेल पण्डितले भने । ऊ आश्चर्यको सेती खोँचभित्र छि¥यो ।
‘कस्तो कुरा ग¥या बाजेले । मसँग महाराजलाई अर्ती दिने बुद्धि कहाँ हुन्थ्यो र ? उस्सै… मान्छेले… धुरी चढाएका मात्रै हुन्,’ सास पनि भरसक दबाएर बोल्यो ।
एकपल्ट ऊ बसेको गुन्द्रीमुनिको जमीन भासिएर पातालमा नै पुगेकोजस्तो भो । शीर ठाडो पार्न पनि सकेन । राम्ररी पर्वते कुरा बोल्न त नजान्ने जाबा डुमले भनेको कुरा महाराजले मान्ने ? विलखबन्दमा प¥यो ।
‘बिसे मैले त सुन्या मात्रै हो । तर तैँले मेरो भविष्यवाणी गरिस् भने ठ्याक्कै मिल्छ रे, हो ?’ महाराजको यति आश्वासन दिए ।
बिसेको धर्ती केही उचालियो ।
‘सबै त होइन माहाराज मुख्य र महŒवपूर्ण केही काममा मैले बोल्या कुरो पुग्या छ,’ केवल टार्ने उद्देश्यले मात्र भनेको थियो ।
बिसेलाई दरबारको कामकारबाही खासै केही
चासो थिएन । ऊ पन्छिन खोज्यो । महाराजलाई
मन परेन ।
‘मोही माग्न जाने ढुङ्ग्रो लुकाउने काम किन
गर्छस् ए बिसे । तैँले के–के देख्या छस् ? सबै भन्दे न,’ साना महाराजले भने । बिसेको मनको अप्ठ्यारो फुकाउँदै । जो, चूँसम्म नबोली बसेका थिए ।
‘मैले त कान्तिपुरमा नयाँ नेपालको राजधानी
देखेँ । मठ–मन्दिर पनि त्यहीँ । सम्म आवाद जग्गा पनि त्यहीँ । भाइभारदार, सैनिक र काजीले समेत मेरो कुरा खाइसक्या छन् । अब मैले बुझ्न खोज्या कुरो तेरो देउताले के देख्या छ,’ महाराजले आफ्नो भावी योजना र कार्यनीति बिसेसामू प्रस्तुत गरे ।
बिसे आजको सभाको अध्यक्ष हो झैँ भाऊ
दिए । उसको अनुमोदनबिना कार्यनीतिले व्यवहारिक रूप प्राप्त गर्न सक्दैन भनेजस्तै भो माहौल ।
‘बेला भा’छैन महाराज,’ बिसेले चर्को आवाजमा भन्यो ।
लाग्थ्यो महाराजले गोरखा राज्यमाथि विपत्ति निम्त्याउन लागिरहेका छन् । कान्तिपुरमाथि आक्रमण गरेर ।
छक्क परे, सबै । महाराजको काममाथि औँला ठड्याउने ? यो जाबेको तागत ? पाँडेकाजी, थापाकाजी, हजुरीया र पण्डित अर्जेल सबै थिए । अनि सबै उसकोे तर्कसँग रुष्ट भए ।
‘महाराजले के न बोलाइबक्स्याथ्यो, ऊ आफैँ हजुरीयाजस्तो फूर्ति लगाउँछ,’ हजुरीयाले अहिलेसम्म मौन बसेको व्याथा रोक्न सकेन ।
‘चुपलाग् पाजी,’ साना महाराजले हजुरीयाको मुखै टालिदिए ।
‘हेर बिसे ! मैले तँलाई यहाँ विश्वासले बोलाको हुँ ! तैँले के भन्छस् भन्ने कुरामा अरूलाई मतलब
छैन । तर, म तेरो विचार सुन्न उत्सुक छु । कुनै उपाय त होला नि,’ महाराजले बिसेको डर शान्त गर्दै भने ।
‘उपाय छ सरकार,’ तर … बिसे बोलेन ।
‘भन के उपाय छ ?’ महाराज प्रश्नसँगै कुनै एकान्तमा फालिएको सानो सियोजस्तै हराए ।
बिसे बोलेन । किन बोलेन र के सोचिरहेको छ ? अबको बिसेको मुखबाट निस्किने शब्द कुन विषयको हुनेछ ? कसैले अनुमानसम्म पनि गर्न सकेनन् ।
बिसेको एकान्तताले सभा मध्यरातसम्मै लम्बिने सम्भावना बढ्यो । ध्यानमग्न भो बिसे । अरू त अरू महाराजले पनि बिसेलाई बिथोल्न चाहेनन् ।
दिनभरि काम गरेर गलेकी आमाले कतिखेर चोलाको टाँक खोल्छिन् र दूध खान पाउँला
भनेर बसेको बालकजस्तै भए सबै । हो, निशब्द
पर्खेर बसिरहे ।
बेलाबेला महाराज पृथ्वीका आँखा सक्रिय
हुन्थे । बिसेलाई हेर्न भ्याउँथे । त्यतिबेला यस्तो
लाग्थ्यो कि, ऊ बुद्ध, विश्वमित्र, अत्रि हो । र ध्यानस्थ बसिरहेको, दिव्यदृष्टिका लागि ।
उसका दुवै आँखा बन्द थिए । आवश्यकताभन्दा बढी नै निधार खुम्चिएको । बेलाबेलामा छाती
चल्थ्यो । तर, ओठ हल्लिएका पनि थिएनन् । परेला त झन् पात झरेको रुखजस्तो । हावाले समेत हल्लाउन नसक्ने गरी जडवत् र सिक्रिएका ।
बिसेले बिस्तारै आँखा खोल्यो ।
सबै बिसेले के भन्छ भनेर कान ठाडा–ठाडा पारेर बसेका थिए । अर्जेल पण्डित अलि बढी नै उत्सुक थिए । बिसेको भविष्यवाणीसँग उनी नै सबभन्दा बढी परिचित थिए । यद्यपि उनमा एक किसिमको ईष्र्या थियो । जन्मपत्री हेर्ने पण्डित भएर पनि एउटा डुमको भविष्यवाणी सुन्नुपर्ने । अत्यन्तै कष्टकर बाध्यतामा परेका थिए उनी ।
महाराजले काम न काजको डुमलाई शीर
चढाएर आफूलाई तिरस्कृत गरिरहेका छन् भन्ने लाग्यो उनलाई यतिखेर ।
अब योभन्दा बढी मौन बस्न सक्ने धैर्य कसैसँग पनि थिएन । तरबारको भाषामात्र बुझ्ने क्षेत्रीय कूल । प्रायः नौजवान सबै । यो ऋषिमूनिको जस्तो निस्कृय बसाइ । कसैलाई पच्ने कुरा पनि थिएन । यदि महाराज छेउमा नभइदिएका भए सबका सब उठेर गइसकेका हुन्थे । र, सपना देख्न थालिसकेका हुन्थे ।
‘महाराज ! सानो मुखले ठूलो कुरो बोल्ने मान्छे त म होइनथेँ । महाराजबाट हुकुमै भएपछि चुप बसेर पनि भएन,’ दबेको सास र सकेसम्म मलिनु स्वरमा बोल्यो बिसे ।
‘के भन्न लाग्याछस्, नडराइकन भन्, भलो कुरो गरिस् भने तेरो कुरो खान्छु भन्ने त बुझेकै होलास्,’ महाराजले उसको अप्ठ्यारो फुकाउन खोज्दै भने ।
‘महाराज ! कान्तिपुर र गोरखा राज्यका बीचाँ नुवाकोट पर्छ । नुवाकोटे राजालाई आफ्नो वशमा नपारी कान्तिपुर ताक्नु हुँदैन । यो त हात भाँच्या मान्छे रुखाँ चढ्न खोज्याजस्तो मात्रै हुन्छ । मौका परे आफैँ मुन्टिन पनि बेर छैन,’ यति भनिसकेर बिसे रस चुसिसकेको कागतीजस्तो छोक्य्राइलो सुक्यो । सबै मुखामुख गर्न थाले ।
बोल्नै नहुने कुरा गरेँजस्तो लाग्यो बबुरो
बिसेलाई । महाराजको नजरतिर हे¥यो । आँखै जुधाइहाल्न चाहिँ सकेन ।
महाराज रिसाएका पनि थिएनन् । हाँसेका पनि थिएनन् ।
बिसेको कुरामा भएका राम्रा र नराम्रा पक्ष खोजिरहेका थिए ।
बिसे एकदमै डराउन थाल्यो ।
झोक्की र रिसाहा । आफ्ना ससुरालीमाथि त धावा बोल्न सक्ने पृथ्वीनारायण । कतै बिसेको यो कुराले गर्दा रिसाए भने ? ऊ त मूला काटिएझैँ काटिने छ, चकानै चकाना भएर ।
नजिकै तरबार बोकेर उभिएको सैनिकतिर
हे¥यो । धन्न तरबार म्यानभित्रै छ । उसलाई अल्लि सास आयो ।
महाराजको फैसला पर्खिरहेको थियो ।
‘बिसे ?’ महाराजले यति मात्र भने ।
उनलाई पनि एकपल्ट बिसेको परीक्षा गर्न मन लागेजस्तो ।
बिसेले पहिले त आफूलाई फूलपातीका दिन बलि दिन ठिक्क पारेर पर्छिसकेको बोकोजस्तै ठान्यो । जसका गर्धनका भुत्ला पानीले भिजाएर ठाडाठाडा पारिसकेका छन् । उभिइरहेको छ, छेऊमा एउटा
जल्लाद । एक हात लामो सेतो खुकुरी बोकेर !
‘ठीक भनिस् बिसे । पहिले नुवाकोट नहानी कान्तिपुर हान्नुहुन्न,’ भनेर महाराज केही समय
निर्वाक्य रहे । अज्र्याल पण्डिततिर तेजिला आँखा तेस्र्याएर भने, ‘ए बाजे ! नुवाकोट हान्नका लागि
कुन दिनको साइत ठीक पर्छ जुराएर मात्रै दरबारमा हाजिर होऊ ।’

प्रकाशित मितिः   २१ श्रावण २०७३, शुक्रबार ०६:२२