हिउँदे अधिवेशन अनिश्चित

सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ । वर्षे अधिवेशन सकिएको करिब तीन महिना बितिसक्दा समेत हिउँदे अधिवेशन बस्न सकेको छैन । गत असोज १० गते वर्षे अधिवेशन समापन भएको थियो । तर पुस सकिन लाग्दासम्म पनि हिउँदे अधिवेशन आह्वान गरिएको छैन । कहिलेसम्म अधिवेशन सुरु हुने हो त्यसको टुङ्गो समेत लागेको छैन । हिउँदे अधिवेशन समयमै सुरु नहुँदा सांसदहरू समेत कामविहीन भएका छन् । तल्लो तहका नागरिकको प्रतिनिधित्व गरी संसद्सम्म पुगेका सांसदहरूलाई समेत समयमै बैठक नबस्दा नागरिकका गुनासा सरकारसम्म पु्¥याउन असहज भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सरकारले छिटो भन्दा छिटो अधिवेशनको अह्वान गर्नुपर्ने बताए । ‘जनताको वास्तविक समस्या सांसदहरूले बोल्ने थलो संसद् हो’ उनले भने ‘सरकारलाई ध्यानाकर्षण गराउनको लागि पनि बोल्ने आधिकारिक थलो संसद् नै हो ।’ प्रदेशका विभिन्न जिल्लाका जनता अहिले पनि थुप्रै समस्याबाट गुज्रिएको भन्दै सांसद श्रेष्ठले जनताका समस्या सरकारका कानमा पु¥याउनको लागि अधिवेशन बस्नुपर्ने बताए । समयमै अधिवेशनको आह्वान सरकारले गर्न सकेको खण्डमा विभिन्न एजेण्डामा छलफल गर्न समेत सहज हुने उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सोशीला शाहीले अधिवेशन समयमै सुचारु हुनुपर्ने बताइन् । उनले संसद् समयमै सञ्चालन हुन नसक्दा आफूहरू कामविहीन भएको समेत जानकारी दिइन् । ‘बैठक समयमै बसेको भए राम्रो हुने थियो’ उनले भनिन् ‘हामीहरूलाई नागरिकका गुनासा सरकारसम्म पुगाउन पनि सजिलो हुन्थ्यो ।’ सरकारले संसद् बैठक समयमै सुरु गरे सबैको लागि हित हुने उनले तर्क गरिन् । उता कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णय गरी बैठकको सिफारिस नगरेको कारण हिउँदे अधिवेशन आह्वान गर्न नसकिएको सभामुख राजबहादुर शाहीले बताए । उनका अनुसार हिउँदे अधिवेशन पुस १५ गतेसम्म बस्ने कुरा यसअघि भए पनि अझै बस्न सकेको छैन । ‘सरकारले काम दिए बैठक सञ्चालन गर्न हामी तयार छौं’ उनले भने ‘संसद् समयमै चल्न सके अन्य काम गर्न पनि सहज हुन्छ ।’

सरकारका प्रवक्ता विमला केसीले अधिवेशनको तयारीको लागि छलफल भइरहेको बताइन् । उनले बजेट जस्तो महत्वपूर्ण काम हिउँदे अधिवेशनमा नभए पनि नियमित कामको लागि बैठक बस्नुपर्ने बताइन् । ‘हामीहरू अधिवेशनको तयारीमा जुटेका छौं’ केसीले साझा बिसौनीसँग भनिन् ‘त्यसको लागि छलफल चलिरहेको छ ।’ आगामी अधिवेशनमा विधेयकहरूको काम हुने उनले जानकारी दिइन् । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आ–आफ्ना जिल्लामा भएका समस्याका कुरा सदनमा राख्ने, कानुन निर्माण गर्ने लगायतका नियमित काम हिउँदे अधिवेशनमा गरिने उनले बताइन् । नेपालको संविधान २०७२ को भाग १४ प्रदेश व्यवस्थापिकाको धारा १८३ मा प्रदेशसभाको अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था रहेको छ । जसको उपधारा १ मा प्रदेशसभाको एउटा अधिवेशनको अन्त्य र अर्को अधिवेशनको आह्वानको समय ६ महिनाभन्दा बढी हुनेछैन भनी उल्लेख छ ।

प्रकाशित मितिः   २४ पुष २०७६, बिहीबार ०९:५०