विपन्न कृषकलाई सरकारको साथ

किसान–सरकार हातेमालो कार्यक्रम लागू भएपछि व्यावसायिक तरकारी खेतीतर्फ कृषकहरुको आकर्षण बढेको छ ।

मुना हमाला,
सुर्खेत : 
सुुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. ४ ठाँटीका टिके रानाले विगतदेखि नै गहुुँ र मकै खेती गर्दै आएका छन् । तर परिश्रम गरेअनुसारको उत्पादन भने कहिल्यै भएन । न त भएको उत्पादनले वर्ष दिन पुग्छ । तीन÷चार महिना धान्न पनि मुस्किल पर्छ । आम्दानीको अरु स्रोत छैन । थप आम्दानीका लागि भारत जानुबाहेक उनीसँग विकल्प थिएन । कहिले घर त कहिले भारतमा परिश्रम गरेरै उनले परिवारको खर्च टारिरहेका थिए । तर अब भारत जानुपर्ने बाध्यताबाट उनी मुक्त भएका छन् ।

गहुँ र मकै खेतीसँगैसँगै व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि उनको रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता हटेको हो । अहिले रानाको बारीमा टमाटर, आलुु, काउली लगायतका तरकारी फलेका छन् । तरकारी खेतीको सुरुवात उनले भर्खरै मात्र गरेका हुन् । तर यही सुुरुवाति चरणमा राम्रो आम्दानी भएपछि उनी दंग छन् । रानाकै छिमेकी जंगुुसिंह ठकुरीले पनि अन्य बालीसँगसँगै तरकारी खेती सुरु गरेका छन् । एउटै टनेलबाट एक सिजनमा पाँचसय किलो टमार फल्छ । त्यतिमात्र होइन एउटा टनेलबाट एक पटकमा ढाई क्वीन्टल टमाटर बिक्री गरेको ठकुरीले बताए । तरकारीबाट राम्रो आम्दानी हुनथालेपछि उनी पनि रोजगारीका लागि भारत जान छोडेका छन् । ‘गहुँ–मकैले मात्र वर्षभरी खान पुुग्दैन’ उनले भने, ‘व्यावसायिक रूपमा तरकारी खेती गरेपछि आम्दानी राम्रो हुुने रहेछ ।’

राना र ठकुरी जस्तै ठाँटी गाउँका ४३ घरवरिवारले घरघरमा तरकारी खेती गरेका छन् । सबैको घरमा एकदेखि दुुईवटासम्म तरकारीका टनेल छन् । प्रदेश सरकारको साथ पाएपछि कृषकहरू थप उत्साहित बनेका छन् । उक्त गाउँमा अघिल्लो आर्थिक वर्षदेखि कर्णाली प्रदेश सरकारले विपन्न किसाहरूको जीवनस्तर उकास्न किसान–सरकार हातेमालो कार्यक्रम सुरु गरेको थियो । यसै कार्यक्रम अन्तर्गत ठाँटीका ४३ घरपरिवारलाई तरकारी खेती गर्न सहयोग पनि गरिएको छ । सबै भन्दा बढी गरिबीको दर भएको जिल्लाका स्थानीयतहमा प्रदेश सरकारको भूूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसान–सरकार हातेमालो कार्यक्रम लागू गरेको हो । कृषकहरू तरकारी खेतीमा आकर्षित भए पनि सिँचाइ र बजारीकरणको समस्या भने रहेको उनीहरूको भनाइ छ । स्थानीय सर्जुसिंह ठकुरीले तरकारी खेती राम्रोसँग भइरहेपनि सिँचाइ र बजारीकरणको समस्या भएको बताइन् । उनले भनिन् ‘यहाँ सिँचाइ र बजारीकरण भएको भए हामीले अझै राम्रोसँग आम्दानी गर्न सक्थ्यौं । मैले आफै वीरेन्द्रनगर पुगेर बेच्ने गरेको छु ।’ गाउँमै तरकारी संकलन केन्द्र आवश्यक रहेको उनको भनाइ छ ।

मन्त्रालयले अति विपन्न परिवारलाई सहयोग गर्ने गरेको छ । व्यावसायिक रूपमा तरकारी खेती गर्नका लागि टनेल निर्माण, बीउविजन लगायत प्राविधिक सहयोग गरिएको कृषि निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए । कृषि तथा पशुुपंक्षीजन्य वस्तुको उत्पादन, बजारीकरणमा सहयोग गर्न यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । ‘परम्परागत खेती गरेर चार÷पाँच महिना खान नपुुग्ने किसानहरूको जीवनस्तर उकास्न तरकारी खेती नै विकल्प हुुन सक्छ भनेर किसान–सरकार हातेमालो कार्यक्रम लागू गरेका हौं’ उनले भने । अघिल्लो आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिएका गाउँमा निरन्तरता दिनुुका साथै अन्य नयाँ गाउँमा पनि कार्यक्रम लागू गर्ने तयारी थालिएको छ ।किसान–सरकार हातेमालो कार्यक्रम समन्वय समिति गठन गरेर प्रदेशका १० वटा पालिकामा अहिले कार्यक्रम सञ्चालन गरिएको छ । जसमा सुुर्खेतको चिङ्गाड गाउँपालिकासँगै सल्यानको दार्मा गाउँपालिका, रुकुुमको आठबिसकोट नगरपालिका, मुुगुुको छाँयानाथ रारा नगरपालिका, कालिकोटको महावै गाउँपालिका, जुुम्लाको हिमा गाउँपालिका, जाजरकोटको कुुशे गाउँपालिका, हुुम्लाको अदानचुुली गाउँपालिका, डोल्पाको मुुड्केचुुला गाउँपालिका र दैलेखको चामुुण्डा विन्द्रासैनी नगरपालिकामा यो कार्यक्रम लागू भएको छ  । दुुई रोपनी जग्गा भएको, सिँचाइ उपलब्ध न्यून रहेको, सोही जमिनबाट तीन महिना मात्र खान पुुग्ने, कृषि मजदुर, दलित, उत्पीडित वर्गको किसान भएको ठाउँमा कार्यक्रम लागू गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २४ पुष २०७६, बिहीबार १०:००