सहयोगापेक्षी मानवरहित बन्दै सडक

सुर्खेत : कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाउने तयारी गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आगामी माघ ४ गते प्रदेशलाई सहयोगापेक्षी सडक मानवरहित घोषणा गर्ने गरी तयारी गरेको छ । प्रदेश सरकारले बेसाहारा, अभिभावकविहीन भइ सडकमा माग्दै जीविकोपार्जन गरिरहेकाहरूलाई घरपरिवार वा आश्रममा पुनस्र्थापित गर्ने योजनासहित सहयोगापेक्षी सडक मानवरहित घोषणा गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले स्थानीय तहसम्म यो अभियान सञ्चालन गरेको छ । जिल्ला समन्वय समितिको प्रमुुख र पालिकाका प्रमुुखको संयोजकत्वमा समन्वय, अनुुगगन, तथा निगरानी समिति गठन गरेर अभियान सुरु गरेको मन्त्रालयका सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत सुुनिता केसीले जानकारी दिइन् । उनले प्रायः सबै जिल्ला र पालिकामा समिति गठन गर्ने काम भएको जनाइन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट बेसाहारा, अभिभावकविहीन सडक मानवलाई उद्धार गरेर सुुर्खेतमा रहेको मानवसेवा आश्रममा राखिएको छ । पुस १० र ११ गते वीरेन्द्रनगरमा सम्पन्न प्रदेश समन्वय परिषद्को बैठकमा पनि घोषणा अभियानलाई सफल बनाउन स्थानीय सरकार, जिल्ला समन्वय समिति र अन्य सरोकारवालाहरूले प्रतिबद्धता–पत्रमा हस्ताक्षर समेत गरेका थिए । सामाजिक विकास मन्त्रालयसँगै, मानवसेवा आश्रम, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले अभियानलाई अघि बढाएका हुन् । अहिले जिल्लामा रहेका बेसाहारा, सडक मानवहरूलाई उद्धार गरेर आश्रममा ल्याउने काम भइरहेको छ । स्वयम्सेवकहरूले त्यस्ता व्यक्तिलाई उद्धार गरेर मानवसेवा आश्रमसम्म ल्याउने गरेका हुन् । उद्धार गरेर ल्याइएका सडक मानवहरूलाई आवश्यकता अनुसार परिवारमा पुनस्र्थापना गर्ने र आश्रममा राख्ने गरिएको छ । मानवसेवा आश्रम वीरेन्द्रनगरमा हाल ३९ जनाले आश्रय लिइरहेका छन् । २६ जनालाई परिवारसँग पुनस्र्थापना गरिएको जनाइएको छ ।

सुर्खेतमा सञ्चालन गरिएको मानवसेवा आश्रम सञ्चालन गर्नका लागि सहयोगी हातहरू पनि बढ्दै गएका छन् । आश्रमका सुर्खेत जिल्ला संयोजक संजिता गौतमका अनुसार वीरेन्द्रनगर नगरपालिकाले घरभाडा व्यहोर्दै आएको छ । त्यसबाहेक सामाजिक विकास मन्त्रालयले १० लाख रूपैयाँ आश्रम सञ्चालनका लागि बजेट व्यवस्थापन गरेको थियो । जिल्ला संयोजक गौतमले आश्रमका लागि लुुगा र खाना किन्नुु नपरेको बताइन् । सामाजिक सेवाभाव भएका व्यक्ति तथा संस्थाहरूले आश्रमलाई सहयोग गरिरहेका छन् । ‘कसैको जन्मोत्सव, संस्थाको स्थापना दिवसलगायतको दिन पारेर खाद्यान्न, लत्ताकपडा सहयोग गर्नुभएको छ । अहिलेसम्म यहाँ बस्नुु भएकाको लागि हामीले खाद्यान्न र कपडा किन्न परेको छैन’ गौतमले भनिन् ।

प्रकाशित मितिः   २४ पुष २०७६, बिहीबार ०९:४२