कर्णालीको कमजोर प्रदर्शन
सुर्खेत : सुनसरीमा भइरहेको मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कमजोर प्रदर्शन गरेको छ । समूह ‘बी’ को पहिलो खेलमा बुधवार नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई दुई सय ६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । तीन सय ४७ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली २७.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । तल्लोक्रमका राजकुमार शाहले सर्वाधिक २३ रन बनाउनुबाहेक कर्णालीका अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । सात जना खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।
दोस्रो ओभरको तेस्रो बलमै दीपेन्द्रसिंह ऐरीले ललित भण्डारीबाट कप्तान रविन्द्रजङ्ग शाहीलाई ६ रनमा क्याच गराए । तेस्रो ओभरको दोस्रो बलमा विपिन रावललाई ललित भण्डारीले एक रनमा बोल्ड आउट गरे । ललित भण्डारीलेनै प्रकाश जैशीलाई चार रनमा बोल्ड आउट गरे । हेमन्त ओलीलाई पवन सरार्फले १० रनमा बोल्ड आउट गरे । उनले ३० बलमा एक चौका प्रहार गरे । यस्तै टेक सलामी मगरले २९ बलमा दुई चौकासहित १४ रन जोडे । हिमांशु शाहीले ३१ बलमा एक रन बनाउँदा ललित प्याकुरेल शून्यमा आउट भए । पुलिसका मञ्जित श्रेष्ठ, सागर ढकाल र ललितसिंह भण्डारीले २÷२ विकेट लिए । दीपेन्द्र सिंह ऐरी, कुशल भूर्तेल, पवन सरार्फ र ललित नारायण राजवंशीले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको पुलिस ४९.३ ओभरमा अल आउट हुँदै तीन सय ४६ रनमा समेटिएको थियो । युवा ब्याट्सम्यान कुशल भूर्तेलले तल्लोक्रममा ४९ बलमा ७ चौका र ५ छक्कासहित ७८ रनको योगदान दिए । ४७औं ओभरको पहिलो बलमा रविन्द्रजङ्ग शाहीलाई ठूलो सट प्रहार गरेका कुशल हिमांशु शाहीबाट क्याच हुन पुगे । ओपनर सुनिल धमलाले ७० रनको योगदान दिए । ३३ ओभरको पहिलो बलमा स्पिनर युनिशविक्रम सिंहले विकेट किपर विपिन रावलबाट क्याच गराउनु अघि धमलाले ९५ बलमा ६ चौका र एक छक्का प्रहार गरे । कर्णालीका कप्तान रविन्द्रजङ्ग शाहीले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । युनिशविक्रम सिंह र राजकुमार शाहले २÷२ तथा ललित प्याकुरेलको नाममा एक विकेट
रह्यो ।
साझा बिसौनी ।