पेट्रोलियम अन्वेषण तीव्र

दैलेख : दैलेखमा कार्तिकदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको साईस्मिक सर्भेमा पर्ने १० वटा लाइनमध्ये तीनवटा लाइनको काम सम्पन्न भएको छ । खानी तथा भूगर्भ विभागका भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले साइस्मिक सर्भे अन्तर्गतका १० वटा लाइनमध्ये तीनवटा लाइनको काम सम्पन्न भएको जानकारी दिए ।

अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण दिशामा खनिएका १० वटा साइस्मिक सर्भे लाइनमध्ये उत्तर दक्षिण दिशामा खनिएका तीनवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भे सम्पन्न गरेको हो । बाँकी सातवटा लाइनको काम लगातार भइरहेकाले बाँकी काम पनि फागुनको पहिलो हप्तासम्म सक्ने तयारीका साथ चिनियाँ टोलीले काम गरी रहेको भूगर्भविद् डा. त्रिपाठीले बताए । मुख्यगरी दैलेखको श्रीस्थान, पादुका, नाभिस्थानलगायतका क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषण गरिँदैछ । अन्वेषण २ सय किलोमिटर लाइन सर्भेका लागि ४ सय वर्गकिलोमिटर भूभाग समेटेर सर्भे गरिरहेको डा. त्रिपाठीले बताए । अहिले चिनियाँ प्राविधिक टोलीले जिल्लाका चारवटा स्थानीय तहका भू–भागलाई समेटेर काम गर्दै आएका छन् । अन्वेषण अन्तर्गत पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे टेल्युरिक सर्भे, जिओ केमिकल सर्भे, स्याम्पलिङ सर्भे र यीमध्ये साइस्मिक सर्भे महŒवपूर्ण मानिएको छ ।

प्रकाशित मितिः   २४ पुष २०७६, बिहीबार ०९:२६