दैलेखमा भत्काइयो ९३ छाउगोठ

दैलेख : छाउपडी प्रथा उन्मूलन गर्ने गृह मन्त्रालयको परिपत्र अनुसार दैलेखमा जिल्ला प्रशासनको अगुवाइमा छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । सोमवारदेखि जिल्लाका आठबिस नगरपालिका, ठाटीकाँध गाउँपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, दुल्लू नगरपालिकामा छाउगोठ भत्काउने अभियानअनुसार अहिलेसम्म ९३ वटा छाउगोठ भत्काइएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेको छाउप्रथालाई उन्मूलन गर्न गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानमा लागेको जिल्ला प्रशासन कार्यालय दैलेखले दुई दिनमा ९३ छाउगोठ भत्काएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए । पहिलो चरणमा सामाजिक अभियानमार्फत जनचेतना जगाउने उद्देश्यले गाउँगाउँमा अभियान चलाएको प्रशासनले सोमवारदेखि छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत गाउँमा रहेको सहायक प्रजिअ क्षेत्रीको टोलीले जिल्लाका आठबिस नगरपालिका, भैरबी गाउँपालिका, ठाटीकाँध गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, दुल्लू नगरपालिकामा छाउगोठ भत्काइएको प्रहरी प्रमुख वलीले बताए । पहिलो चरणमा सोमवार र मंगलवार गरी चामुण्डा विन्द्रासैनी नगरपालिकामा ४६ छाउगोठ र अन्य चारवटा स्थानीय तहमा ४७ छाउगोठ भत्काइएको प्रहरी प्रमुख वलीले बताए ।

दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्लालगायत कर्णाली प्रदेशका जिल्लाहरूमा यतिबेला छाउपडीप्रथाविरुद्ध आक्रामक अभियान नै सञ्चालन गरिएको छ । सरोकारवालाहरूले यो प्रथाविरुद्ध सामूहिक प्रतिबद्धता गराउनेदेखि गाउँ–गाउँमा पुगेर छाउगोठ भत्काउने लगायतका गतिविधि धमाधम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मितिः   २३ पुष २०७६, बुधबार १०:२६