बजेटको पारदर्शी कार्यान्वयनमा जोड

सुर्खेत : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विकास निर्माणलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । संघीय संरचना अनुरूप अधिकार र बजेट स्थानीय तहमा आएको भन्दै त्यसको पारदर्शी एवम् प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताएका हुन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित जिल्ला समन्वय समिति सुर्खेतको तेस्रो जिल्ला सभाको उद्घाटनमा बोल्दै राज्यमन्त्री रावतले विकासका लागि अब केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था नरहेको बताए । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई बजेट र अधिकार भएकाले अब केन्द्र सरकारले मात्रै के ग¥यो भनेर बस्ने दिन नभएको राज्यमन्त्री रावतको भनाइ छ । ‘अहिले तीन तहका सरकारसँग बजेट र अधिकार छ’ उनले भने, ‘अब केन्द्र सरकारले के ग¥यो भन्ने मात्रै होइन कि हामीले के ग¥यौं भनेर हेर्न आवश्यक छ ।’

जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले जिल्ला समन्वय समितिलाई निर्वाचित भएको तीन वर्ष पुगिसक्दा पनि काम, कर्तव्य र अधिकारबारे प्रष्ट नभएकोले भूमिकाविहीन हुनुपरेको बताए । उनले आगामी दिनमा समितिले स्थानीय तहले सञ्चालन गर्ने ५० लाख भन्दा माथिका योजनाको स्थानीय तहहरूसँग समन्वय गरी अनुगमन गर्ने बताए । हाल समितिले स्थानीय तहहरू र प्रशासनिक निकायबीच समन्वयको काम गरिरहेको संयोजक सिग्देलले जनाए ।
कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य राजु नेपाली, सीता नेपाली, पद्मा खड्का, ठम्मर विष्ट, अमृता शाही लगायतले जिल्ला समन्वय समितिलाई आवश्यक भूमिका दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः   २३ पुष २०७६, बुधबार १०:२२