सामाजिक सेवामा समर्पित लक्ष्मी

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ सुर्खेतकी लक्ष्मीकुमारी शर्मा ५२ वर्षकी भइन् । वि.सं. २०२४ साल मंसिर १० गते बुवा ऋषिराम पौडेल र आमा रिमादेवी पौडेलको कोखबाट उनको जन्म भएको हो । साविकको गर्पन गाविस (लेहडा) हाल वीरेन्द्रनगर नगरपालिका–१६ मा जन्मिएकी लक्ष्मी सानैदेखि विद्रोही स्वभावकी थिइन् । छोरीले पढ्नुहुन्न भन्ने त्यो समयमा उनले विद्रोह गरेरै एसएलसी पास गरिन् । १६ वर्षको उमेरमा २०४० सालमा विवाहबन्धनमा बाँधिएकी लक्ष्मी विवाहपछि नै सामाजिक क्षेत्रमा आएकी हुन् ।
महिला स्वास्थ्य स्वयम्सेविकाबाट सामाजिक क्षेत्रमा काम गर्न थालेकी लक्ष्मी हाल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको मानवअधिकार निगरानी समूह वीरेन्द्रनगरको संयोजक भएर काम गर्दै आएकी छन् । विवाहपछि महिलाले अवसर पाउँदैनन् भन्ने कुराको लक्ष्मीलाई विश्वास लाग्दैन । उनी अहिलेसम्म स्वयम्सेवककै भूमिकामा सामाजिक क्षेत्रमा काम गर्दै आएकी छन् । स्वयम्सेवककै भूमिकामा ३० वर्ष बिताएकी शर्माले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटिन्ः
म ब्राह्मण परिवारमा जन्मिएकी छोरी । बुवा जजमानी गर्नुहुन्थ्यो, आमा भने गृहिणी हुनुहुन्थ्यो । हामी सात भाइबहिनी थियौं । तीन बहिनी र चार दाजुभाइ । म छोरीमा जेठी थिएँ । म भन्दा अगाडि दुईजना दाइहरू हुनुहुन्थ्यो । दाइहरूले पढ्नु भएको थियो । त्यो बेलामा छोरीलाई पढाउनुपर्छ भन्ने सोच बुवाआमाको पनि थिएन । तर
मैले दाइहरू पढेको देखेर जबरजस्ती पढ्न खोजें । छोरीलाई अलिअलि आँखा देख्ने बनाएपछि धेरै पढाउनुहुन्न भन्ने चलन त्यो बेलामा थियो । मेरो हजुरबुवाले त पढ्न नजाउ लाज हुन्छ भन्नुहुन्थ्यो । तर मैले मानिनँ । निरन्तर पढ्न गएँ ।
एसएलसी पास भएपछि वि.सं. २०४० सालमा १६ वर्षको उमेरमा मेरो विवाह भयो । विवाहपछि केही समय पढाइ रोकिए पनि मेरो परिवारले मलाई असाध्यै सहयोग गर्नुहुन्थ्यो । वीरेन्द्रनगर–१४ (साविकको गढी गाविस–९) मा महिला स्वास्थ्य स्वयम्सेविकाको रूपमा काम गर्ने मौका पाएँ । करिब १० वर्ष मैले स्वयम्सेविकाको रूपमा काम गरेँ । त्यसपछि मलाई विस्तारै राजनीतिको नशा लाग्न थाल्यो । मैले विभिन्न समयका राजनीतिक आन्दोलनहरूमा समेत सक्रिय रूपमा भाग लिएँ । वि.सं. २०५४ सालका स्थानीय निकायको निर्वाचनमा मैले नेकपा एमालेको तर्फबाट वडा सदस्य जितेँ । त्यसपछि निरन्तर राजनीतिमा सक्रिय छु । अहिलेसम्म पनि मैले सामाजिक काम गर्दै हिँडेकी छु । परिवारबाट कहिल्यै मेरो काममा बन्देज लगाउने काम भएन । बरु सहयोगनै बढी पाइन्थ्यो । श्रीमान् टीकाराम शर्मा नेपाल सरकारको अधिकृतबाट अवकाश हुनुहुन्छ । अझै सामाजिक क्षेत्रमा काम गर्न छोडेकी छैन । यसलाई निरन्तरता दिँदै अगाडि बढ्नेछु ।
मलाई बुवाआमाले पढ्दा–पढ्दै १६ वर्षको उमेरमा विवाह गरीदिनुभयो । विवाह गरेपछि छोराछोरी जन्मिए र पढाइलाई अगाडि बढाउन पाइएन । मैले २०७२ सालमा ४८ वर्षको उमेरमा प्रविणता प्रमाण–पत्र तह (प्लस–टू) पास गरेँ । पढाइलाई उमेरले छेक्दैन । सामाजिक सेवा गर्नको लागि पनि उमेर बाधक बन्दैन । म सानैदेखि पढाइमा असाध्यै राम्रो विद्यार्थी हुँ । श्री आदर्श माध्यमिक विद्यालय मेहेली गर्पन सुर्खेतमा अध्ययन गर्दा मैले थुप्रै पटक छात्रवृत्तिहरू पाएँ । कक्षा ८ मा पढ्दा ८० रूपैयाँ छात्रवृत्ति पाएको थिएँ । त्यो दिन मलाई आज पनि सम्झनामा छ । त्यो पैसाले मैले एक वर्षको विद्यालयको शुल्क तिरे र कापी–कलम किनेको थिएँ ।
जिल्ला शिक्षा शाखा सुर्खेतले मलाई त्यो छात्रवृत्ति प्रदान गरेको थियो । पढ्ने रहर धेरै थियो, बीचैमा विवाहपछि पढाइ छोड्नुपरेकोले त्यही रहर पूरा गर्नको लागि ४८ वर्षको उमेरमा मैले प्लस टू पास गरेकी हुँ । मैले थाहा पाउने बेला करिब २०३४÷०३५ सालतिर छोरीले पढ्नुहुन्न भन्ने मान्यता थियो । महिलाहरूको विरुद्धमा थुप्रै सामाजिक कुरितीहरू थिए । त्यो बेलामा पनि म अहिले जस्तै कुरितीको विरुद्धमा आवाज उठाउँथे । छोरीले धेरै बोलेको राम्रो हुन्न भन्ने चलन थियो । तर म नडराई बोल्थेँ । मलाई हौसला दिने मेरो माइलो दाइ हुनुहुन्थ्यो । उहाँ पेसाले शिक्षक हुनुहुन्थ्यो । आज पनि म समाजका विभिन्न कुरितीविरुद्धका अभियानमा सहभागी छु । तर जीवनमा जागिरको रूपमा भने कहिल्यै काम गरिएन ।
अभियानका क्रममा आवश्यकता परेको खण्डमा श्रीमान्सँग आर्थिक सहयोग माग्थें । स्वयम्सेवककै भूमिकामा ३० वर्ष भन्दा बढी बिताएँ । मलाई यसैमा सन्तुष्टि छ । अहिले पनि अरुलाई दुःख दिने नियत मैले राख्दिनँ । अझै पनि सामाजिक क्षेत्र छोड्ने छैन । जीवनको अन्तिम अवस्थासम्म सामाजिक क्षेत्रमा नै काम गर्ने इच्छा छ ।
प्रकाशित मितिः २३ पुष २०७६, बुधबार १०:१९
सीता वली ।