सुर्खेतमा मात्रै अठार सय छाउगोठ

सुर्खेत : सबैभन्दा धेरै छाउगोठ कर्णाली प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ । गृह मन्त्रालयका अनुसार कर्णालीका जिल्लाहरूमा सबैभन्दा धेरै संख्यामा छाउगोठ रहेका छन् । सुर्खेतमा मात्र एक हजार आठसय छाउगोठ रहेको गृहको तथ्यांक छ । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमवार बसेको बैठकमा गृहसचिव प्रेम राईले सुर्खेतमा एकहजार आठसय छाउगोठ रहेका र तिनलाई केही दिनभित्र भत्काउनका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिए । तीन÷चार दिनभित्रै सुर्खेतमा रहेका छाउगोठ भत्काइने उनले बताए । ‘स्थानीयको सहभागितामा नै छाउगोठ भत्काउन लागेको हो । अहिलेसम्म कसैबाट अवरोध आएको छैन । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट पनि छाउगोठ राख्दिन वा छाउगोठ बस्न दिने छैन भन्ने व्यहोराको रबर स्ट्याम्प प्रतिबद्धतामा लिखित हस्ताक्षर गराउने कार्य प्रारम्भ भएको छ ।’ गृह मन्त्रालयका अनुसार सुर्खेतमा अहिलेसम्म तीन सय छाउगोठ भत्काइसकिएको छ ।
छाउगोठमा बस्दा महिलाको मृत्यु हुन थालेपछि संघीय सरकारले सबै जिल्ला प्रशासन कार्यालयलाई छाउगोठ भत्काउन निर्देशन दिएको छ । सोही निर्देशन अनुसार सुर्खेतमा पनि केही दिनदेखि प्रहरीसहितको टोली छाउगोठ भत्काउन गाउँ–गाउँमा पुगेको छ ।

सुर्खेतसहित कर्णालीका सल्यानमा २, जाजरकोटमा १, दैलेखमा १७ वटा छाउगोठ भत्काइएको गृहसचिव राईले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा नौं सय ४९ र बझाङमा ७ वटा छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काउनका लागि जिल्लाका जनप्रतिनिधि, संघ–संस्था, सञ्चारकर्मी, मानवअधिकारवादी, धार्मिक अगुवा, शिक्षक, विद्यार्थी, युवा क्लब र स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको छ । गृहसचिव राईका अनुसार डोल्पा, रूकुम पश्चिम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, डोल्पामा छाउगोठ छैनन् । विगतमा कानुनी कारबाहीको व्यवस्था नभएकाले रजश्वला तथा सुत्केरी भएकी महिलाका लागि छाउगोठ बनाउने तथा छाउगोठमा जान बाध्य पार्नेलाई कारबाही गर्न नसकिएको उल्लेख गर्दै गृहसचिव राइले नेपालमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ कार्यान्वयनमा आएपछि कानुनी अभाव सकिएको र त्यस्तो अपराध गर्नेहरूलाई कारबाही थालिएको बताए ।महिला तथा सामाजिक समितिले छाउपडी कुप्रथालाई निर्मूल पार्नका लागि गम्भीरताका साथ काम गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति निरुदेवी पालले छाउगोठमा बस्न लगाउने अभिभावक र बस्नेलाई कारबाही गर्न निर्देशन दिइन् । उनले भनिन् ‘जसको घरमा यो प्रथा प्रचलनमा रहेको पाइन्छ त्यस्तो घरका अभिभावक र छाउगोठमा बस्ने महिलालाई समेत अनिवार्य रूपमा कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन र कडा कारबाहीको व्यवस्था मिलाउन समिति, गृह मन्त्रालय तथा समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गर्दछ ।’