कर्णालीमा नेकपाको स्पष्ट बहुमत

सुर्खेत : आगामी माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि आइतवार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कांग्रेसले मनोनयन दर्ता गराए पनि कर्णालीमा नेकपाको स्पष्ट बहुमत छ । राष्ट्रियसभाको निर्वाचनमा यहाँका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूले मतदान गर्नेछन् । जसमा नेकपाको स्पष्ट बहुमत छ ।

यो निर्वाचनका लागि कर्णाली जम्मा एक सय ९८ मतदाता रहेका छन् । जसमध्ये नेपाली कांग्रेसको मत ४२ मात्र छ भने एक मत राष्ट्रिय प्रजातन्त्र पार्टीको छ । यसबाहेक सबै मत नेकपाको पक्षमा छ । प्रदेशसभामा रहेका ४० जना सांसदमध्ये ३३ जना नेकपाका छन् । एक जना सांसद राप्रपाको हुँदा कांग्रेसका सांसद जम्मा ६ जना छन् । त्यस्तै प्रदेशभरका ७९ वटा स्थानीय तहका एक सय ५८ जना प्रमुख÷उप–प्रमुखमध्ये एक सय १६ नेकपाबाट विजयी भएका हुन् । प्रदेशसभामा ६ जना सांसद भएको नेपाली कांग्रेसको स्थानीय तहका प्रमुख र उप–प्रमुख गरेर ४२ जनासहित जम्मा ४८ मत छ । जुन नेकपाको तुलनामा निक्कै कम हो । यसरी संख्यालाई हेर्ने हो भने कर्णालीमा नेकपाको स्पष्ट बहुमत देखिन्छ ।

दुई पदमा चार जनाको उम्मेदवारी

कर्णालीबाट राष्ट्रियसभा सदस्यको दुई जनाको पदमा चार जनाको उम्मेदवारी परेको छ । आइतवार जिल्ला निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा नेकपाको तर्फबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसी तथा नेपाली कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतको मनोनयन दर्ता गराएका हुन् । यसअघि कांग्रेसले सावित्री पौडेललाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनले उम्मेदवार हुन अस्वीकार गरेपछि बस्नेतलाई अघि सारिएको जनाइएको छ ।

कांग्रेसका उम्मेदवार डिल्लीराज पाठकको प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी रहेका छन् भने समर्थकमा गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन छन् । त्यस्तै कांग्रेसकै उम्मेदवार गणेशकुमारी बस्नेतको प्रस्तावकमा बराहताल गाउँपालिकाकी उपाध्यक्ष शोमाकुमारी शर्मा रहेकी छन् भने समर्थकमा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा रहेका छन् । नेपाली कांग्रेसका दुवै उम्मेदवार सुर्खेत जिल्लाकै हुन् । नेकपाका उम्मेदवार जाजरकोटका मायाप्रसाद शर्माको प्रस्तावकमा कर्णाली प्रदेश सभा सांसद करवीर शाही र समर्थकमा ठम्मर विष्ट रहेका छन् । त्यस्तै सुर्खेतकी सुमित्रा बिसीको प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य देवी वली रहेकी छन् भने समर्थकमा वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकाल रहेकी छन् ।

यस्तो छ मतभार

कर्णाली प्रदेशमा जम्मा मतदाताको संख्या अनुसार प्रदेशसभाको मतभार १८ र स्थानीय तहाको मतभार ४८ रहेको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशसभाका ४० जना सांसद र स्थानीय तहका प्रमुख र उप–प्रमुख एक सय ५८ गरी जम्मा एक सय ९८ मतदाता छन् । आगामी माघ ९ गते हुने निर्वाचनको लागि मनोनयत दर्ता भए पनि चुनाव चिन्ह भने केही दिनमा सार्वजनिक गर्ने आचार्यले बताए । मतगणना समेत निर्वाचनकै दिन हुने जानकारी आचार्यले दिए ।

उम्मेदवारका आ–आफ्नै दावी

मनोनयन दर्तापछि बोल्दै नेकपाका उम्मेदवार सुमित्रा बिसीले राष्ट्रियसभाको निर्वाचनमा नेकपाको जीत सुनिश्चित भएको बताइन् । पार्टीको पुरानो कार्यकर्ता भए पनि पार्टीले अवसर दिएको भन्दै आफू निर्वाचित भएपछि समग्रमा कर्णालीको विकासको एजेण्डालाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता थियो । त्यस्तै मायाप्रसाद शर्माले समेत राष्ट्रियसभामा आफूहरूको जीत सुनिश्चित भएको बताए । उनले पार्टीले दिएको जिम्मेवारीलाई बहन गरी कर्णालीको विकासका लागि काम गर्ने बताए ।
उता नेपाली कांग्रेसका उम्मेदवार गणेशकुमारी बस्नेतले राजनीतिमा हारजित भन्दा विकासे एजेण्डा ठूलो भएको बताइन् । उनले राजनीतिमा जीत र हार सुनिश्चित भएको भन्दै आफू निर्वाचित भएपछि जनताको हितमा काम गर्ने बताइन् । संख्याको हिसाबमा नेपाली कांग्रेस अल्पमतमा परे पनि भोटको लागि सबैलाई आग्रह गर्ने उनले बताइन् । डिल्लीराज पाठकले समेत भोटको लागि सबैलाई अपिल गर्दै निर्वाचित भएपछि कर्णाली पहिलो प्राथमितामा राखेर काम गर्ने बताए ।