अझै हिमपातको सम्भावना
सुर्खेत : यो वर्ष कर्णालीमा विगतको भन्दा चाँडै हिमपात भयो । अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडि नै हिमपात सुरु भएको हो । हिमपातका कारण जनजीवन प्रभावित भए पनि कृषि उत्पादनका लागि पनि यसलाई फाइदा पु¥याउनेछ । उच्च हिमाली भेगका कृषकहरू साविकको भन्दा छिटो हिमपात भएका कारण खुशी छन् । विशेषगरी अहिले खेतबारीमा लगाएको जौ, गहुँ बाली उम्रिने समय भएको र यहीबेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ । अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौ, गहुँ राम्रैसँग उम्रिने तथा उम्रेको बाली नष्ट गर्ने फट्याँग्रालगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषि विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाले जानकारी दिए । यो बेला भएको वर्षाले फागुन–चैत्रसम्म माटोको चिस्यान समेत कायमै राख्ने भएकाले पनि हिउँदे बाली तथा फलफूलको उत्पादन राम्रो हुने कृषि विकास कार्यालयले जनाएको छ ।
चाँडै हिमपात भए पनि कर्णालीमा अझै कम्तीमा दुई पटक भारी हिमपात हुने जनाइएको छ । सुर्खेतस्थित जल तथा मौसम विज्ञान कार्यालयले माघ महिनासम्मको अवधिमा कम्तीमा दुई पटक भारी हिमपात हुने जनाएको छ । कार्यालय प्रमुख विनोद पराजुलीले जनवरी ९ को आसपास र जनवरी २१ को आसपासतिर कर्णालीमा फेरि भारी हिमपात हुने संकेत देखिएको बताए । उनले विगत वर्षको तुलनामा यस वर्ष छिट्टै हिमपात भएको जनाए । साथै हिउँदको डेढ महिना अझै बाँकी रहेकोले कम्तीमा दुई पटक भारी हिमपात हुने उनको भनाइ छ । बिहीवार र शुक्रवार कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, दैलेख र सुर्खेतमा हिउँ परेको छ । कार्यालय प्रमुख पराजुलीका अनुसार यस पटक कम्तीमा डेढ फिटजतिको हिउँ परेको छ ।
पराजुलीका अनुसार मुलुकका अन्य भागमध्ये कर्णाली प्रदेशमा सबैभन्दा बढी हिउँ पर्ने गर्दछ । कर्णालीमा वर्षेनी हिउँ पर्ने क्रम बढ्दो छ । साविकका कर्णाली अञ्चलका पाँच जिल्लामा अत्याधिक हिमपात हुने र बाँकी पाँच जिल्लामा पानी बढी पर्ने हुँदा हिउँदमा यहाँको दैनिकी असाध्यै कष्टकर हुने गरेको छ । हावापानी कार्यालय सुर्खेतले जुम्ला, हुम्ला, मुगु र डोल्पालाई अत्याधिक हिमपात हुने जिल्लामा राखेको छ । हिउँदमा यहाँको तापक्रम माइनसमा झर्ने र हिउँ कम्तीमा दुई चार फिट बढी पर्ने गरेको कार्यालय प्रमुख विनोद पराजुलीले बताए ।
हुम्लामा यस वर्ष मात्रै पाँच पटक हिमपात परेको छ । जुम्लामा दोस्रो पटक हिमपात परेको छ भने कालीकोटमा १७ वर्षपछिकै सबैभन्दा धेरै हिमपात भएको छ । डोल्पा र मुगुमा पनि धेरै हिउँ परेको छ । दैलेख र सुर्खेतको उत्तरी क्षेत्रमा पनि यस वर्षको पहिलो पटक हिमपात भएको छ । वर्षेनी हिमपात हुने क्रम बढेका कारण हिउँद लाग्नासाथ कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकहरू शतर्कसमेत हुने गरेका छन् । विगतका वर्षहरू झै हिउँ परेपनि धेरै लामो समयसम्म नटिक्ने प्रवृत्ति रहेको कार्यालय प्रमुख पराजुलीले बताए । जलवायु परिवर्तनको असरका कारण यसो हुने गएको पराजुलीको ठम्याई छ । विगतमा हिउँ परेपछि कम्तीमा एक सातासम्म नपग्लने गरेको तर आजकल हिउँ पर्नासाथ पग्लिनुले हिउँ टिक्न नसकेको देखिएको उनले जनाए ।
प्रकाशित मितिः २१ पुष २०७६, सोमबार ०९:०४
साझा बिसौनी ।