राष्ट्रियसभा निर्वाचन

आज उम्मेदवारी दर्ता

कर्णालीमा एक सय ९८ मतदाता


सुर्खेत : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतवार) उम्मेदवारी दर्ता हुँदैछ । रिक्त १८ पदमा आगामी माघ ९ गते निर्वाचन हुँदैछ । त्यसका लागि आइतवार सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनुपर्छ ।
आयोगका अनुसार आइतवार बिहान १० बजेदेखि दिउँसो तीनबजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । कर्णाली प्रदेशका लागि सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कर्णालीका उम्मेदवारले त्यहाँ पुगेर उम्मेदवारी मनोनयन दर्ता गर्नेछन् ।
कर्णाली प्रदेशवाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई जना सांसदहरूको दुई वर्षे कार्यकाल समाप्त भएपछि रिक्त रहेको उक्त पदका लागि कर्णाली प्रदेशसभाका सदस्य र कर्णाली प्रदेशभित्रका ७९ वटा स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । कर्णालीमा ४० जना प्रदेश सांसद र एक सय ५८ जना स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी एक सय ९८ जना मतदाता रहेका छन् । दुई सीटका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट मायाप्रसाद शर्मा र सुमित्रा बिसी उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसले डिल्लीराम पाठक र सावित्री पौडेललाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारले १० हजार रूपैयाँ धरौटी बुझाउनुपर्नेछ । महिला, दलित र अल्पसंख्यकलाई भने आयोगले ५० प्रतिशत छुट दिने भएको छ । तर आर्थिक रूपमा विपन्न भन्ने प्रमाणित गरेको
काजगात चाहिन्छ । मनोनयन दर्ताका लागि नागरिकताको फोटोकपी, मतदाता नामावलीको उतार र धरौटी जम्मा गरेको भौचर वा नगदी रसिद पेश गर्नुपर्ने हुन्छ ।
दलका उम्मेदवारको हकमा
दलले दिएको आधिकारिक–पत्र पनि समावेश गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेको भए फिर्ता लिएको आयोगबाट प्राप्त पत्र चाहिन्छ भने लाभको पदमा भए राजीनामा दिनुपर्ने हुन्छ ।

प्रकाशित मितिः   २० पुष २०७६, आईतवार ०९:३६