पर्यटन प्रवद्र्धन गर्न दौड प्रतियोगिता

कर्णालीको पर्यटन विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ ः मन्त्री बुढा

सुर्खेत : पर्यटन प्रवद्र्धनका लागि सुर्खेतमा दौड प्रतियोगिता गरिएको छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सघाउन वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ ले दौड प्रतियोगिताको आयोजना गरेको हो । वडामा रहेको ऐतिहासिक काँक्रेविहारदेखि अधेरी गुफासम्म दौड प्रतियोगिता सञ्चालन गरिएको हो । ७ किलोमिटर दूरीको उक्त प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उनले कर्णालीको पर्यटन विकासका लागि प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको बताए । उनले ‘यसपालि घुमौं कर्णाली’ भन्ने नारालाई सार्थक पार्नका लागि प्रदेशमा रहेका सबै पर्यटकीय स्थलहरूमा पर्यटकहरूको आकर्षित गर्नुपर्ने धारणा राखे । साथै मन्त्री बुढाले सबै मिलेर पर्यटन प्रवद्र्धनको काम गर्नुपर्नेमा जोड दिए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाभित्रका पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न आफूहरू तयार रहेको बताए । उनले कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूको रूपमा रहेको काँक्रेविहार लगायतका स्थलहरूमा भौतिक संरचना निर्माणमा नगरपालिकाबाट सहयोग गर्न तयार भएको बताएका हुन् । पर्यटकीय स्थलहरूको अवलोकन तथा भ्रमण वर्ष सुरु भएको अवस्थामा नगरपालिकाबाट सहयोगको लागी उनले प्रतिबद्धता जनाएका हुन् ।

यस्तै वीरेन्द्रनगर नगरपालिबाट वडा नं. ९ का अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका पर्यटकीय स्थलहरूको प्रचार गर्नका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, ‘भ्रमण वर्ष–२०२० मा काँक्रेविहार क्षेत्रमा पर्यटकको आँगमन बढाउन वीरेन्द्रनगरको वडा नं. ९ ले शनिवार काँक्रेविहारदेखि अधेरी गुफासम्मको सात किलोमिटरमा दौड प्रतियोगिता सञ्चालन गरेका हौं ।’

अधेरी गुफा करिब चार वर्ष अघि पत्ता लागेको हो । उक्त गुफामा प्राचीन मूर्ति, शिवलिङ्ग लगायत कुदिएको स्थानीयले बताएका छन् । दौड प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका थिए । जसमध्ये डिलबहादुर बुढाले प्रथम स्थान हासिल गरेका छन् । यस्तै धिरेन्द्र भण्डारी दोस्रो र अमृत बुढाले तृतीय स्थान हासिल गरेका थिए । विजयी तीनै जनालाई मन्त्री नन्दसिंह बुढा, नगर प्रमुख देवकुमार सुवेदी तथा कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले संयुक्त रूपमा पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए ।

प्रकाशित मितिः   २० पुष २०७६, आईतवार ०९:३३