नेकपाले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवार

कर्णालीबाट शर्मा र बिसी

काडमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रवार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले आउँदो माघ ९ गते राष्ट्रिय सभा सदस्य संख्याको एक तिहाइ सदस्यका लागि हुन लागेको चुनावका लागि उम्मेदवार चयन गरेको हो । बैठकले १६ जनाको नाम टुङ्गो लगाएको छ । राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसीलाई उम्मेदवार बनाइएको छ । महिलाबाट सुमित्रा र अन्यबाट शर्मालाई उम्मेदवार बनाइएको हो । शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सचिव हुन् । बिसी अखिल नेपाल महिला संघको पूर्व केन्द्रीय सचिव हुन् ।

यस्तै प्रदेश १ मा नेकपाले महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ । प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । नेकपाले प्रदेश २ मा राष्ट्रिय जनता पार्टीसँग तालमेलको सहमति गरिसकेको छ । प्रदेश २ मा राजपालाई २ सीट र आफूलाई २ सीट राखेर नेकपाले राजपासँग तालमेल गरेको हो । नेकपाले प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ । श्रेष्ठ नेकपाका सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता हुन । त्यस्तै महिलामा भने भगवती न्यौपानेलाई उम्मेदवार बनाइएको छ । प्रदशे ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकतर्फ जगतप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्देवार चयन गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउँदा अन्यबाट तारामान स्वाँरको नाम परेको छ ।

 

आइतवार राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने छ । प्रदेश २ बाहेकका प्रदेशमा नेकपाको स्पष्ट बहुमत रहेकाले राष्ट्रिय सभा चुनावका लागि छानिएका उम्मेदवारको जित निश्चित छ । प्रदेश २ मा पनि राजपासँग सिट बाँडफाँड गरेर तालमेल गरिएकाले नेकपाले चयन गरेका उम्मेदवार सबैले जित निकाल्ने निश्चित जस्तै छ । राष्ट्रिय सभामा रिक्त भएका १९ सदस्यमध्ये एक जना राष्ट्रपतिले मनोनयन गर्ने भएकाले बाँकी १८ सिटका लागि आइतवार मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मितिः   १९ पुष २०७६, शनिबार ०९:२१