युवा परिषदमा बस्नेत

tekendraसाझा बिसौनी संवाददाता
सुर्खेत, ८ साउन ।
राष्ट्रिय युवा परिषद् सुर्खेतको अध्यक्षमा टेकेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बस्नेतलाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यक्षमा नियुक्त भएपछि बस्नेतले आफूमा नयाँ जिम्मेवारी थपिएको र यसलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिए । जिल्लामा रहेका युवाहरूलाई रचनात्मक, सिर्जनात्मक र आत्मनिर्भर बनाउने बाटोमा प्रेरित गर्न आफ्नो भूमिका रहने भन्दै बस्नेतले आफू स्वयम् युवा भएकाले पनि युवाको क्षेत्रमा काम गर्ने अवसर पाउँदा गर्व महसुस भएको बताए । ‘मैले हिजोका दिनमा पनि लामो समय युवाहरूकै माझमा बिताएको छु र आज पनि युवाहरूबीचमा नै छु’ बस्नेतले साझा बिसौनीसँग भने, ‘त्यसैले विद्यार्थी राजनीतिमा लामो समय बिताएर पार्टी राजनीतिमा आइसक्दा पनि मैले युवाहरूकै लागि काम गर्ने जुन जिम्मेवारी पाएको छु, मेरा लागि यो एउटा अवसर हो र यो अवसरलाई म सक्दो सदुपयोग गर्ने प्रयास गर्नेछु ।’
युवाहरूलाई लागूऔषध दुव्र्यसनीबाट मुक्त गर्न, शिक्षा र रोजगारीमा प्रेरित गर्न तथा मुलुकको समृद्धिमा भूमिका निर्वाह गर्नका लागि परिषद्ले काम गर्ने बस्नेतले बताए । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन, विदेश गएकालाई स्वदेशमा फर्काएर राष्ट्र निर्माणको अभियानमा सङ्गठित गर्नु पनि यसको उद्देश्य भएको उनले जनाए । ‘युवाहरूलाई सामाजिक र उत्पादनशील क्षेत्रमा जोड्ने काम परिषद्ले गर्नेछ’ बस्नेतले भने, ‘नागरिक समाजका युवालाई सङ्गठित र एकीकृत ढङ्गबाट राष्ट्र निर्माण परिचालन गर्ने कडीको रूपमा समेत परिषद्को महŒवपूर्ण भूमिका रहन्छ ।’
लामो समय विद्यार्थी राजनीतिमा सक्रिय भएर पार्टी राजनीतिमा आएका बस्नेत नेकपा एमाले सुर्खेतका युवा नेता हुन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय कमिटीका पूर्व सचिवालय सदस्य बस्नेत नेकपा एमाले सुर्खेतका पूर्वप्रचार विभाग प्रमुख समेत हुन् ।

प्रकाशित मितिः   ९ श्रावण २०७३, आईतवार ०४:४८