नक्कली डाक्टरपछि नक्कली एनजीओ

punamपुनम बि.सी-
वीरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भएकी कमला वि.क. (नाम परिवर्तन) एक होटलमा भेटिइन् । उमेरले लगभग ३५ बसन्त पार गरेकी उनी होटल छेउमै चुरोट सल्काउँदै थिइन् । चुरोटमा उनलाई साथ दिइरहेकी थिइन् सीता सुनार (नाम परिवर्तन) । सकिनै लागेको बिजुली चुरोटलाई हातले निभाउँदै, गोजीमा राख्दै सीता पुनः होटलको सभाकक्षतिर लागिन् । स्रोतका अनुसार एक गैरसरकारी संस्थाद्वारा दलित महिला उत्थानका निमित्त एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पचास–साठी जना जति महिला उपस्थित भएका थिए । कार्यक्रमको समाप्तिपछि सहभागीहरूमा उपलब्धीबारे प्रश्न गर्दा, ‘चुरोट, खैनी तथा रक्सी सेवन गर्नु हुँदैैन, बचत गर्ने बानीको विकास गर्नुपर्छ’ बाहेक खासै प्रभावकारी उत्तर उनीहरूबाट पाउन सकिएन । उनीहरूका उत्तर प्राथमिक शिक्षा अध्ययन गरिरहेका बालबालिकाहरूले दिएको उत्तर झैं देखिन्थ्यो ।
वीरेन्द्रनगर नगरपालिका–१८, गीता देवकोटा (नाम परिवर्तन) को घरमा एक निमन्त्रणा आयो ‘कार्यक्रममा उपस्थित सम्बन्धमा’ । पत्रलाई पूरा नपढी उनले पुछारमा नियाल्न थालिन् । पुछारमा स्पष्ट रूपमा लेखिएको थियो, ‘सहभागीलाई भत्ता र खानाको व्यवस्था पनि गरिएको छ ।’ त्यसपछि मिति, स्थान र समयलाई कन्ठ पारिन् । कार्यक्रमको उद्देश्य तथा आयोजकको बारेमा उनलाई चासो नै भएन । परिवारमा पनि शानका साथ भन्ने गर्थिन् ‘अस्तीको कार्यक्रममा नास्ता र पाँच सय रूपैयाँ दिएका थिए, यसमा कति दिन्छन् ?’ सो कार्यक्रममा उनि लगायत अन्य सबै सहभागीको उपस्थिति समयमै भएको थियो । उनीहरू अन्तसम्म कुनै झर्को नमानी बसेका थिए, सुनेका थिए, बोलेका थिए, रमाएका थिए । सिकाइ ? उपलब्धी ?
सहभागीलाई भत्ताको व्यवस्था नसके कार्यक्रममा सहभागी कम रहन्छन् । वर्तमान समय सहभागीहरू सिकौँ तथा सिकाउ भन्दा पनि भत्तातिर ध्यान लगाउने गर्छन् । ठूला–ठूला आयोजना जिल्लामा चलाइरहेका गैरसरकारी संस्थाका कारण पनि यो प्रचलन चलेको बताउँछन् वीरेन्द्रनगर–१४ मा कार्यालय रहेको राईजिङ्ग युवा क्लबका अध्यक्ष भुवन बिसी । भत्ता परम्पराले कार्यक्रमको उपलब्धीमा असर परेको छ । मानिसहरू कार्यक्रमको विषय तथा उपलब्धी भन्दा भत्तामा ध्यान लगाउन थालिसकेको उनको भनाइ छ ।
माथि उल्लेखित उदाहरणहरूले स्पष्ट पार्दैछ, केही गैरसरकारी संस्थाद्वारा दिइने भत्ताको नकारात्मक असर । मानिसहरूमा सिकाइ सम्बन्धी धारणालाई यो परम्पराले धमिलो पार्दैछ । सुर्खेतमा मात्र नभइकन नेपालमा नै यो परम्परा मौलाइरहेको छ । ज्ञान आर्जनका लागि तिर्नुपर्ने भन्दा पनि यहाँ ज्ञानसँगै लिन पाइदैंछ । भनिन्छ, ‘कुनै पनि सल्लाह सुझाव होस् या ज्ञान निःशुल्क रूपमा बाढिएमा त्यसको औचित्य रहँदैन, प्रभावकारितामा कमी देखापर्छ ।’ कार्यक्रमहरूमा भत्ता वितरणका कारण लक्षित वर्गको पूर्ण सहभागितामा कमी पक्कै आएको छ । वा, भत्ताको कारण पनि लक्षित वर्गको विषयवस्तुमा उल्लेखित ध्यानाकर्षणमा प्रश्नवाचक चिन्ह लागेको छ ।
यस विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको एउटा नियम चित्त बुझ्यो । ट्रान्सपरेन्सीको कुनै पनि कार्यक्रम कुनै पनि सहभागीलाई भत्ता भनी वितरण गरिदैंन । यदि कुनै कार्यक्रममा जिल्ला–जिल्लामा प्रतिनिधिबीच कार्यक्रम गर्नु परेमा टाढा जिल्लाबाट आएकाहरूलाई सीमित बस भाडा र खाना खर्च उपलब्ध गराइन्छ । प्लेनबाट आएको भएमा उक्त टिकटलाई मान्यता दिइदैन । सार्वजनिक यातायातको भाडादर हेरेर मात्र सहभागीलाई उनीहरूको खर्च त दिइन्छ तर छुट्टै भत्ता भन्ने व्यवस्था गरिएको हँुदैन । अर्को नियम ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाललाई कहीँ कतै कुनै कार्यक्रममा सम्मान स्वरूप वा स्वागत स्वरूप केही जिन्सी सामान प्रदान गरिन्छ भने, पहिले त उनीहरूले त्यो सामान स्वीकार
गर्दैनन् । दोस्रो यदि स्वीकार्य भएमा त्यो व्यक्तिगत नभइकन संस्थाको नाममा जिन्सी शाखामा सुरक्षित रहने परम्परा देख्दा पारदर्शिताको अर्को पाटोको रूपमा लाग्यो । जस्तै, पदाधिकारी काम विशेष कहीं गाउँमा गएका छन् भने त्यहाँका नागरिक कसैले उनीहरूलाई स्वैच्छाले कुनै ‘सम्झनाको चिनो’को रूपमा केही दिन्छ भने त्यो पदाधिकारीको सम्पत्ति नभएर संस्थाको अधिनमा रहने गरी संस्थाको जिन्सी शाखामा सुरक्षित रहने भन्ने नियम पनि ध्यानाकर्षणयोग्य रहेको छ ।
वर्तमान समय गैरसरकारी संस्थाहरू कार्यक्रममा सहभागीहरूलाई प्रदान गरिने भत्ताको कारण पनि नागरिकमाझ बद्नाम भइरहेका छन् । संस्थाहरूलाई कार्यक्रमको प्रभावकारिता सहभागिताको बुझाइ तथा उसमा परिवर्तनमा नभइ सहभागीहरूको संख्याको आधारमा कागजी भएको धारणा व्यक्त गर्छन् भेरीगंगा नगरपालिका–३ का सन्तोष आले मगर । उनका अनुसार कार्यक्रमको फोटो तथा भिडियो, उपस्थित रजिस्टर अनि एक दुई जनाले केही बोल्यो अरुले सुन्यो, सकियो कार्यक्रम, नास्ता तथा खाना भए खायो, भत्ता भए लियो, तर प्रभावकारिताको बारेमा कमै मात्र गैरसरकारी संस्थाले ध्यान दिन्छन् । स्थानीय पत्रपत्रिकामा पदाधिकारीहरू पनि गैरसरकारी संस्थाको मिल्ने साथी भएका छन् । कार्यक्रमको भोलिपल्टै समाचार आउँछ, फनालो संस्थाद्वारा यो कार्यक्रम सम्पन्न गरियो । मगरका अनुसार अनि त्यही पत्रिकालाई आफ्नो प्रमाणको रूपमा गैरसरकारी संस्थामा फाइलिङ्ग गर्ने गरिन्छ ।
नागरिकहरूमा छाइरहेको यो वितृष्णाको भाव जायज छ । केही गैरसरकारी संस्थाका काम काजहरूका कारण पनि आज सारा नेपालमा गैरसरकारी संस्था बद्नाम हुने स्थानमा रहेका छन् । समाज छोराछोरीलाई गैरसरकारी संस्थामा जागिर गरेको हेर्न चाहन्छ । सेवाको भावले होइन, आर्थिक
रूपमा । अहिले कुनै व्यवसायको थालनी गर्नु र कुनै एउटा गैरसरकारी संस्था खोल्नुलाई आर्थिक रूपमा समान मान्दैछ हाम्रो समाज । गैरसरकारी संस्थालाई कमाइ खाने भाँडोको रूपमा बनाउन थालिसकिएको छ । जसको प्रत्यक्ष उदाहरण केही महिना पहिलेको कर्णालीवासीको आन्दोलन पनि
हो । उनीहरूको कर्णालीको दुःख–पीडालाई बेचेर कमाइ खाने भाडो बनाएको आरोप लगाउँदै गैरसरकारी संस्थाहरूविरुद्ध कर्णालीमा आन्दोलन सुरु गरेका पनि थिए ।
राज्यले पनि ठूला खाले नक्कली गैरसरकारी संस्थाहरूमाथि छानविन गर्ने भनी जनाएको थियो । विभिन्न सञ्चार माध्यमहरूमा छाएका ‘नक्कली डाक्टरपछि नक्कली एनजीओको पालो’ भन्ने समाचारले जनता आशाको स्वास फेरिरहेका छन् । सरकार परिवर्तनको समयसँगै के यस विषयमा महŒवपूर्ण प्रभावकारिता रहला ?

प्रकाशित मितिः   १६ श्रावण २०७३, आईतवार ०७:०५