हिमपातले हवाई सेवा अवरुद्ध

सुर्खेत : लगातारको हिमपातका कारण कर्णालीका हिमाली जिल्लाहरूमा हवाई सेवा अवरुद्ध भएको छ । बिहीवारदेखि वर्षातसँगै लगातार हिउँ परिरहेको छ । हिमपात हुन थालेपछि चिसोले जनजीवन कष्टकर बनेको छ भने सञ्चार सेवासहित हवाई सेवासमेत अवरुद्ध भएको छ । कालिकोट, हुम्ला, मुगु, जुम्ला र डोल्पामा हिमपात भइरहेको छ । जसले गर्दा ती जिल्लाहरूमा बिहीवारदेखि हवाई सेवा नियमित सञ्चालन हुन सकेको छैन ।

यो वर्ष मसिंर २६ गतेदेखि २७ गतेसम्म दुई दिन लगातार हिमपात हुँदा एक हप्तासम्म जनजीवन कष्टकर भएको थियो । दोस्रो पटक पुनः बिहीवार हिमपात हुन थालेपछि चिसोले जनजीवन कष्टकर हुनुका साथै नेपाल टेलिकमको मोबाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । हिमपातले नेपाल टेलिकमको जुम्ला जिल्लाको डाँफे लेखमा रहेको टावरमा समस्या उत्पन्न भएर बिहीवार रातिबाट सञ्चार सेवा अवरुद्ध भएको टेलिकम मुगु शाखाले जनाएको छ । टेलिफोन, मोबाइल र इन्टरनेट सेवा नहुँदा जिल्लाका सरकारी कार्यालय, वित्तीय संस्थाबाट प्रवाह हुने सबैखाले सेवा अवरुद्ध हुँदा सेवाग्राही प्रभावित भएको छ भने हिमपात हुन थालेपछि हवाई, सडक यातयात अवरुद्ध भएको छ ।

चिसोले बालबालिका, बिरामी, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडाबाख्रासहित अन्य पशुचौपायालाई बढी समस्या भएकोे छायाँनाथ रारा नगरपालिका ४ का नन्द रोकायाले बताए । यो वर्ष समयमै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरू आशावादी छन् । अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही समयमा हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ । सुख्खा जमिनमा लगाएको उम्रेको बाली नष्ट गर्ने फट्याँग्रालगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषि विकास कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मितिः   १९ पुष २०७६, शनिबार ०८:५५