वामदेवले मागे प्रधानमन्त्री पद
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमले बिहीवार एउटा प्रस्ताव गरे । राष्ट्रिय सभाका उम्मेदवार र प्रतिनिधि सभाका सभामुखका उम्मेदवार टुङ्गो गर्न बसेको सचिवालय बैठकमा वामदेवले राखेको प्रस्ताव थियो, ‘संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने ढोका खोलिदिनू ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बसेको नेकपा सचिवालय बैठक वामदेवको यही प्रस्तावका कारण स्थगित भएको थियो । दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वामदेवलाई राष्ट्रिय सभामा लैजान तयार थिए तर विनाशर्त । अध्यक्षद्वयले राष्ट्रियसभामा पठाउन वामदेव र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १६ जनाको नाम पनि प्रस्ताव गरिसकेका थिए । तर वामदेवले संविधान संशोधन गरेर आफूलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिने भए मात्रै राष्ट्रिय सभामा जाने अडान लिएपछि केहीबेर विवाद भएको थियो ।
वामदेवको प्रस्तावले अनिर्णित भएको सचिवालय बैठक शुक्रवारमा फेरि बस्यो । शुक्रवार बसेको बैठकमा पनि वामदेवको संविधान संशोधन प्रस्तावलाई लिएर लामो छलफल भयो । उक्त छलफलका क्रममा अध्यक्षद्वयले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने संवैधानिक व्यवस्थालाई फेरबदल गर्न नसकिने बताएका थिए । स्रोतका अनुसार दुवै अध्यक्षले देशमा लामो समय अस्थिर सरकार रहेको अवस्थामा यो पटकको जनादेश पाँच वर्षसम्म स्थिर सरकारको पक्षमा रहेकाले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नसकिने मत राखेका थिए ।
दुवै अध्यक्षले प्रधानमन्त्री बन्ने आकांक्षामा पूर्णविराम लगाइदिएपछि वामदेवले राष्ट्रिय सभामा जान अस्वीकार गरेका छन् । बर्दियामा कांग्रेस नेता सञ्जय गौतमसँग आमनिर्वाचनमा हार ब्यहोरेपछि वामदेवको प्रधानमन्त्री बन्ने आकांक्षामा ठेस लागेको थियो । बर्दियामा हारेपछि उनले डोल्पा, बाँके, काठमाडौं–७ र कास्की–२ बाट उपनिर्वाचन लडेर प्रतिनिधिसभाको यात्रा तय गर्न खोजेका थिए । पछिल्लो पटक उनले रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ बाट उठ्ने प्रयास गरेका थिए । तर अन्तिम समयमा उनी आफैँले पराजित हुने निचोडसहित कास्कीको मैदानमा नउत्रिने भन्दै विज्ञप्ती नै निकालेका थिए । चुनाव हारेपछि राजनीतिक कर्णरमा परेको महुसस गरेका उनले नेकपाको शक्तिमा पुनरागमनको कोशिश गरिरहेका छन् । उनलाई नेकपाले संगठन विभाग प्रमुख बनाइसकेको छ । अब उनलाई उपाध्यक्ष बनाउनका लागि नेकपा स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पनि पास गरिसकेको छ ।
संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्ने व्यवस्था गरेपछि मात्र त्यहाँ जाने अडान दोहो¥याएपछि अध्यक्षद्वयले गौतमविनाका अन्य नेताको नाममा सहमति गरेका हुन् । ‘राष्ट्रियसभामा म त्यसबेला जान्छु । जब नेपालको संविधान संशोधन गरेर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री हुन पाउँछन्’, गौतमले भने, ‘म प्रधानमन्त्री हुनुपर्छ । नत्र म त्यस्तो संस्थामा सदस्य हुन्न । म जहाँ रहेपछि कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु ।’
गौतमको अडान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यबीच समानता हुनुपर्ने हो । ‘यो असमानता हटाउनुपर्छ । म शक्तिशाली संस्थामा रहन चाहन्छु । मेरो स्वभाव पनि त्यस्तै खालको छ’, गौतमले थप भने, ‘म प्रधानमन्त्री बन्नुपर्छ भन्ने कुरा त गएकै निर्वाचनमा भनिएको हो । २०७० को निर्वाचनमा प्यूठान र बर्दियामा भावी प्रधानमन्त्री भनेर लगिएको हो ।’ गौतमले सांसद र मन्त्री हुन राष्ट्रियसभामा जानु भन्दा बाहिर बसेरै पार्टी संगठनको काम गर्ने बताएका छन् । आफ्नै अडानका कारण राष्ट्रियसभामा नगएका गौतमले पार्टीमा भने महŒवपूर्ण जिम्मेवारी पाउँदैछन् ।
प्रकाशित मितिः १९ पुष २०७६, शनिबार ०८:५३
साझा बिसौनी ।