वर्षा र हिमपातले जनजीवन प्रभावित

सुर्खेत : वर्षा र हिमपातका कारण कर्णालीको जनजीवन प्रभावित भएको छ । बुधवारदेखि बढेको चिसोको कारण जनजीवन कष्टकर बनेको हो । बिहीवार सामान्य वर्षा भएको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ । हुम्ला, मुगु, जुम्ला र डोल्पाको उच्च भू–भागमा हिमपात सुरु भएको छ । हुम्लामा बिहानदेखि सुरु भएको हिमपातसँगै चिसो बढेपछि त्यहाँका स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको हो । चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । जुम्लामा भेडाबाख्रासहित अन्य पशुचौपायालाई समेत चिसोको संक्रमणले सताएको तातोपानी गाउँपालिकावासी मुनबहादुर कामीले बताए । हुम्लामा चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

चिसोका कारण जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको छ । मौसमी पूर्व सूचना दिन सुर्खेतको रातानाङ्ला डाँडामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडारकानुसार शनिवारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र वेशीमा वर्षाको सम्भावना रहेको छ । चिसो बढेसँगै हिमपात, वर्षा, हुस्सु र तीव्र हावाको बेगका कारण कर्णालीमा हवाई उडान समेत हुन सकेको छैन । प्रदेशका अन्य जिल्ला सुर्खेत, दैलेख, कालिकोट, सल्यान र रुकुम पश्चिममा भने सामान्य वर्षा भएको छ ।

प्रकाशित मितिः   १८ पुष २०७६, शुक्रबार ०८:५६