छाउपडी उन्मूलन गर्न सामूहिक प्रतिबता

जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनामा छाउपडी (छुई प्रथा) उन्मूलन गर्ने उद्देश्यले ‘छुई प्रथा उन्मूलन महाअभियान’ सुरु गरिएको छ । महाअभियानमा ऐक्यबद्धता जनाउँदै टुँडीखेलमा आयोजित कार्यक्रममा सरकारी कर्मचारी, सुरक्षाकर्मी, नागरिक अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतले सामूहिक प्रतिबद्धता जनाए ।

उनीहरूले हातको पञ्जामा रातो, निलो र हरियो रंग दलेर ब्यानरमा पाँच औँला तथा हत्केलाको छाप लगाएर प्रतिबद्धता जनाएका हुन् । ब्यानरको बीच भागमा ‘हामी छाउपडी मान्दैनौँ’ भन्ने मूल नारा लेखिएको छ भने वरपरको सेतो खाली भागमा सहभागीहरूले हातको छाप लगाएका हुन् । महाअभियानका क्रममा उनीहरूले नेपाली झण्डा आकारमा मानव साङ्लोसमेत बनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छाउपडी अपराध भएको भन्दै छुईलाई बढावा दिने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. शर्मिला श्रेष्ठले अभिभावक, सरसफाइ, पोषणयुक्त खानाको आवश्यकता पर्ने समयमा छाउगोठमा राख्नु स्वास्थ्यका दृष्टिले पनि अनुचित भएको बताए । छाउगोठमा राखिँदा महिलालाई शारीरिक रूपमा मात्रै नभइ मानसिक रूपमा पनि समस्या हुने उनको भनाइ छ । सरकारी वकिलको कार्यालयका निमित्त उपन्यायाधिवक्ता पूण्यप्रसाद पाठकले मुलुकी अपराध संहिता– २०७४ ले छाउपडीलाई अपराध मानेको भन्दै छाउपडी मान्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले कानुन कार्यान्वयनमा प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । उनले छाउपडी राखेको पाइए प्रहरीलाई खबर गर्न आग्रहसमेत गरे । स्थानीय छिरिङ लामाले छुई प्रथा मान्ने काम ठिक नभएको बताइन् । अभियानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालयले सचेतनासमेत दिएका थिए ।