वातावरणीय तथ्याङ्क सार्वजनिक

 बिसौनी संवाददाता
सुर्खेत, १७ चैत । 
विश्लेषणसहितको नेपालको वातावरणीय तथ्याङ्क सुर्खेतमा सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी विश्लेषणसहितको वातावरणीय तथ्याङ्क सार्वजनिक गरेको हो । 
कार्यक्रममा केन्द्रीय तथ्याङ्क विभागका निर्देशक सुशीलकुमार थापाले उक्त तथ्याङ्क काठमाडौंपछि सुर्खेतमा सार्वजनिक गरिएको जानकारी दिए । उनले सार्वजनिक गरिएको वातावरणीय तथ्याङ्कमा नेपालको विशेषगरी वातावरणीय क्षेत्रको तथ्याङ्कहरू राखिएको उल्लेख गरे । सो तथ्याङ्कमा जलवायु, पानी, वन्यजन्तु स्रोत, फोहोर मैला व्यवस्थापन, मानव बसोबासको अवस्था, नेपालको विपद् व्यवस्थापन प्रणालीलगायतका विभिन्न १० च्याप्टरहरू राखिएको जानकारी उनले दिए । 
वातावरणीय तथ्याङ्कबाट स्थानीयस्तरमा वातारणमैत्री विकास नीति र कार्यक्रम तर्जुमा गर्नका लागि सहयोग पुग्ने उनले बताए । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले नेपाल वातावरणीय रूपमा पनि जोखिममा रहेकोले यो तथ्याङ्कले वास्तविक जोखिम के कति छ भनेर जानकारी दिने बताए । उनले वातावरणीय तथ्याङ्क तथ्य र सत्यपरक भएको समेत उल्लेख गरे । निमित्त स्थानीय विकास अधिकारी शम्भुप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा मप क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्य, तथ्याङ्क कार्यालयका प्रमुख लक्ष्मण कँडेललगायतले विभिन्न सुझावहरू दिएका थिए ।
प्रकाशित मितिः   १८ चैत्र २०७२, बिहीबार ०६:४७