प्रहरी र विप्लव समूहबीच गोली हानाहान

सुर्खेत : सुर्खेतमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहबीच गोली हानाहान भएको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा बधुवार दुई पक्षबीच गोली हानाहान भएको हो । कर्णाली प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीका अनुसार विप्लव समूहको जनसत्ता प्रमुखसहितको टोली चन्दा संकलन गरिरहेको भन्ने सूचनाका आधारमा थप विवरण लिन सिभिलमा खटिएका दुईजना प्रहरीमाथि विप्लव समूहले फायर खोलेको हो ।

सिभिल प्रहरीको टोलीले पनि जवाफी फायरिङ गरेका थिए । प्रहरीले थप फोर्स मगाएपछि विप्लव समूहका कार्यकर्ता भागेको जनाइएको छ । डीआईजी जोशीले भने, ‘गोली चलाएर फरार भएका उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।’ कर्णाली प्रदेशमा पछिल्लो समय विप्लव समूहको गतिविधि बढेका छन् । गाउँपालिका अध्यक्षलाई अपहरण गर्नेदेखि वडाअध्यक्षलाई कालोमोसो दल्ने, स्थानीय सरकार तथा व्यवसायीहरूसँग चन्दा माग्ने लगायतका कार्य भइरहेको पाइएको प्रहरीले जनाएको छ । सरकारद्वारा प्रतिबन्धित उक्त समूहलाई प्रहरीले पनि विशेष निगरानी गरिरहेको छ ।