सुरुवात भव्य, पूरा होला लक्ष्य ?

सुर्खेत : निक्कै तामझामका साथ कर्णाली प्रदेशमा पनि नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ । सुर्खेतको पर्यटकीय स्थल बुलबुले उद्यानमा आयोजित भव्य कार्यक्रमकाबीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रूपमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । ‘यसपाली घुमौं कर्णाली’ भन्ने नारासहित कर्णालीमा पनि सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाइँदैछ ।

भ्रमण वर्षको अवधिमा कम्तीमा एक लाख बाह्य पर्यटक कर्णाली भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ । तर बाह्य पर्यटक कर्णालीमा भित्र्याउन धेरै मेहेनत गर्नुपर्ने बताउँछन् लामो समयदेखि पर्यटन पत्रकारितामा सक्रिय भरतबन्धु थापा । पर्यटकहरूलाई लोभ्याउनका लागि गर्नुपर्ने काम नै हुन नसकेको उनको भनाइ छ । ‘हामीसँग पर्यटकीय स्थलहरूको कमी छैन’ थापाले भने, ‘तर तिनको सही किसिमले प्रचार र सूचना पर्यटकहरूसम्म पुग्न सकेको छैन ।’ कर्णालीले सबैभन्दा पहिला प्रदेशस्तरीय, जिल्ला तथा स्थानीय स्तरमा पर्यटन सूचना केन्द्र स्थापना गर्नुपर्ने सुझाव थापाको छ । ‘कहाँ कस्तो पर्यटकीय स्थल छ ? त्यहाँ कसरी पुग्ने ? कति खर्च हुन्छ ? लगायतका प्रश्नहरूको जवाफ दिनेगरी सूचना केन्द्र बनाउन जरुरी छ’ उनले थपे, ‘यस्ता सूचनाहरू दिन नसक्ने हो भने पर्यटकहरू आउँदैनन्, जतिसुकै लक्ष्य लिएपनि पूरा हुन गाह्रो हुन्छ ।’ प्रचूर सम्भावना भएर पनि कर्णाली पर्याप्त मात्रामा पर्यटकीय लाभ उठाउन नसक्नुको मुख्य कारण नै सूचनामा कम पहुँच भएको उनको भनाइ छ ।

गत वर्ष कर्णाली प्रदेश सरकारकै घोषणामा पर्यटन वर्ष मनाइएको थियो । तर सफल हुन सकेन । जसले गर्दा यो वर्ष पनि पर्याप्त काम नगर्ने हो भने घोषणा गरेर मात्र लक्ष्य पूरा नहुने सरोकारवालाहरूको भनाइ छ । प्रचार–प्रसारका साथसाथै पर्यटकीय स्थलहरूसम्म पुग्ने सडकमार्गको सुधार अपरिहार्य रहेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीको भनाइ छ । उनले आवश्यक पूर्वाधारको विकास नगरेसम्म लक्ष्य हासिल हुन नसक्ने बताए । साथै उनले सरकार र निजी क्षेत्र मिलेर पूर्वाधार निर्माणमा लाग्नुपर्नेमा समेत जोड दिए ।

यता उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा यस वर्ष बाह्य पर्यटक भिœयाउन विशेष पहल गरिने बताउँछन् । साथै उनले आवश्यक पूर्वाधार निर्माण र प्रचार प्रसारलाई सँगसँगै अघि बढाइने समेत जनाए । लक्ष्य पूरा गर्नेगरी नै भ्रमण वर्षको उद्घाटन गरिएको मन्त्री बुढाको भनाइ थियो । उद्घाटन समारोहमा केही विदेशी पर्यटकहरूलाई स्वागत समेत गरिएको थियो । यसका साथै प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधित्व हुनेगरी सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएको थियो । पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गर्नुका साथै वीरेन्द्रनगर–१४ बाट चार वटा प्याराग्लाईडिङ्ग समेत उडान गरी बुलबुले उद्यानमा अवतरण गरिएको थियो ।

यसैबीच भ्रमण वर्ष उद्घाटनकै अवसरमा खेलाडीहरूलाई पुरस्कृत गरिएको छ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा विजेता भएका कर्णालीका खेलाडीहरूलाई सम्मान गरिएको हो । सागमा स्वर्ण पदक विजेता सुर्खेतका दिपक हमाललाई प्रदेश सरकारले तीन लाख रूपैयाँसहित सम्मान गरेको छ । त्यस्तै रजत पदक प्राप्त सल्यानका पुष्पा भण्डारी, सुर्खेतका दीपा राणा र रुकुम पश्चिमका शारदा विकलाई २÷२ लाख र कास्यपदक प्राप्त सुर्खेतका टेकबहादुर सार्की र दैलेखका चन्द्रकला थापालाई १÷१ लाखसहित सम्मान गरेको छ । साथै खेलकुदमा सहयोग गरेको भन्दै पारा ओलम्पिक समाजका किशोर शाही र मनराज कठायतलाई २० हजार नगद र प्रमाण–पत्रसहित सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विदेशको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली निर्माणको दौरानमा भएको बताए । उनले कर्णालीमा नेपालकै लामो नदी, गहिरो ताल, अग्लो स्थानमा रहेको बस्ती, लगायतका थुप्रै घुम्ने गन्तव्य भएकोले सबैलाई कर्णाली आउन आग्रह समेत गरे । ‘कर्णालीमा पर्यटनको धेरै सम्भावना रहेको छ’ उनले भने ‘कर्णालीको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन बन्न सक्छ ।’ यस्तै उद्योगमन्त्री बुढाले कर्णालीलाई विश्व बजारमा चिनाउने दायित्व सबैको भएको बताए । उनले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै स्थानीय तहहरूले समेत सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

गुरुयोजना सार्वजनिक भएन भ्रमण वर्षकै अवसरमा कर्णाली प्रदेश सरकारले तयार पारेको दश वर्षीय गुरुयोजना सार्वजनिक गर्ने बताइए पनि सार्वजनिक भने गरिएन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीको पर्यटन गुरुयोजना बनाएको छ । विज्ञ समूहले निर्माण गरेको गुरुयोजना अङ्ग्रेजीमा भएकोले नेपालीमा अनुवाद गरेपछि मात्रै सार्वजनिक गर्ने निर्णय भएपछि बुधवार सार्वजनिक गर्न नसकिएको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए । उनले सरकारले ल्याउन लागेको गुरुयोजना अङ्ग्रेजीमा ल्याउन नमिल्ने भएको कारण सार्वजनिक नभएको बताए ।