ज्यानमारा छाउगोठ

दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको २०७५ असार २२ मा साँघुरो छाउगोठमा सुतेका बेला सर्पले डसेर मृत्यु भयो । सर्पले डसेपछि तुलसीलाई उपचारका लागि अस्पताल लैजानुको साटोे धामीझाँक्रीकहाँ झारफूक गर्दा अकालमा ज्यान गयो । त्यसअघि जेठ ८ गते सोही नगरपालिकाकी २४ वर्षीया लालसरा विकको पनि छाउगोठमै ज्यान गयो ।

छाउगोठमा बस्दा भएका मृत्युका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो केही वर्षयता दैलेखमा एक दर्जनभन्दा बढी महिलाहरूले छाउगोठमै ज्यान गुमाएको पाइएको छ । यस्तो हुँदा पनि जिल्लामा छाउगोठमा बस्ने चलन अझै हटेको छैन । २५ वर्षयता जिल्लाका १३ जना महिलाको छाउगोठमै ज्यान गएको छ । महिनावारीका बेला छाउगोठमा बस्दा सर्पले डसेर, कठ्यांग्रिएर, निसास्सिएर र बिरामी परेर महिलाहरू छाउगोठमै ज्यान गुमाउन बाध्य छन् । तर अझै छाउपडी प्रथा उन्मूलन हुन सकेको छैन ।

छाउगोठमुक्त घोषित ठाउँका महिलासमेत छाउगोठमै बसिरहेका छन् । राकम कर्णाली, तिलेपाटा, पिपलकोटलगायत गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको थियो । तर देवीदेवता र समाजका डरले महिला अझै छाउगोठमै बस्छन् । लैनचौरकी धीर्जा शाहीले जतिसुकै ठुल्ठूला कुरा गरे पनि छाउपडी ज्यूँ का त्यूँ रहेको बताइन् । एक सर्वेक्षणका आधारमा दैलेख जिल्लामा अझै चार सय छाउगोठ छन् ।

छाउपडीले विकराल रूप लिन थालेपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तरक्रिया र छलफल गर्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । ‘पहिलो चरणमा कानुनी व्यवस्थाबारे समुदायलाई जानकारी दिनेछौं, अटेरी गरेर छाउगोठमै बसिरहे छाउगोठ भत्काउँछौं,’ उनले भने, ‘छाउगोठ नभएका र भत्काएका स्थानका महिला गोठमै बसेको फेला परे कानुनी कारवाही हुन्छ ।’ यसअघि छाउगोठमा बसेकै कारण अधिकांशले अकालमा ज्यान गुमाउनुपरेकाले अब छाउगोठमा बस्न बाध्य पार्ने घरपरिवारलाई पनि कानुनी दायरामा ल्याउने तयारी भएकोे कट्टेलले जानकारी दिए । यसैबीच गृह मन्त्रालयले पनि छाउपडी बार्ने र बार्न लगाउनेलाई सरकारले उपलब्ध गराउने सबै सुविधाबाट वञ्चित गराउने जनाएको छ । यसका लागि सबै स्थानीय तहलाई समेत निर्देशन दिइसकिएको छ । कर्णाली प्रदेशका जिल्लाहरूमा यो प्रथा कायमै छ ।