यसपाली घुमांै कर्णाली

‘यसपाली घुमौं कर्णाली’ भन्ने मूल नारासहित कर्णालीमा नेपाल भ्रमण वर्ष–२०२० को सुरुवात गरिएको छ । संघीय सरकारले घोषणा गरेको यो कार्यक्रमलाई कर्णाली प्रदेश सरकारले पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गर्ने तयारी गरेको छ । सकेसम्म धेरै बाह्य पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ । बाह्य पर्यटकको आगमनमा वृद्धि भए पर्यटनमार्फत आन्तरिक अर्थतन्त्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

कर्णाली पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको प्रदेश हो । नेपालकै सबैभन्दा ठूलो ताल रारा । सबैभन्दा लामो नदी कर्णाली । सबैभन्दा गहिरो ताल शे–फोक्सुण्डो । सबैभन्दा अग्लो स्थानको मानव बस्ती, धो उपत्यका र सबैभन्दा अग्लो पचालझरना यही प्रदेशमा छन् । त्यति मात्र होइन पुरातात्विक काँक्रेविहार, जमिनमुनीबाट सधैं बलिरहने दैलेखको ज्वालादेखि ऐतिहासिक सिंजा उपत्यकासहित चार दर्जनभन्दा बढी आकर्षक पर्यटकीय गन्तव्य कर्णालीमा छन् । अब तिनको संरक्षण र प्रचार जरुरी छ । यदी यहाँका पर्यटकीय स्थलहरुको प्रचार प्रसारलाई विश्व बजारमा पु¥याउन सकेको खण्डमा बाह्य पर्यटकहरुको आगमन बढ्नेछ । जति धेरै पर्यटकहरुको आगमन हुन्छ त्यति नै कर्णालीमा पैसा खर्च गर्छन् । पर्यटकहरुको खर्च भनेको यहाँको आम्दानी हो । जसले कर्णालीका नागरिकको जीवनस्तरमा सुधार गर्न मात्र नभएर प्रदेशकै आन्तरिक आर्थिक स्रोत बढाउनेछ । यसकारण पनि प्रदेश सरकारले पर्यटनलाई आफ्नो अर्थतन्त्रको महङ्खवपूर्ण खम्बाको रुपमा लिन जरुरी छ ।

पर्यटनबाट कर्णालीले लिनसक्ने लाभ ठूलो छ । तर त्यसका लागि सबैभन्दा पहिले केही काम भने गर्नैपर्ने हुन्छ । पूर्वाधारको विकास सबैभन्दा पहिले गर्नुपर्ने कार्य हो । पर्यटकीय स्थलहरुसम्म पुग्ने सहज मार्ग होस् या त्यस्ता पर्यटकीय स्थल आसपासमा खान र बस्नका लागि राम्रा होटलहरुको निर्माण र सञ्चालन । तर कर्णालीमा यसको अभाव छ । भौगोलिक रुपमा विकट भएको यो प्रदेशमा सडक मार्गको सहज पहुँच छैन । रारा जस्तो सबैभन्दा प्रमुख गन्तव्यसम्म पुग्नकै लागि सहज मार्ग बनाइएको छ । अन्य थुप्रै पर्यटकीय स्थलहरुको अवस्था पनि उस्तै छ । पर्यटकहरुको बास जतिसक्दो धेरै लम्ब्याउने योजना यहाँ केही छैन । यी यावत समस्याहरु समाधान नगर्ने हो भने जतिसुकै तामझामका साथ पर्यटन वर्षहरुको घोषणा गरेपनि लक्ष्यअनुसारको प्रतिफल हासिल हुन भने सक्दैन । प्रदेश र स्थानीय सरकारले पूर्वाधार विकास सँगसँगै पर्यटकीय स्थलहरुको उचित प्रचार प्रसार गर्नेतर्फ ध्यान दिन अपरिहार्य छ । भ्रमण वर्षको नारामा जस्तै आन्तरिक र बाह्य पर्यटकहरुलाई यसपटक जसरी पनि कर्णाली घुमौं भन्ने बनाउन उनीहरुसम्म यहाँको विशेषताहरुको जानकारी पुग्नैपर्दछ ।

प्रकाशित मितिः   १७ पुष २०७६, बिहीबार १०:२८