नवजात शिशु उपचार कक्ष सञ्चालन
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पताल जुम्लामा नवजात शिशुहरूको लागि विशेष उपचार कक्षको व्यवस्था गरी सेवा सुचारु गरिएको छ । नवजात शिशुको मुत्युदर कम गर्ने उद्देश्य अनुरूप शिक्षण अस्पतालमा विशेष उपचार कक्ष सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डा. पूजनकुमार रोकायाले बताए ।
शिक्षण अस्पतालमा चाँडै नै नवजात शिशु र बाल सघन उपचार कक्ष पनि सुरु गरिने उनले बताए । उपचार कक्ष संचालनमा आएपछि बालरोग विशेषज्ञताको पढाइमा सहज हुने बताइएको छ । दुई वटा भेन्टिलेटर, ६ वटा फोटोथेरापी र चार वटा रेडियन्ट वारमरसहित अत्याधुनिक उपकरणहरू राखी उपचार कक्ष सुरु गरिएको अस्पतालले जनाएको छ ।
प्रा.डा.कमलराज शर्मासहितको पाँच जना विशेषज्ञ चिकित्सकले कक्षमा सेवा दिनेछन् । विशेष उपचार कक्ष सञ्चालनमा आएसँगै नवजात बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने अस्पतालको दाबी छ । विशेष उपचार कक्षले नवजात शिशु मुत्युदर घटाउन मद्दत गर्ने अस्पतालले जनाएको छ ।
प्रकाशित मितिः १७ पुष २०७६, बिहीबार १०:२६
साझा बिसौनी ।