लापरबाही गर्ने शिक्षकलाई कारबाही
सल्यान : सामुदायिक विद्यालयमा नियमित नपढाउने शिक्षकलाई कपुरकोट गाउँपालिकाले कारबाही गर्ने भएको छ । गाउँपालिकामा रहेका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन प्रभावकारी नभएको गुनासो बढेपछि नियमित नआउने शिक्षकलाई कारबाही गरिने भएको हो । पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अनुगमन गरिने तथा शिक्षकहरू नियमित उपस्थित नभएको पाइएमा कारबाही गरिने पालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले पालिकाभित्रका सबै सामुदायिक विद्यालय अनुगमन गर्ने र शिक्षकका कारण पठनपाठन प्रभावित भएको पाइएमा कारबाही प्रक्रिया अगाडि बढाउने बताए । अनुगमन गर्न वडाध्यक्ष, विषयगत कार्यालयका प्रमुखलाई निर्देशन दिँदै पालिकाभित्र हुने हरेक गतिविधिको निगरानी र अनुगमन गर्न आग्रह गरे । खासगरी अभिभावक र विद्यालय व्यवस्थापन समितिबाट विद्यालयको अनुगमन र शैक्षिक गुणस्तर वृद्धिमा पहल हुनुपर्ने बताउँदै अध्यक्ष सेनले जिम्मेवारी पूरा नगर्ने प्रधानाध्यापक तथा शिक्षकलाई कारबाही गर्ने चेतावनी दिए ।
अध्यक्ष सेनले हरेक वडाका जनप्रतिनिधिलाई जिम्मेवारी बाँडफाँड गरिदिएर शिक्षा, कृषि, स्वास्थ्यलगायत क्षेत्रको अनुगमन गर्ने व्यवस्था तत्काल मिलाउन वडाध्यक्षलाई निर्देशन गरिसकेको बताए । शिक्षक नियमित नहुँदा कोर्स पूरा नभएको, विद्यालयका शौचालय फोहोर भएको, जडान गरिएको इन्टरनेटको दुरूपयोग भएको र बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित भएको अभिभावक तिलप्रसाद शर्माले गुनासो गरे ।
प्रकाशित मितिः १७ पुष २०७६, बिहीबार १०:२४
साझा बिसौनी ।