‘विस्तार गर्नुअघि अध्ययन जरुरी’

सुर्खेत : सुर्खेत विमानस्थलको विस्तार गर्नुभन्दा पहिले अध्ययन गर्न जरुरी रहेको सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेशकुमार पन्थीले बताएका छन् । मंगलवार २१औं वार्षिकोत्सवको अवसरमा कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सुर्खेत विमानस्थल दुईसय मिटर विस्तार गर्दा राम्रो हुन्छ’ उनले भने ‘तर त्यसको लागि अध्ययन गर्नु जरुरी छ ।’ ठूलो विमान ल्याउने कुरामा धेरैको चासो रहेको भन्दै प्रमुख पन्थीले अहिलेको अवस्थामा पनि ठूलो विमान आउने तर भारी बोकेर आउन नसक्ने बताए । उनले विमानस्थलमा हुनुपर्ने संरचना अहिले पनि पर्याप्त नभएको भन्दै त्यसलाई समेत पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘रत्न राजमार्गको केही जमिन विमानस्थलले च्यापेको भन्दै सडक डिभिजनले पत्र काटेको छ’ उनले थपे ‘सडकको च्यापिएको जमिन छोडियो भने सुर्खेत विमानस्थल नै बन्द हुने अवस्थामा पुग्छ ।’ केही महिनाअघि सुर्खेत विमानस्थल विस्तारको लागि अध्ययन भएको भए पनि आधिकारिक रूपमा उड्डयन कार्यालयलाई कुनै जानकारी नआएको उनले बताए । यसैबीच वार्षिकोत्सवको अवसरमा मंगलवार विमानस्थल परिसरमा सरसफाइ समेत गरिएको छ ।

प्रकाशित मितिः   १६ पुष २०७६, बुधबार ०८:१३