भ्रमण वर्षबाट कर्णालीले लिनसक्ने लाभ
कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ सफल हुन सकेन । कार्यक्रमको उद्घाटनमै आर्थिक अनियमितता भएपछि पर्यटन वर्ष के होला भनी अनुमान लगाउन गाह्रो थिएन । नियतमै खोट देखिएपछि सुरु गरेका कदम सफल हुनेमा संसय रहन्छ नै । नेताहरूको इमान्दारितामै खडेरी परेपछि आशा गर्नु झन् व्यर्थ हुन्छ । आफ्नै घर–आँगनको सरकारको गति सम्झिँदा पनि लाज लाग्छ ।
हुन त आलोचनात्मक चिन्तन शत्रु कमाउने काम हो । यद्यपि विगतको समीक्षा नगरी सुखै छैन । कर्णाली–रारा पर्यटन वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकार ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित लागेको छ । भ्रमण वर्षभरीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपाल सरकारको छ । यस हिसाबले प्रत्येक प्रदेशले कम्तीमा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य लिनुपर्ने हो । त्यही अनुसार तयारी गर्न सके सफल पनि भइएला । तर आफैले यसअघि घोषणा गरेको पर्यटन वर्षको असफलताले होला कर्णाली प्रदेश सरकारले भ्रमण वर्षमा एक लाख मात्रै पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरेको छ ।
लक्ष्य लिए जतिका पर्यटक भित्र्याउन सके ठूलै उपलब्धि हुने थियो । त्यसो त कर्णालीमा कति पर्यटक आए र आउँछन् भन्नेबारेमा यकिन तथ्यांक छैन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार होहल्ला गरेको ठाउँ रारामा भ्रमण वर्षमा झण्डै ६ हजार पर्यटक मात्र पुगे । त्यसमा बाह्य पर्यटक करिब करिब साढे दुई सयको हाराहारीमा थिए । बाँकी आन्तरिक थिए । झण्डै करोड खर्चेर पर्यटन वर्ष उद्घाटन गरेको रारामै अपेक्षित पर्यटक पुगाउन सरकार सफल भएन ।
हुन त पर्यटन मन्त्रालयले कर्णालीमा दुई लाख ३३ हजार बढी पर्यटक भित्रिएको तथ्याङ्क सङ्कलन गरेको थियो । जसमध्ये सुर्खेतको काँक्रेविहारमा करिब ३७ हजार र बुलबुलेमा एक लाख ६० हजारको रेकर्ड छ । जसमा ९० प्रतिशत बढी आन्तरिक पर्यटक छन् । बुलबुले तालमा दैनिक विद्यार्थीदेखि, उपत्यकाबासी सरसफाइका लागि लाइनमा बस्ने र वनभोजको निम्ति पुग्ने गर्छन् । यसरी दैनिक पुग्ने सर्वसाधारणलाई पनि पर्यटकमा गणना गर्ने वा नगर्ने ? झट्ट हेर्दा तथ्यांक वाह भन्ने खालको देखिए पनि त्यसबाट टिकटको शुल्कबाहेक अरु नाफा भएन ।
त्यस्तै डोल्पाको से–फोक्सुण्डोमा आठ सय ७२ जना पर्यटक पुगेका थिए । त्यहाँ पुगेकामध्ये चार सय ८९ जना आन्तरिक र तीन सय ८३ बाह्य पर्यटक भएको तथ्यांक छ । यी दृष्टान्तले पनि प्रदेश सरकारलाई एक लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुनेमा विश्वस्त हुन सकिदैन । यत्तिको संख्यामा भए पनि पर्यटक भित्र्याउन र उनीहरूको बसाइँ लम्ब्याउन सकियो भने पनि पर्यटन व्यवसायबाट नाफा लिन सकिन्छ । तर पर्यटकलाई दिनको लागि हामीसँग के छ ? यसको एउटा मात्र उत्तर छ, त्यो हो घुम्ने प्रशस्त रमणीय र ऐतिहासिक तथा धार्मिक स्थल छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णालीमा घुम्नयोग्य ठाउँ भनेर मुगुको रारा ताल, सल्यानको कुपिण्डे दह, दैलेखको धार्मिक तीर्थस्थल पञ्चकोशी, जुम्लाको सिंजा सभ्यता, कालिकोटको पचालझरना, रारादेखि से–फोक्सुण्डो, डोल्पाको त्रिपुरा सुन्दरी, हुम्लाको लिमी उपत्यका र जाजरकोट दरबार क्षेत्रलाई तोकेको छ । त्यसका अलावा प्रदेश सरकाले पनि भेरी–कर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिवमन्दिर, डोल्पाको शे–गुम्बा र तिन्जे उपत्यका, दैलेखको गुराँस क्षेत्रलाई पर्यटकीय गन्तव्य छनोट गरेको छ ।
यसैगरी नेपालको कूल जनसंख्यामा ६.१ प्रतिशत मात्र बसोबास रहेको कर्णालीले कुल क्षेत्रफलको २२ प्रतिशत भू–भाग ओगटेको छ । यस हिसाबले कर्णाली भर्जिन ल्याण्ड हो । यहाँको भूगोल, प्राकृतिक, धार्मिक स्थल, सांस्कृतिक, कला, साहित्य, संस्कार र सभ्यता सबै भर्जिन छ । अध्ययन, अनुसन्धान, घुमफिर र मनोरञ्जनका लागि समेत । कर्णालीले पर्यटकलाई बोलाउने आधार यीनै हुन् । यस बाहेक पहिचान नभएका पर्यटकीय गन्तव्य अरू पनि हुन सक्छन् । के यति नै पर्यटकका लागि काफी छन् त ? हालसम्म कर्णालीका दुई दर्जन बढी पर्यटकीय गन्तव्य पूर्वाधारविहीन छन् । जहाँ सहज तरिकाले पुग्न, उचित बसोबासको र पर्यटकको मन जित्न सकिने कुराको अभाव छ । कर्णालीको प्रसिद्धस्थल रारामै आवत–जावतका लागि हवाई र सडक यातायात दुवै मार्ग भरपर्दा छैनन् । दैलेखको ज्वालामुखी, पञ्चकोशी, कालिकोटको पचालझरना, जुम्लाको सिंजा, चन्दननाथ मन्दिर, हुम्लाको गुम्बा लगायतको पर्यटकीय गन्तव्यहरू पनि न्यूनतम पूर्वाधार विनाका छन् । यहाँका थुप्रै पर्यटकीय गन्तव्यमा पुग्न जोखिम मोल्नुपर्ने अवस्था छ ।4
एकछिनका लागि मानिलिऊ सरकारले द्रूत गतिमा काम ग¥यो । संघ, प्रदेश र स्थानीय तह सबै इमान्दार भएर सोचेजस्तो काम गरे भने माथिका सबै समस्या समाधान भए । यातायात र सञ्चारको राम्रो व्यवस्था भयो । सरकारका मन्त्रीहरूले भनेझैं निजी क्षेत्र लागेर अत्याधुनिक सुविधा सम्पन्न तारे होटेलहरू खुले भने पनि उनीहरूलाई खुवाउनलाई हामीसँग आफ्नो के छ ? उक्त सुविधा सम्पन्न होटेलहरूमा बेचिने ब्रान्डेड रक्सी, हल्का पेय पदार्थ र थरी–थरीका खानेकुरा हाम्रा आफ्ना उत्पादन होइनन् । होटेलका काउण्टरमा सजिएका सबै सामग्रीमा बहुराष्ट्रिय कम्पनीका हुनेछन् । हामीसँग मुगुमा उत्पादन हुने हल्का पेय पदार्थ (स्याउ, लालीगुराँस र डाले चुकको जुस), जुम्लामा उत्पादित स्याउको रक्सी र यसका परिकार तथा मार्सी चामलको भात, ओखर आदि मात्रै हुन् । कर्णालीका अरु जिल्लामा केही रैथाने र सस्ता उत्पादन मात्र छन् । यसले आशा गरे अनुसार पर्यटक भित्र्याउन सफल भए पनि अपेक्षा गरे अनुसार आर्थिक लाभ लिन सकिने अवस्था देखिदैन । त्यसकारण पर्यटन उद्योग सँगसँगै आफ्नो उत्पादनलाई ध्यान दिनु जरूरी छ । चर्चित लेखक आहुतीका अनुसार पर्यटन क्षेत्रबाट आम्दानी र रोजगारी सिर्जना त हुन्छ तर देश उभो लाग्दैन ।
देश भ्रमण वर्षको भव्य उद्घाटनको पूर्वसन्ध्यामा माथिका कुरा आउनुले केवल निराशा मात्र थपेको जस्तो देखिएला । तर हरेक कालो बादलको बीचमा चाँदीको घेरा हुन्छ भनेझैं यो वर्षभरीमा आशा गर्ने थुप्रै विकल्पहरू नभएका पनि होइनन् । कर्णालीमा पर्यटक केवल एउटा क्यामेरा वा मोबाइल बोकेर सेल्फी खिच्न मात्र आउने छैनन् भन्न हाम्रो आशा हो । यदि त्यस्ता कोही आउँछन् भने पनि उनीहरूका लागि ढोका बन्द हुने होइन ।
कर्णाली पर्यटनका अलावा भाषा, साहित्य, कला, संस्कृति, संस्कार र सभ्यता विकासको थलो पनि हो । कुनै एउटा राज्यले यी सबै गर्न सकेको छ भने त्यो कर्णाली नै सकेको थियो । त्यसैले कर्णाली सभ्यता अध्ययनको उर्वर भूमि हो । केही समय अघि (कार्तिक १६) अन्नपूर्ण पोस्ट्को ‘फुर्सद’मा ७२ जना लेखकले नेपाल अध्ययनका लागि १०० वटा किताब सिफारिस गरे । जसमध्ये १२ जनाले लेखेका किताब कर्णालीमा आधारित थिए । जसमा डोरबहादुर विष्टको ‘फेटालिज्म एण्ड डेभलपमेण्ट’, हर्क गुरुङको ‘मैले देखेको नेपाल’, जनकलाल शर्माको ‘हाम्रो समाज, एक अध्ययन’, ‘कौतुकमय डोल्पो’, बालकृष्ण पोखरेलको ‘खस जातीको इतिहास’, योगी नरहरिनाथको ‘इतिहास प्रकाश’, सत्यमोहन जोशी, स्थिरजंग सिंह, बिहारीकृष्ण श्रेष्ठ, चुडामणि बन्धु र प्रदिप रिमाल लगायतले लेखेका कर्णालीको जनजीवन, भाषा, भूगोल, इतिहास, साहित्य संगीत–कला, लोकजीवन बारेका पाँच किताब, जगन्नाथ अधिकारीको ‘फूड क्राइसिस् इन कर्णाली’, सूर्यमणि अधिकारीको ‘खस साम्राज्यको इतिहास’ लगायत समेटिएको थियो । यसरी इतिहासलाई वर्तमान परिस्थितिसँग दाँजेर अध्ययन, अनुसन्धान, अन्वेषण र लेखनका लागि कर्णाली उपयुक्त स्थान हो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार कर्णालीबारे अझै पनि अध्ययन, अनुसन्धान पुगेकै छैन । लोक–संस्कृति सर्वेक्षणको क्रममा झण्डै ५० दिन सिंजामा बसेका पाँचजनामध्ये उनी भन्छन्, ‘५० दिनमा हामीले निकै सानो क्षेत्रको मात्र अध्ययन गर्न सक्यौं । मुख्यतः सिंजा भेगमा पनि हाटसिंजा पञ्चायत भित्रको हाटसिंजा गाउँमा केन्द्रित भयौं । त्यो सीमित कार्यक्षेत्र भित्र रही गरिएको कार्य मात्र थियो ।’ कर्णाली पूरै अध्ययन, अनुसन्धानको लागि बाँकी नै छ । यो कार्यको थालनी भ्रमण वर्षको अवधिमा गर्न सकिन्छ । त्यसैले कर्णाली घुम्ने पर्यटकले यी विषयलाई पनि गम्भिरतापूर्वक लिनेछन् भन्ने विश्वास कर्णालीले गरेको छ । भ्रमणको लागि उपयुक्त वातावरण मिलाउन सकिएमा पर्यटक खुशी हुनेछन् भने उनीहरूको बसाइँ पनि लम्बिने छ ।
भारतबाट हुम्ला हुँदै मानसरोवरसम्म पुग्ने धार्मिक पर्यटकलाई लगायतका अन्य पर्यटकलाई ध्यानमा राखी खानपिनको व्यवस्था मिलाउनुपर्छ भने लामो समय बस्ने पर्यटकलाई कर्णालीको अर्गानिक खाना खुवाउनुपर्छ । विशेषगरी कर्णाली र भेरीमा नदी जलयात्राको तयारी, काञ्जीरोवा, पातारासी, सिस्नेलगायत हिमाल आरोहणको व्यवस्थासँगै साहसिक पर्यटनको पनि विकास गरी सदावहार पर्यटनलाई ध्यान दिन सकिएमा पर्यटक खुशी हुनेछन् भने कर्णालीले पनि मनग्ये लाभ लिन सक्नेछ ।
प्रकाशित मितिः १६ पुष २०७६, बुधबार ०८:१८
साझा बिसौनी ।