‘कर्मचारीले आचरण सुधार्नुपर्छ’

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीहरूले आचरण सुधार्नुपर्ने बताएका छन् । सोमवार आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगरमा आयोजना गरेको ‘सहज सेवा, स्वच्छ नेपाल विद्युत प्राधिकरण’ अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारी कर्मचारी घुस खानकै लागि जन्मिएको जस्तो समाजमा नकारात्मक छाप परेको भन्दै उनले अब कर्मचारी सुध्रिनुको विकल्प नरहेको बताए । सरकारी अस्पताल र निजी अस्पताल, सरकारी बैंक र निजी बैंकको तुलना गर्दै उनले सरकारी कार्यालयहरू सूर्ति र पान खाएर फाल्ने थलो जस्तै भएको बताए । शाहीले युनियनको अभियान जस्तै सेवाग्राहीहरूलाई सम्मान गर्ने वातावरण सिर्जना कर्मचारीहरूले गर्नुपर्ने बताएका हुन् ।

आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरणका सह–संयोजक खगेन्द्र शाहीले कर्मचारीले मात्रै मुस्कानसहितको सेवा दिएर नपुग्ने भन्दै सेवाग्राहीले पनि कर्मचारीलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताए । उनले विद्युत कार्यालयमा हरियाली र स्वच्छ वातावरण हुनुका साथै सेवाग्राहीलाई नमस्कारको संंस्कार बसाल्नको लागि अभियान सुरु गरिएको समेत बताए । यस अभियानमा १९ वटा प्रतिबद्धता रहेको र उक्त प्रतिबद्धताहरू कर्मचारी तथा विद्युत कार्यालयले अनिवार्य पूरा गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मितिः   १५ पुष २०७६, मंगलवार ०८:१०