पर्यटन विकासका लागि पाँच क्षेत्र निर्धारण

क्षेत्रीय अवधारणा अनुसार पर्यटकीय विकास गर्ने योजना प्रदेश सरकारको छ । जस अन्तर्गत पाँच वटा क्षेत्र तोकिदंै छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेशका दशवटै जिल्लाहरुलाई समेटेर पर्यटकीय क्षेत्र तोक्ने तयारी भइरहेको जानकारी दिए ।


सुर्खेत : कर्णालीमा पर्यटन विकासका लागि विशेष योजना बनाएर कार्यान्वयन गरिने भएको छ । नेपाल भ्रमण वर्षको अवसरमा सार्वजनिक गर्ने गरी कर्णाली प्रदेश सरकारले दीर्घकालीन योजना तयार पारेको हो । क्षेत्रीय अवधारणा अनुसार पर्यटकीय विकास गर्ने योजना सरकारको छ । जस अन्तर्गत पाँच वटा क्षेत्र तोकिदै छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेशका दशवटै जिल्लाहरूलाई समेटेर पर्यटकीय क्षेत्र तोक्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार डोल्पा जिल्लालाई डोल्पो पर्यटन क्षेत्रमा राखिएको छ । यस्तै मध्यकर्णाली पर्यटन क्षेत्रमा सुर्खेत र दैलेख तथा रारा पर्यटन क्षेत्रमा कालिकोट, जुम्ला र मुगु जिल्लालाई समावेश गरिएको छ । रुकुमपश्चिम, जाजरकोट र सल्यानलाई मध्य पर्यटन क्षेत्रमा राखेको मन्त्रालयले हुम्ला लिमी पर्यटन क्षेत्रमा हुम्ला जिल्लालाई राखेको मन्त्री बुढाले जानकारी दिए । मन्त्रालयले निर्माण गर्न थालेको दशवर्षे गुरुयोजना अनुरूप उक्त क्षेत्रहरू तोकी काम अगाडि बढाउने उनले जनाए । पर्यटनलाई अर्थतन्त्रको एक महत्वपूर्ण आधारको रूपमा विकास गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसका लागि दीर्घकालीन योजना निर्माण गर्न लागिएको हो ।
एकातिर प्रदेश सरकारले दीर्घकालीन पर्यटन योजना बनाइरहेको छ भने अर्कोतर्फ नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई समेत भव्यताका साथ मनाउने तयारी गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बुलबुले उद्यानबाट जनवरी १ मा भ्रमण वर्ष–२०२० को उद्घाटन गर्ने तयारी गरिएको छ । सन् २०२० मा कर्णाली प्रदेशमा एक लाख बाह्य पर्यटकभित्र्याउने लक्ष्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छ । यसका लागि सबैको सहयोग चाहिने मन्त्री बुढाको भनाइ छ । ‘हामीहरूले मात्रै कर्णालीमा पर्यटक भित्र्याउन सम्भव छैन’ उनले भने ‘निजी क्षेत्रले समेत उत्तिकै सहयोग गर्न जरुरी छ ।’ कर्णालीको प्रचार–प्रसार मात्रै गर्न सके विश्वबजारमा कर्णालीको चर्चा हुने र पर्यटकहरू भित्रिने उनले बताए । आउँदो बुधवार बुलबुले उद्यानमा हुने भ्रमण वर्षको उद्घाटन कार्यक्रममा विदेशी पर्यटकहरूलाई ल्याई सम्मान गर्ने योजना समेत रहेको छ । साथै कर्णाली प्रदेशका दशैवटै जिल्लाका विभिन्न संस्कृति झल्कने गरी झाँकीहरू समेत प्रदर्शन गर्ने तयारी समेत गरिएको छ ।

सरकारले कर्णालीमा २० वटा आन्तरिक र २० वटा बाह्य गन्तव्य किटान गरेको छ । यसपटक सरकारको योजना विशेषगरी बाह्य पर्यटक भिœयाउने रहेको मन्त्री बुढाले जानकारी दिए । रारा–कर्णाली पर्यटन वर्षका उपलब्धि र सिकाइलाई आधार बनाएर यो पटक भ्रमण वर्षमा अत्यधिक स्वदेशी तथा विदेशी पर्यटक भिœयाउने तयारीमा जुटेको भन्दै मन्त्री बुढाले पर्यटकलाई अत्यधिक सुविधा र सुरक्षा दिलाउन सरकार प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

होटेलमा २० प्रतिशत छुट

नेपाल सरकारको भ्रमण वर्ष–२०२० लाई सहयोग पु¥याउने उद्देश्यले होटेल व्यवसायी संघ सुर्खेतले २० प्रतिशत छुट दिने भएको छ । संघका अध्यक्ष गोरख रावतले पाहुनाहरूलाई खानामा १० प्रतिशत र बस्नमा १० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी दिए । उनले पर्यटक तथा अन्य ग्राहकहरूलाई समेत वर्षभरी नै उक्त छुट दिने निर्णय संघले गरेको जनाए ।

यसैगरी भ्रमण वर्षलाई सघाउन कर्णाली राफ्टिङ्ग एण्ड एड्भेन्चर प्रा.लि.ले ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । भेरी नदीको जामुदेखि कर्णाली दोभान हुँदै कुईनेपुल खण्डको १५ किलोमिटर जलयात्रामा भ्रमण वर्ष अवधिभर एक हजार रूपैयाँ शुल्कमा ¥याफ्टििङ्ग गराइने प्रा.लि.का सञ्चालक देवराज जैसीले जानकारी दिए । उनले अरु बेलामा दुई हजार रूपैयाँ लाग्ने भए पनि भ्रमण वर्ष अवधिभर भने ५० प्रतिशत छुट दिएर पर्यटकहरूलाई जलयात्रा गराउन लागिएको जनाए । दुई सय जना पर्यटकलाई दिइने छुटमा खाना र खाजाको समेत व्यवस्था रहेको उनले बताए । त्यस्तै बस्नको लागि समेत पञ्चपुरी–९ को सुन्दरपुर सुर्खेतमा समेत दुई सय बेड क्षमताको आवासको व्यवस्था गरिएको जैसीले जानकारी दिए । उनले पर्यटन विकासका लागि सबैको सहयोग अपरिहार्य रहेकाले आफूहरूले यस्तो निर्णय गरेको जनाए ।