मप विश्वविद्यालयका भावी उपकुलपतिको कार्यभार

                       रेशम बिष्ट

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएको एक दशक पुग्न थाल्यो । उच्च शिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्नका लागि राज्यले लिएको बहु–विश्वविद्यालयको नीति अनुरूप वि.सं. २०६७ असार तीन गते विश्वविद्यालयको स्थापना भएको हो । कर्णाली प्रदेशको भौगोलिक बनावट, सामाजिक, साँस्कृतिक एवम् आर्थिक अवस्थालाई हृदयङ्गम गरी यस क्षेत्रका जनताको पहुँच र सामथ्र्यलाई सम्बोधन गर्दै विश्वविद्यालय अघि बढिरहेको छ । गरिबी र अशिक्षाको गहिरो खाडलमा रहेका यहाँका नागरिकहरूलाई त्यसबाट मुक्त गर्न यसको भूमिका महत्वपूर्ण हुनसक्दछ । त्यति मात्रै होइन यहाँको प्राकृतिक स्रोत र साधनको उपयोग गरी आर्थिक समृद्धि हाँसिल गर्न, मूल्यवान पुरातात्विक र ऐतिहासिक स्थलको शोध–अनुसन्धान गरी तीनलाई विश्वमा चिनाउन तथा पर्यटन विकासमा टेवा पु¥याउनु विश्वविद्यालयका थप उद्देश्यहरू हुन् ।

आफ्ना उद्देश्यहरू प्राप्तिका लागि विश्वविद्यालयले मातहतमा विभिन्न संरचना र निकाय स्थापना गरेको छ । अध्ययन–अध्यापन र अनुसन्धानलाई अघि बढाउन मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षा विज्ञान, इन्जिनियरिङ र कानुन गरी ६ वटा संकाय रहेका छन् । त्यसैगरी योजना, विकास तथा अनुगमन निर्देशनालय र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय विश्वविद्यालय अन्तर्गतका थप संरचना हुन् भने अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र र परीक्षा व्यवस्थापन कार्यालय रहेका छन् । आर्थिक रूपमा सबैभन्दा पछाडि परेको तथा सामाजिक–साँस्कृतिक दृष्टिले पुरातन सोंच र संस्कारबाट आक्रान्त यस क्षेत्रमा विश्वविद्यालयको स्थापनाले सबै क्षेत्रको विकासको ढोकाहरू खोलिदिएको छ र यसले अपेक्षित गति पनि लिइरहेको छ । उच्च शिक्षाको पहुँचमा ग्रामीण भेगका नागरिकलाई समाहित गराउनका लागि कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाहरूमा दश वटा आंगिक क्याम्पसहरू समेत स्थापना गरेको छ । जुन सुर्खेत उपत्यकाबाहिरका मात्रै हुन् ।

स्थापना एक दशक नजिक पुग्दासम्म विश्वविद्यालयले साधन र स्रोतलगाएत गुणस्तरीय शिक्षा र जनशक्ति व्यवस्थापनमा थुप्रै समस्या झेलिरहेको छ । स्थापनाको पृष्ठभुमिदेखि स्थापना सँगै विश्वविद्यालय जुन गति र लयमा कामकारबाहीहरू अगाडी बढ्नु पथ्र्यो त्यही गतिमा कार्य सम्पादन हुन नसकेको अनुभूति गर्न सकिन्छ । हाल विश्वविद्यालयमा विभिन्न जिल्लाका तत्कालिन त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरू आंगिक क्याम्पसका रूपमा रूपान्तरण भए तर त्यस्ता क्याम्पसमा कार्यरत जनशक्तिहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि र अनुसन्धान संस्कृतिको विकास गर्नमा विश्वविद्यालयले गति लिन सकिरहेको छ । त्यति मात्र नभइ केन्द्रिय क्यापसमा कार्यरत प्राध्यापकहरूलाई समेत अध्ययन, अध्यापन र अनुसन्धानतर्फ आकर्षित गराउनु विश्वविद्यालयको चुनौतीकै रूपमा रहेको छ । त्यसैगरी विश्वविद्यालयका केन्द्रीय निकाय लगायत अन्य आंगिक क्याम्पसहरूको भौतिक सम्पत्तिको अभिलेखीकरणका साथै सम्पत्ति व्यवस्थापन गरी स्रोतसाधनको अधिकतम परिचालन गर्न सकिरहेको छैन । गैरप्राविधिक क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरूको अनुपातमा प्राविधिक र व्यवसायिक शिक्षाको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको संख्या विश्वविद्यालयले घटाउन सकिरहेको छैन । वर्तमान समाजको आवश्यकतालाई सम्बोधन गर्ने गरी विभिन्न संकायहरूका पाठ्यक्रम निर्माण र परिमार्जन गर्न चुकिरहेको छ ।

प्राविधिक धारका अन्य विषयहरू जस्तै कृषि विज्ञान, चिकित्सा विज्ञान र जडिबुटी प्रशोधन सम्बन्धीको अध्यायनलाई ठोस रूपमा अगाडी बढाउन नसक्नुका साथै इन्जिनियरिङ्ग संकायमा पनि आवश्यक जनशक्ति र उपकरणको अभाव कायमै छ । विद्यार्थीहरूको लागि अन्तराष्ट्रिय मापदण्ड अनुरूपको अध्ययन–अध्यापन कार्यक्रम र मुल्यांकन प्रणालीलाई व्यवस्थित र प्रभाकारी बनाउन नसकेको विद्यमान परिवेशमा विश्वविद्यालयका प्राज्ञिक, आर्थिक, प्रशासनिक र अध्ययन–अध्यापनलाई विश्वविद्यालयले युगअनुकल प्रविधिसँग जोड्न सकिरहेको छैन ।

विश्वविद्यालय विस्तार र नयाँ कार्यक्रम सञ्चालनमा केही सकारात्मक उपलब्धि देखिए पनि यसको व्यवस्थापन र समग्र गतिशीलताको लागि थुप्रै काम गर्नु पर्ने देखिन्छ । नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपनालाई साकार पार्न हाम्रो मौलिकतामा आधारित स्रोत, साधनको समुचित परिचालन र उपयोगका साथै जीवनोपयोगी प्राविधिक शिक्षा प्रणाली आजको आवश्यकता हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय यस क्षेत्रको भू–बनावट, आर्थिक, सामाजिक तथा साँस्कृतिक यथार्थतालाई सम्बोधन गर्ने गरी जल, जंगल, जमिन, जनशक्ति र जडिबुटीलाई सही सदुपयोग गरी यस क्षेत्र लगायत सिङ्गो राष्ट्रको जीवनस्तर बदल्ने अनुसन्धानमुखी शिक्षाको प्रवाह गर्न दृढसंकल्पित हुन् आवश्यक छ । यसका अलावा विश्वविद्यालयले अन्तर्राटिष्ट्रय बजारमा अब्बल बन्न सक्ने, परिवर्तित विश्व परिवेशले माग गरेको सक्षम, प्रतिस्पर्धी एवं गुणस्तरीय जनशक्ति उत्पादनका लागि व्यवसायिक तथा प्राविधिक शिक्षालाई अभिन्न साधनका रूपमा स्वीकार गर्नु पर्छ । यसै मूल्य, मान्यतालाई हृदयङ्गम गर्दै विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक उन्नयनका साथै यसलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन र आगामी दिनमा विश्वका थप विश्वविद्यालयहरूसँग सहकार्य कायम गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै यो विश्वविद्यालयलाई उच्च शिक्षाको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा विश्वविद्यालयको मूल नेतृत्वस मर्पित हुन् आवश्यक देखिन्छ ।

उल्लेखित सन्दर्भलाई मध्यनजर गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा निकट भविश्यमै उपकुलपतिको नियुक्ति हुँदै छ । विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक, भौतिक स्तरोन्नतीका लागि अब यस विश्वविद्यालयमा आउने उपकुलपतिले अनिवार्य रूपमा केही कामहरू प्रथामिकतामा राख्नुपर्नेछ । शैक्षिक सुधारका लागि विश्वविद्यालयले सेमेस्टर प्रणालीमा अध्ययन–अध्यापन गराउँछ । तर सेमेस्टर प्रणाली मुताबिक अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको अध्ययन अध्यापन कार्यक्रम र विद्यार्थीको मुल्यांकन प्रणाली सञ्चालनमा विश्वविद्यालयले गति लिन नसकेको वर्तमान अवश्यालाई सुधार गर्दै यसलाई प्रभावकारी बनाउनमा पहल गर्नुपर्ने छ । वीरेन्द्रनगर सुर्खेतमा विश्वविद्यालयका सबै केन्द्रिय क्याम्पसहरू एउटा परिसरमा छन् उक्त क्याम्पसहरूलाई एउटा छातामा समाहित गरि केन्द्रिय क्याम्पसको रूपमा एउटा केन्द्रिय क्याम्पस प्रिन्सिपल नियुक्ति गरि सचालन गर्नु वाञ्छनीय देखिन्छ । उक्त क्याम्पसबाट स्नातक तह विस्थापन गरि सम्बन्धित क्याम्पसका स्नाकोत्तर तह र एमफिल, पीएचडीका कार्यक्रमहरू सञ्चालन गर्नु उपयुक्त हुन्छ । समकालीन समाजको आवश्यकतालाई सम्बोधन गर्न विश्वविद्यालयका विभिन्न संकायका पाठ्यक्रमहरू समयसापेक्ष नयाँ निर्माण तथा परिमार्जन गर्ने कार्यलाई प्रथामिकतामा राख्नु पर्ने बाध्यता देखिन्छ । युग अनुरूप विश्वविद्यालयका हरेक विषयहरूका शैक्षिक क्रियाकलाप र शिक्षण विधिलाई प्रबिधिमैत्री बनाउँदै अगाडी बढाउन प्रतिवद्ध हुनुपर्दछ । विश्वविद्यालयको पढाई सकेर बाहिरिने विद्यार्थीका लागि रोजगारीको भरपर्दो वातावरण तयार गर्न विश्वविद्यालयका शैक्षिक संस्थाहरू र रोजगारदाता कम्पनीबीच सहकार्य गर्न सकेमा उदाहरणीय हुनेछ ।

शिक्षा नीति–२०७६ को प्रावधानअनुरूप विश्वविद्यालयका सबै शैक्षिक निकायहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षण संस्थाका रूपमा विकास र प्रवद्र्धन गर्न विश्वविद्यालय अनुदान आयोगको मापदण्डमा रही प्रक्रियालाई पुरा गर्नेप्रति विशेष ध्यान दिनुपर्ने देखिन्छ । इन्जिनियरिङ्ग संकायमा आवश्यक जनशक्ति र सुविधायुक्त प्राविधिक प्रयोगशालाको व्यवस्थापन गरि उक्त संकायको अध्ययन–अध्यापन कार्यलाई प्रभावकारी बनाउने दिशामा विशष पहल गर्न नसके नामको मात्र इन्जिनियरिङ्ग संकाय हुनेछ । त्यसैले इन्जिनियरिङ्ग संकायलाई प्रबिधिमैत्री बनाउन जरूरी छ । अब निुक्त हुने उपकुलपतिले विश्वविद्यालयमा थप कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । नेपाल सरकारको हरेक प्रदेशमा एउटा शिक्षण अस्पताल स्थापना गर्ने लक्ष्य अनुरूप विश्वविद्यालयको तर्फबाट सुर्खेतमा चिकित्सा विज्ञान संकाय स्थापना गरि आवश्यक पूर्वाधारसहितको एउटा शिक्षण अस्पताल स्थापना गर्नका लागि पहलकदमी लिनसके त्यसले कर्णाली प्रदेशको विकासमा अर्को इट्टा थप्नेछ ।

कर्णाली प्रदेश पृथक मौलिक संस्कृति भएको प्रदेश हो । जसको संरक्षण र सम्वद्र्धनका लागि विश्वविद्यालयमा एउटा छुटै संस्कृति अध्ययन केन्द्रको स्थापना गर्नुपर्ने जिम्मेवारी आइसकेको छ । त्यसैगरी दैलेखको गुराँस गाउँपालिका र पश्चिम सुर्खेतको बिद्यापुरमा कृषि क्याम्पस स्थापना गरि पठनपाठन सुचारु गर्नु पर्ने देखिन्छ भने विभिन्न संकायहरू जस्तै कृषि, विज्ञान, इन्जिनिरिङ्ग, मानविकी, शिक्षा, व्यवस्थापन र कानुन संकायका छुट्टा–छुटै अनुशन्धान केन्द्रहरू स्थापना गर्नु जरुरी भइसकेको छ । कर्णाली प्रदेशको जडिबुटीको पहिचान र प्रयोगका लागि जडिबुटी प्रशोधन सम्बन्धीको अध्ययनलाई ठोसरूपमा अगाडी बढाउनका लागि भौतिक तथा आर्थिक पक्षको प्रबन्ध सहित अन्य गृहकार्यका लागि तत्काल पहल गर्न आवश्यक छ  ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाको छोटो समयमा आवश्यक भौतिक अवस्थाको सुधारका लागि अबको उपकुलपतिले केन्द्रिय क्याम्पसमा सुविधा सम्पन्न कक्षाकोठासहितको अध्ययन–अध्यापनका लागि भवन निर्माण गर्नुपर्नेछ । हाल केन्द्रिय क्याम्पसका केही विभागहरू निजी घरहरूबाट सञ्चालित छन् । साथै केन्द्रिय क्याम्पस परिसरमा अस्थायी प्रकृतिको पुस्तकालय छ यस सन्दर्भमा केन्द्रिय क्याम्पस परिसरमै विश्वविद्यालयको सुविधायुक्त केन्द्रिय पुस्तकालय भवन निर्माण गर्नुपर्ने आवश्यक छ । भाडाको घरमा सञ्चालन भइरहेको परीक्षा व्यवस्थापना कार्यलयलाई कुइनेपानीमा आफ्नै भवननिर्माण गरी छुट्टै सञ्चालन गर्न सकिन्छ । सुर्खेतभन्दा बाहिरका शिक्षक र कर्मचारीको आवासका लागि अबको उपकुलतिको कार्यकालमा सुविधायुक्त आवासको निर्माण गर्नु पर्ने देखिन्छ । विश्वविद्यालय सरकारी लागानीको भएपनि सरकारले अनुदान आयोगबाट निश्चित रकम मात्र पठाउने व्यवस्था छ । यस परिवेशमा आवश्क भौतिक अवश्था सुधारका लागि सरकारी लगानीको अतिरिक्त गैरसरकारी लागानी पहिचान गरेर विश्वविद्यालयलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

विश्वविद्यालयको शाख भनेकै गुणस्तरीय शिक्षासँग जोडिएको हुन्छ । गुणस्तरीय शिक्षाका लागि प्राध्यापकहरूको पेशागत वृद्धिविकासको जरुरी पर्दछ । यसका आवश्यक तालिम, कार्यशाला र सेमिनारहरू समय–समयमा संचालन गर्ने कार्यक्रम प्रति उपकुलपतिको बिशेष ध्यान दिनुपर्नेछ । स्वदेशी एवम् विदेशी विश्वविद्यालयहरूसँग प्राज्ञिक सम्बन्धको सुरूवातलाई निरन्तरता दिदै अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत र प्रभावकारी बनाउनका लागि विद्यार्थी र प्राध्यापक आदान–प्रदान गर्ने कार्यक्रम आगाडी बढाउने पर्ने छ भने समाजसँगको समधुर समबन्ध संस्थाको गतिशीलताका लागि महत्वपूर्ण हुने भएकाले विश्वविद्यालयको छबी उचो बनाउन र सबैको अपनत्व कायम गर्न समाजका सबै पक्ष तथा शैक्षिक सरोकारवालाहरूसँग समन्वय र सहकार्यमा कमी गर्नु हुँदैन । विद्यार्थी भर्नाको संख्यालाई बढाउन सम्बन्धित सरोकारवाला व्यक्ति र निकायहरूसँग आवश्यक परामर्श र छलफल गरी हरेक क्यापसहरूमा प्राज्ञिक वातावरण तयार गर्नमा बिशेष ध्यान दिनु उत्तिकै आवश्यक छ ।

विकास र समृद्धिको प्रमुख अवयवको रूपमा रहेको मानव संसाधन विकासको मुख्य कारखाना विश्वविद्यालयलाई यसका मूल्य र मान्यता अनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको एक उत्कृष्ट केन्द्र बनाई भौगोलिक रूपमा विकट, मानव विकास सूचांकमा निम्नस्तरमा रहेको, विकासका दृष्टिकोणबाट पिछडिएको यस क्षेत्रको विकास र समृद्धिको लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गरी एकातिर यहाँका जनतालाई विश्वविद्यालय स्थापनाको प्रत्यक्ष अनुभूति दिलाउनु पर्ने जिम्मेवारी छ भने अर्कोतिर विश्वजनीन मूल्य र मान्यता अनुरूप राष्ट्रिय र अन्तराष्ट्रिय जीवनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विश्वविद्यालय स्थापना र यसको प्राज्ञिक मूल्य र मान्यतासहितको स्तरोन्नति र विकास आफैमा चुनौतिपूर्ण कार्य त हो नै त्यसमा पनि राज्य पुनःसंरचनासँगै कार्यन्वयनको चरणमा रहेको बखत केन्द्रीय विश्वविद्यालयको रूपमा राज्यको लगानीमा स्थापित यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको संघीय र केन्द्रीय राज्यको एक महत्वपूर्ण कडीको रूपमा विकास गर्दै उच्च शिक्षालाई विकास र समृद्धिसँग जोड्ने गरी सबै सरोकारवालाहरू जिम्मेवार बन्नुपर्ने छ । विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका साथै आवश्यक पर्ने मानव जनशक्तिको उचित व्यवस्थापन, गुणस्तरीय शैक्षिक प्राज्ञिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास र विस्तार, उत्पादित जनशक्तिको उचित व्यवस्थापन, उपलब्ध प्राकृतिक स्रोत साधनमा आधारित रोजगारोन्मुख उच्च शिक्षा प्रदायन, विकास र समृद्धि उन्मुख अध्ययन, अध्यापन र अनुसन्धानमूलक गतिविधिहरू, हरेक विधाका प्राज्ञ र विज्ञहरूको उत्पादन आदि जस्ता सारभूत सवालमा विश्वविद्यालयको ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ  । यहि यथार्थलाई आत्मसात गर्दै अब नियुक्त हुने उपकुलपतिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उत्तम शैक्षिक गन्तव्यको रूपमा विकास गर्न सधै प्रतिवद्ध हुनु पर्ने देखिन्छ ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक हुन् ।)

प्रकाशित मितिः   १५ पुष २०७६, मंगलवार ०८:०६