‘शिक्षालाई राजनीतिमुक्त बनाउ’
सुर्खेत : शैक्षिक क्षेत्रमा हुने गरेको राजनीतिलाई रोक्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । तन्नेरी चासो सुर्खेतले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय शिक्षा नीति–२०७६ र प्रदेश तथा स्थानीय तहमा यसको प्रभाव विषयक नीतिगत छलफलमा सहभागी सरोकारवालाहरूले अधिक राजनीतिकरण हुँदा विद्यालयहरू समस्यामा परेको धारणा राखेका हुन् ।
कर्णाली प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति पदम रोकायाले शिक्षकहरूले राजनीति गर्न नहुने बताए । ‘हाम्रो प्रदेशको शिक्षा नीतिमा स्पष्ट उल्लेख हुनुपर्छ, शिक्षकहरूले राजनीति गरेर विद्यार्थीको भविष्य बर्वाद गर्न हुँदैन’ उनले भने ‘शिक्षकहरू पनि राजनीति गर्न मन छ भने राजीनामा दिएर राजनीतिमा आउनुपर्छ ।’ कर्णाली प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख जितबहादुर शाहले राष्ट्रिय शिक्षा नीतिमा हरेक विद्यालयमा एक जना नर्स राख्ने सरकारी निर्देशनलाई नसमेटिएको बताए । उनले कर्णाली प्रदेशजस्तो पातलो बस्ती भएका स्थानमा आवासीय विद्यालयको अवधारणालाई कतै समेट्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेशसभा सदस्य तथा संसद्को सामाजिक विकास समितिका सदस्य कौशिलावती खत्रीले कर्णाली प्रदेशले निर्माण गर्ने शिक्षा नीतिमा सरोकारवालाहरूको सुझाव लिन आवश्यक रहेको बताइन् । अर्की सांसद बद्मीक्वारी बोहोराले सरोकारवालाको कुरा शिक्षा नीतिमा समेट्नुपर्ने बताइन् । यस्तै विद्यार्थी नेता गगनसिंह ठकुरीले स्थानीय तहमा रहेको शिक्षा समन्वय शाखाले केही काम गर्न नसकेको गुनासो गर्दै अबको शिक्षा नीतिले त्यसलाई सक्रिय बनाउनुपर्ने सुझाव दिए ।
प्रकाशित मितिः १५ पुष २०७६, मंगलवार ०७:५९
साझा बिसौनी ।