सल्यानमा तेह्र वटा हेलिप्याड

सल्यान : सल्यान जिल्लामा १३ वटा हेलिप्याड निर्माण हुने भएका छन् । विपद् जोखिम पूर्व–तयारीका लागि स्थानीय तहमा हेलिप्याण्ड निर्माण कार्य सुरु गरिएको जनाइएको छ । जिल्लामा रहेका तीन नगरपालिकामा दुई–दुई वटाका दर र सात गाउँपालिकामा एक–एक वटाका दरले १३ हेलिप्याड निर्माण कार्य थालनी गरिएको छ । नेपाली सेना सबुज गणले स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निर्माण थालेको सबुज गणका गणपति प्रमुख सेनानी घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार निर्माण गरिएका हेलिप्याड १५ डायमिटरका हुनेछन् । वनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको उनको भनाइ छ । शारदा नगरपालिकाको खैरावाङ र सिद्ध कुमाखमा पक्की हेलिप्याड निर्माण सम्पन्न हुने चरणमा रहेको भट्टराईले बताए ।

उनले भने, ‘जिल्लाका सबैमा ठाउँमा अस्थायी हेलिप्याडका लागि ठाउँ छनोट भइसकेको छ ।’ सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाइतेको सहज उपचारका लागि एयर एम्बुलेन्स सुरु गरेपछि हेलिप्याड बनाउन थालिएको हो । आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि हेलिप्याड निमार्ण गरिएको हो । स्थानीय तह र नेपाली सेनाको श्रमदान गरी पाँच लाख बराबरमा हेलिप्याड तयार हुनेछन् । स्थानीय तहमा निर्माण गरिने हेलिप्याडले समाजमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न निकै फलदायी हुने वनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुनले बताए ।

प्रकाशित मितिः   १४ पुष २०७६, सोमबार १२:११