प्रारम्भिक कक्षा पढाइलाई निरन्तरता

सुर्खेत :  प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई निरन्तरता दिने सुर्खेतका स्थानीय तहहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । सुर्खेतका नांै वटै स्थानीय तहका प्रमुख र उप–प्रमुखहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । आइतवार नेपाल सरकारको शिक्षा मन्त्रालय तथा यूएसएआईडीले आयोजना गरेको जिल्लास्तरीय नेतृत्व विकास तथा पैरवी कार्यक्रममा उनीहरूले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरूले राष्ट्रिय कक्षा पढाइ कार्यक्रम अन्तर्गत भएका राम्रा अभ्यासहरूलाई निरन्तरता दिनेगरी प्रतिबद्धता व्यक्त गरेको शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतकी प्राविधिक सहायक ज्योति गैरेले जानकारी दिइन् । उनका अनुसार कक्षाकोठालाई पढाइमैत्री बनाउने, पढाइ उत्सव वा मेला सबै विद्यालयमा सञ्चालन गर्ने, साथी–दौतरी शिक्षाहरू सञ्चालन गर्ने, अभिभावक चेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालय सुधार योजना अनुरूप प्रारम्भिक कक्षा पढाइ सम्बन्धी क्रियाकलाप समावेश गर्ने प्रतिबद्धता स्थानीय तहका प्रतिनिधिहरूले गरेको हुन् । त्यस्तै तालिम प्राप्त शिक्षकहरूले तालिममा सिकेका कुराहरूको स्थानीय तहबाट अनुगमन गर्ने, प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले कक्षा एकदेखि तीनलाई उपलब्ध गराएका पाँचसय भन्दा बढी सन्दर्भ सामग्रीहरू व्यवस्थापन र प्रयोगमा उच्च प्राथमिकता दिने लगायतका प्रतिबद्धता उनीहरूले गरेको गैरेले जानकारी दिइन् । उनले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सकिए पनि स्थानीय तहहरूले बजेटको विनियोजन गरी कार्यक्रमलाई निरन्तरता दिने गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । सन् २०१५ देखि सुरु भएको कार्यक्रम सन् २०२० मा सकिने भएपनि सुर्खेतका स्थानीय तहहरूले भने त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रकाशित मितिः   १४ पुष २०७६, सोमबार १२:१०