राबा बैंकका सीइओद्वारा अनुगमन, सुर्खेतमा लगानी विस्तार गर्ने
साझा बिसौनी संवाददाता
सुर्खेत, ८ साउन ।
राष्ट्रिय वाणिज्य बैंकले सुर्खेतमा लगानी विस्तार गर्ने भएको छ । शाखा अनुगमनका क्रममा शनिवार सुर्खेत आइपुगेका बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सुर्खेतको औद्योगिक र व्यापारिक लगायत अन्य क्षेत्रमा बैंकले लगानी विस्तार गर्ने बताएका छन् ।
सुर्खेतमा लगानीको प्रचूर सम्भावना रहेको भन्दै उनले अब बैंकले त्यसतर्फ पनि ध्यान दिने बताए । यहाँका उद्योग तथा व्यवसायीहरूसँगको छलफलका क्रममा अधिकृत श्रेष्ठले सुर्खेतबाट बैंकले हालसम्म राम्रो सहयोग प्राप्त गरेको भन्दै यहाँको विकास र समृद्धिमा बैंकले पनि भूमिका खेल्ने प्रतिबद्धता जनाए । बैंक र नागरिकबीचको समन्वयले मात्र मुलुकको आर्थिक समृद्धि हुनसक्ने उनको धारणा थियो । राष्ट्रिय वाणिज्य बैंकलाई सबै नागरिकको पहुँचमा स्थापित हुने गरी सञ्चालन गरिने समेत उनको भनाइ थियो ।
राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले राष्ट्र निर्माणमा समेत यस बैंकको योगदान रहने हुँदा सम्पूर्ण व्यवसायीहरूलाई यस बैंकसँग व्यवसाय गरी राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह समेत गरेका छन् । उनले सुर्खेत मध्यपश्चिम केन्द्र र पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले यहाँ होटलमा समेत बैंकले लगानी गर्न तयार रहेको श्रेष्ठले बताए ।
भेटघाटमा मध्यपश्चिमाञ्चल यातायात व्यवसायी संघ सुर्खेतका अध्यक्ष विष्णुबहादुर खड्काले सुर्खेतमा राष्ट्रिय वाणिज्य बैंकको कम्तीमा पनि चार वटा शाखा आवश्यक पर्ने बताए । उनले दिनप्रति दिन सेवाग्राहीको चाप बढ्दै गएको तर बैंकले शाखा विस्तार गर्नेतर्फ ध्यान नदिएको उनले बताए । पश्चिम सुर्खेतको विद्यापुरमा बैंकको शाखा पुनस्र्थापना गर्नुपर्ने माग समेत उनले राखे । त्यसैगरी पूर्वी सुर्खेतमा दुई वटा नगरपालिका बनिसकेको र सल्यान तथा जाजरकोटका कतिपय सीमा क्षेत्रका नागरिकलाई पनि केन्द्र पर्ने गरी एउटा शाखा पूर्वी सुर्खेतमा बनाउनुपर्ने उनले बताए । त्यस्तै सरकारी कार्यालयहरूको मात्र कारोबार गर्नलाई पनि वीरेन्द्रनगरमै छुट्टै शाखा हुनुपर्ने सुझाव खड्काले दिए ।
व्यवसायी धनबहादुर रावतले पनि बैंकको सेवा छिटो, छरितो र सर्भसुलभ बनाउन सुझाव दिए । उनले सेवाग्राहीको चाप बढेकाले बैंकमा रकम जम्मा गर्न पनि घण्टौं कुनुपर्ने अवस्था रहेको भन्दै शाखा थप गरेर भए पनि सर्वसुलभ सेवा दिनुपर्नेमा जोड दिए । बैंकको सेवा छरितो भए व्यवसायीहरू वाणिज्य बैंक छोडेर निजीतर्फ केन्द्रित नहुने उनको भनाइ थियो ।
मध्यपश्चिम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारी लगायतले व्यापारिक कर्जा मात्र नभएर कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा पनि लगानी विस्तार गर्न सुझाव दिएको राष्ट्रिय वाणिज्य बैंक सुर्खेतका सूचना प्रविधि फोकल चिरञ्जीवि गिरीले जानकारी दिएका छन् । उनीहरूले निक्षेप सङ्कलनमा मात्र केन्द्रित नभएर कृषि, पर्यटन, उद्योग, जलविद्युत लगायतका क्षेत्रमा पनि लगानी विस्तार गर्न बैंकलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँगै नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, कर्जा विभागका प्रमुख नरेशराज अर्याल, नेपालगन्ज क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो ।
साझा बिसौनी संवाददाता ।