बालिका र शिक्षा

नेपालको सामाजिक संरचना एकै प्रकारको छैन । विभिन्न जात, भाषा र धर्मको आधारमा समाजमा क्रियाकलापहरू हुने गर्दछन् । हाम्रो समाजका अहिले पनि केही यस्तो संस्कारहरू छन्, जहाँ छोरीलाई शिक्षाबाट वञ्चित गरिन्छ । छोरालाई मात्र विद्यालयमा पठाउने र छोरीलाई घरको काममा मात्र लगाउने उदारणहरू खोज्न धेरै टाढा जानु पर्दैन । विभिन्न चेतनामूलक कार्यक्रम र सचेतनाका कारण पछिल्ला दिनमा छोरीलाई विद्यालयमा पठाउने संस्कारको विकास भएको छ । तर, अहिले पनि छोरा र छोरीमा विभेद भने कायम नै छ । छोरालाई निजी विद्यालय वा राम्रो विद्यालयमा भर्ना गर्ने र छोरीलाई सरकारी विद्यालयमा भर्ना गर्ने प्रचलन छ । परिवारबाटै शिक्षामा छोरीलाई विभेद हुन्छ । विद्यालयमा पुग्दा पनि छोरीहरू अर्थात् बालिकाहरू विभिन्न हिंसा भोग्न बाध्य छन् । जसरको परिणाम बालिकाहरू शिक्षा आर्जन गर्नबाट वञ्चित हुने गरेका छन् । विद्यालय तहमा पुगे पनि विभिन्न कारणहरूले गर्दा बालिकाहरूको उच्च शिक्षामा पहुँच पुग्न सकेको छैन । यसलाई मध्यनजर गर्दै सुर्खेतमा बालिका शिक्षाको लागि नयाँ अभ्यासको परिकल्पना गरिएको छ ।
वास्तवमा शिक्षामा बालिकाको पहुँच स्थापित गर्न र उनीहरूले भोग्दै आएका समस्या समाधानका लागि अब विद्यालयमा गनासो सुन्ने अधिकारी (फोकल पर्सन) राखिने समाचार सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतले अब जिल्लाका हरेक विद्यालयमा फोकल पर्सन राख्ने सोच बनाएको छ । बालिकाहरू शिक्षाबाट वञ्चित भइरहेको र विद्यालयमा विभिन्न हिंसाहरू भोग्न बाध्य भएको भन्दै कार्यालयले नयाँ उपाय अपनाउन लागेको हो । यो जिल्लाको लागि नयाँ अभ्यास हो, यसले वास्तवमै बालिका शिक्षामा ठूलो प्रभाव पार्नेछ । शिक्षामा बालिकाहरूको पहुँच बढाउनका लागि गठित जिल्लास्तरीय बालिका शिक्षा सञ्जालको आग्रहमा यस्तो व्यवस्था गर्न लागिएको हो । जिल्ला शिक्षा अधिकारी दीपा हमालले अब जिल्लाका हरेक विद्यालयमा बालिकाहरूका गुनासा सुन्न र तिनको समाधान गर्नका लागि फोकल पर्सनको व्यवस्था गरिने आश्वासन दिएकी छन् । विद्यालयलाई बालिकामैत्री बनाउनका लागि कार्यालय प्रयासरत रहेको भन्दै उनले सम्भव भएसम्म महिला शिक्षकलाई नै फोकल पर्सनको रूपमा जिम्मेवारी दिइने समेत जानकारी दिइन् । उनको यो भनाइ र आश्वासनले पनि केही आशाको किरणहरू छाएका छन् । वास्तवमा बालिकाहरूको अवस्था गम्भीर नै छ । एक त घरबाट नै विद्यालयमा पठाउँदैनन्, अर्कोतर्फ विद्यालयमा पनि उनीहरू विभिन्न हिंसा र पीडाहरू सहन बाध्य छन् । यसले उनीहरूको शिक्षा प्राप्तीमा असर पारेको छ ।
महिनावारीको समयमा विद्यालयमा बालिकाहरू अवस्था गम्भीर हुने गरेको छ । छात्रा शुलभ शौचालय नहुँदा उनीहरू समस्या भोग्न बाध्य छन् । बालिकाहरूले विद्यालयमा अनेकौं समस्या र पीडाहरू भोग्दै आएको भए पनि गुनासो सुनाउन पाउँदैनन् । यस्तो अवस्थामा फोकल पर्सनको व्यवस्था भएमा उनीहरू ढुक्क हुनेछन् । आफ्ना समस्या राख्नेछन् । यसले फोकल पर्सनले नै बालिकाका गुनासा सुन्ने, समाधानका लागि पहल गर्ने र सहयोगी भूमिकासमेत निर्वाह गर्ने छन् । फोकल पर्सनको व्यवस्था भएमा बालिकाहरूले सहज रूपमा शिक्षा आर्जन गर्ने वातावरण हुनेछ । बालिकाले भोग्नुपरेका यौनजन्य हिंसा रोक्न र जिल्लाको शैक्षिक नतिजा उकास्नका लागि पनि फोकल पर्सन आवश्यक छ । एकल प्रयासले मात्र बालिकाहरू शिक्षाको पहुँचमा पुग्नसक्ने सम्भावना छैन । त्यसका लागि सबैको साझा प्रयास जरुरी छ । बालिकाहरूलाई विद्यालय जान उत्प्रेरित गर्ने, विद्यालयमा उनीहरूलाई टिकाउनका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने, विद्यालयलाई बालिकामैत्री बनाउन पहल गर्ने, छात्रा शुलभ शौचालयको व्यवस्था गर्ने र बालिकामैत्री भाषा र व्यवहारलाई बढवा दिनका लागि सबैले सहयोग गर्न आवश्यक छ ।

प्रकाशित मितिः   ९ श्रावण २०७३, आईतवार ०४:४१