बालबालिकामा चिसोको असर
सुर्खेत : चिसो अत्याधिक बढेपछि जङ्गलमा फिरन्ते जीवनयापन गर्ने राउटे समुदायका बालबच्चा बिरामी पर्न थालेका छन् । राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताएका छन् ।
‘हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ’, शाहीले भने, ‘चिसो ह्वात्तै बढेपछि बालबालिकालाई निकै समस्या भएको छ ।’ चिसोले बालबालिका प्रभावित भएपछि राउटे उत्थान प्रतिष्ठानमार्फत विभिन्न संघ–संस्थाले न्यानो कपडा र पौष्टिक आहार उपलब्ध गराएका छन् । हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएका राउटे समुदायलाई जकेट, कम्बल, हाइनेक, चामल, पिठो, घ्यूलगायतका सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी दिइन् । राउटेको बस्तीमै पुगेर चार लाख ५० हजार रूपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।
प्रकाशित मितिः १४ पुष २०७६, सोमबार १२:०२
साझा बिसौनी ।