जनप्रतिनिधिलाई विप्लव समूहको त्रास
सुर्खेत : रुकुम पश्चिमका एक वडाअध्यक्षलाई शनिवार विहान नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दले । चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका हुन् । जनप्रतिनिधि भएर जनताको काम नगरेको भन्दै कालोमोसो दलेको विप्लवनिकट युवा संगठनले विज्ञप्ति मार्फत जनाएको छ । यस्तै एक साताअघि मात्रै दैलेखको ठाँटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव समूहकै कार्यकर्ताले अपहरण गरेका थिए । करिब १९ घण्टापछि सुरक्षाकर्मीको टोलीले उनलाई अपहरणमुक्त गराएको थियो ।
यसरी एकपछि अर्को गर्दै कालोमोसो दल्नेदेखि अपहरण गर्नेसम्मका घटना हुन थालेपछि कर्णाली प्रदेशको स्थानीय तहका जनप्रतिनिधिहरू त्रसित भएका छन् । विप्लव समूहबाट असुरक्षित भएको भन्दै उनीहरूले सुरक्षा मागेका छन् । यहाँका जनप्रतिनिधिहरूले सुरक्षा व्यवस्था गरिदिन प्रदेश सरकारसँग अनुरोध समेत गरेका छन् । कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठकमा सहभागि हुन सुर्खेतमा जम्मा भएका उनीहरूलले तत्काल सुरक्षा व्यवस्था नगरिए स्थानीय तहमा बसेर काम गर्न नसक्ने बताएका छन् ।
विप्लव समूहबाट सुरक्षा खतरा बढ्नुका साथै चन्दा मागेर समेत सताएको जनप्रतिनिधिहरूले बताएका छन् । चन्दा दिन धम्की आइरहेको भन्दै उनीहरूले आफूहरूको सुरक्षा हुनुपर्ने माग गरेका हुन् । गाउँपालिका महासंघ कर्णाली प्रदेशका सचिव खड्कराज सेजुवालले जनप्रतिनिधि र कर्मचारीको सुरक्षामा प्रदेश तथा संघीय सरकार पनि सजग हुनुपर्ने बताए । उनले भने,‘जनप्रतिनिधि अपहरणमा पर्न थालेका छन्, कर्मचारीमाथि आक्रमण भइरहेको छ । चन्दा दिन धम्की आइरहेका छन्, यस्तो अवस्थामा काम गर्न नसकिने भन्दै हामीले सुरक्षा मागेका छौं ।’ बैठकमा जनप्रतिनिधिहरूले विप्लव समूहबाट गाउँमा भइरहेको त्रासबारे प्रदेश सरकारलाई जानकारी गराएका थिए ।
‘गाउँमा ढुक्कसँग जनताको बीचमा जानसक्ने अवस्था छैन, हामीले विप्लव समूहबाट असुरक्षित महसुस गरेका छौं’ जाजरकोटको जुनीचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा बस्नेतले भनिन्, ‘प्रदेश सरकारले हाम्रो सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ, गाउँमा विप्लव समूहले उपभोत्ता समूहबाट चन्दा उठाइरहेको छ ।’ बैठकमा अधिकांश जनप्रतिनिधिले तत्काल सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । जुम्लाको चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवीले भनिन्, ‘त्रासपूर्ण वातावरणमा काम गर्न सकिदैन, हामीलाई सुरक्षा चाहिन्छ । यो विषयमा सरकारले ध्यान देओस् ।’
प्रकाशित मितिः १३ पुष २०७६, आईतवार ११:००
साझा बिसौनी ।