सडक बालबालिकाको व्यवस्थापनमा जोड

सुर्खेत  : सडबमा जीवन बिताइरहेका बालबालिकाहरूको उचित व्यवस्थापन गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिवार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् तथा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बाल अधिकारको स्थिति सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै बाल अधिकारकर्मी रमा भण्डारीले बालबालिकाको अभिभावकत्व बुवाआमाले नै गर्नुपर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताईन् । उनले अनाथ बालबालिकाको लागि सरकारले बाल गृहको व्यवस्था गरेपनि बाबुआमा हुनेले भने आफ्ना बालबालिकाको अपनत्व ग्रहण गर्नुपर्ने धारणा राखिन् । ‘जन्माएर कर्तव्य पुरा नगर्ने बाबुआमालाई कारबाही गर्नुपर्छ’ उनले भनिन् ‘बाध्यात्मक परिस्थिती भए मात्रै सरकारले संरक्षण गर्नुपर्छ ।’ बच्चा जन्माएर सडकमा छोड्ने बाबुआमालाई कारबाही गर्नेगरी बाध्यात्मक कानुन निर्माण गर्नु जरुरी भएको उनको भनाई थियो । बालबालिकाहरूको दिगो व्यवस्थापन नै उनीहरूको बाबुआमाको भएको समेत भण्डारीले बताईन ।

त्यस्तै बालबालिकाहरूलाई संरक्षण दिदै आएको आमाघरका स्वयम्सेवक अनिल ढकालले सडक बालबालिकाको लागि सरकारले अहिले चासो नदेखाए पछि समस्या थप जटिल बन्ने धारणा राखे । सरकारले उनीहरूको दिगो व्यवस्थापनको लागि सोच्न जरुरी भएको ढकालको भनाइ थियो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बालबालिकाको क्षेत्रमा सबैले चासो राख्नुपर्ने बताए । तथ्यांकमा बालबालिकाको अवस्थाको विषयमा स्थानीय तहले जिम्मा लिनुपर्ने धारणा समेत राखेका थिए । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बि.केले कर्णालीलाई सडक मानवरहित निर्माण गर्नको लागि काम गरेको बताए । राष्ट्रिय बाल अधिकार परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुषालले बालबालिकाहरूको दिगो व्यवस्थापनको लागि आफुहरू लागिरहेको बताए । बालबालिका राज्यको प्रमुख दायित्व भएको भन्दै भुषालले यसमा तिनै तहको सरकारको गम्भिर ध्यान जानुपर्ने बताए ।

प्रकाशित मितिः   १३ पुष २०७६, आईतवार १०:५८