साधारणसभाको निर्णय प्रमाणकरण

सुर्खेत : वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको १७ औं वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । यसअघि सुर्खेत, दैलख, सल्यान र जाजरकोटमा रहेका संस्थाका १२ वटा शाखा र बचत तथा ऋण कार्यक्रम समेत गरी १३ वटा साधारणसभा सम्पन्न गरिएको थियो । ति सबै साधारणसभाबाट पारित भएका निर्णयहरूलाई शनिवार प्रमाणिकरण गरिएको हो ।

प्रमाणिकरण सभाले संस्थाको चालु आर्थिक वर्ष २०७६÷०७७ को सात अर्ब ९३ करोड १७ लाख ७० हजार आठ सय ३७ रूपैयाँ बराबरको संशोधित र आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि दश अर्ब ५८ करोड ४१ लाख २५ हजार बराबरको प्रस्तावित बजेटलाई समेत स्वीकृत गरेको छ । सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी संघका संचालक सदस्य पदम दहालले वातावरणले चुनौतिका साथ राज्यको समेत पहुँच नपुगेको क्षेत्रमा गएर प्रभावकारी किसिमले वित्तीय लगायतका सामाजिक सेवाका क्रियाकलापहरू संचालन गरेको बताए ।

संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मी, जिल्ला सहकारी संघ सुर्खेतका सचिव रविन्द्र शाह लगायतका वक्ताहरूले आ–आफ्नो भनाई राखेका थिए । त्यसैगरी सोही अवसरमा संस्थाका उत्कृष्ठ पाँच जना कर्मचारीहरूलाई नगद तथा प्रमाण पत्रका साथ पुरस्कृत समेत गरिएको थियो ।

प्रकाशित मितिः   १३ पुष २०७६, आईतवार १०:४५