सुर्खेत बहुउद्देश्यीयको साधारणसभा

सुर्खेत : सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल बहुयद्देश्यीय सहकारी संघका केन्द्रीय सदस्य चन्द्रबहादुर थानीले सरकारले सहिकारीमाथि लगाएको कर अनुचित भएको टिप्पणी गरेका छन् । संसारका ठुला राज्यहरूमा समेत सहकारीका लागि कर नीति नभएको भन्दै उनले नेपाल सरकार सहकारीमैत्री नभएको आरोप लगाए । सरकारले सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा लिएपनि सहज तरिकाले कार्य गर्ने वातावरण बनाउन नसकेको उनको गुनासो थियो । ‘एकातिर सहकारीमार्फत देशलाई विकास गर्न सकिन्छ भन्ने तर अर्कोतिर शेयर सदस्यहरूले आफ्नो एक छाक काटेर सहकारीमा जम्मा गरेको बचतका साथै शुद्ध सेवा भावनाबाट संचालित भएको सदस्यलाई चर्को कर लगाएर ढाढ सेक्ने कार्य गरको छ’ उनले भने ।

सहकारीका संस्थापक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले अब राज्यले सहकारीको भूमिका खोजीरहेको बताए । सरकारको तीन खम्बे अर्थनीतिमा सहकारी पनि एक खम्बा रहेको हँदा अब देश विकासका लागी सहकारीहरू पनि लाग्नुपर्नेमा जोड दिए । साथै सरकार र निजी क्षेत्रबीच हातेमालो गर्न आवश्यक रहेको उनले औंल्याए । सभामा सहकारीका अध्यक्ष गणेशकुमार बस्नेतले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सुरेशबहादुर गौतमले आर्थिक वर्ष २०७५÷०७६ मा ३८ करोड १५ लाख ९१ हजार रूपैयाँ बराबरको कारोबार गरेको जानकारी दिए । आर्थिक वर्ष २०७६÷०७७ का लागि ४२ करोड, ९५ लाख ३५ हजार बराबरको बजेट प्रस्ताव गरिएको छ ।

यसै गरी कर्जा उप–समितीका संयोजक महेश्वर तिवारीले व्यवसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधी उपचार र शैक्षिक क्षेत्रमा लगानी भएको कुल १४ करोड आठ लाख सात हजार बराबरको कर्जा प्रतिवेदन पेश गरेका थिए । संस्थाका सचिव दिपेन्द्र ढकालले सहजीकरण गरेको साधारणसभामा शिक्षा उप—समितिका संयोजक मिलन श्रेष्ठले शिक्षा प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका सदस्य नगेन्द्र चौलागाईले लेखा प्रतिवेदन पेश गरेका थिए ।